कोरोना भाइरस महामारीले नौ महिना बित्यो हलका पर्दामा सिनेमा नचलमलाएको । सिनेमा हलहरू गहिरो मौनतामा छन् । टिकट काउन्टरले दर्शकको अनुहार देख्न पाएको छैन । प्रमोसनमै खर्च गरिसकेका नयाँ चलचित्र निर्माता निर्देशकका अफिसमा थन्किएका छन् । यस्ता चलचित्रमा भएका करोडौँ लगानी फ्रिज भएका छन् । यी यावत् समस्या सुल्झिएर नयाँ दिनको पर्खाइमा छन् सबै । यही समयमा अभिनेता आर्यन सिग्देलको नयाँ चलचित्र घोषणा भयो, ‘डिसेम्बर फल्स’ । जसको निर्देशन बलिउडका प्रवीण झाले गर्दै छन् । यो चलचित्रको सुटिङ माघ पहिलो सातादेखि सुरु हुँदै छ ।
अभिनेता सिग्देल भन्छन्, ‘अहिले सिनेमा क्षेत्र आफैँमा डगमगाएको छ । धेरै निर्मातामा हौसला र आँट छैन । भोलि के हुन्छ भनेर मान्छेलाई थाहा पनि छैन । यसबीचमा नयाँ सिनेमाको घोषणा हुनु या सुटिङ गर्दागर्दै रोकिएका सिनेमाको सुटिङ हुनु आफैँमा सकारात्मक ऊर्जा हो ।’ आर्यनले भनेझैँ नेपाली सिने क्षेत्रमा आँट र हौसला चाहिएको छ । यस क्षेत्रमा तुवाँलो लागेको छ । तुवाँलो पन्छाउने बतास चाहिएको छ । र, चाहिएको छ नेपाली चलचित्र क्षेत्रको पुरानै अनुहार । पुरानै दैनिकीको प्रतीक्षामा छ सिने क्षेत्र । यसका लागि के गर्ने ? आर्यन भन्छन्, ‘आशालाई निभ्न नदिने ।’
अंग्रेजी क्यालेन्डरको अन्तिम महिना ‘डिसेम्बर’ सुरु हुन आँटेको छ । डिसेम्बर सकिएपछि आर्यनहरू सुटिङमा जाने योजनामा छन् ‘डिसेम्बर फल्स’को । सिनेमा प्रदर्शनको साइत पनि तय भइसकेको छ, १ साउन । साइत त तय छ, तर साइतमै सिनेमा प्रदर्शन होला त ? आर्यन पनि विश्वस्त छैनन् यसबारे । उनको भनाइ जो छ, ‘भोलिको दिनबारे त के भनौँ र खै !’ सिनेमा जुनून हो या त सिनेमा गरिरहने मान्छेमा जुनून हुन्छ ।
जुन जुनूनको पूर्ति काम गरिरहँदा हुन्छ । सिनेमाको कथावस्तुबारे छलफल गरिरहँदा या सोचिरहँदा हुन्छ । स्क्रिप्ट लेखिरहँदा या पढिरहँदा हुन्छ । सेटमा एक्सन/कट गरिरहँदा हुन्छ । टेक लिइरहँदा हुन्छ या सटहरू खिचिरहँदा हुन्छ । सम्पादन गरिरहँदा हुन्छ । डबिङ गरिरहँदा हुन्छ । जुन जुनूनको पूर्ति पचास–सय मान्छेले रोजगारी पाइरहँदा हुन्छ ।
त्यही जुनूनलाई ताजगी दिन या गतिशील बनाउन आफू नयाँ सिनेमामा आबद्ध भएको आर्यन बताउँछन् । उनका अनुसार यहीबीचमा स्क्रिप्ट आइपुग्यो । मज्जाले पढे । उनलाई मन पनि प¥यो । ‘नयाँ सिनेमामा आबद्ध हुनुमा यावत् कारण छन् । कारणहरू खुलाउँदै जाँदा फेहरिस्त लामै बन्न सक्छ,’ स्क्रिप्ट पढ्दाताका र पढिसकेपछि आबद्ध हुनुको अनुभव सुनाउँछन् आर्यन, ‘तर, पहिला त कथा मन परेको हो । जुनूनको कुरा पनि छँदै छ । यो क्षेत्र चलायमान पनि हुनुपर्छ । धेरै कारण छन् डिसेम्बर फल्समा आबद्ध हुनुको ।’
सिनेमा क्षेत्रमा सबै मान्छे आबद्ध हुन पर्दैन । आबद्ध भएकाले सबैलाई आबद्ध बनाउने हो । र, आफूहरू आबद्ध भएर सिनेमालाई अगाडि लैजानुपर्ने आर्यनको धारणा यथावत् छ । त्यो भएकाले पनि सकारात्मक रूपले अगाडि लैजानुपर्ने र चलचित्र क्षेत्रलाई सक्रिय बनाउनुपर्ने जिम्मेवारी यस क्षेत्रमा आबद्ध सबैको काँधमा तेर्सिने गरेको सुनाउँछन् उनी । कुराकानीकै क्रममा भन्छन्, ‘सिनेमा बाध्यता होइन, यो आवश्यकता पनि होइन । तर, धेरै थोक भने हो । यो संस्कृति हो, भाषा हो । र, यी कुरालाई मार्न सकिएन भने त्यही नै हाम्रो सफलता हो ।’
यी विषय र छलफलअघि सिने क्षेत्र सक्रिय पनि त हुनुपर्यो ! कोभिडले त्रस्त छौँ । कोभिडलाई चिर्दै दैनिक जनजीवनमा फर्कने प्रयासमा छौँ । दैनिक संक्रमितको समाचार आइरहेका छन् । यो परिवेशमा सिने क्षेत्रलाई सक्रिय बनाउन पनि आ–आफ्नोतर्फबाट कोसिस गर्नुपर्ने तर्क छ आर्यनको । यहीकारण नै आफू नयाँ सिनेमामा आबद्ध भएको बताउँदै भन्छन्, ‘हाम्रो क्षेत्रलाई गतिशील बनाउने कोसिस गर्नुपर्छ हामीले । किनभने अन्य सबै क्षेत्र आ–आफ्नो तरिकाले उठ्ने यत्नमा लागिसकेका छन् ।’
उहिले–उहिले आर्यनको अनुहार म्युजिक भिडियोमा पनि देखिन्थ्यो । पछि सिनेमामा सक्रिय बने । र, निकै लामो अन्तरालपछि फेरि म्युजिक भिडियोमा पनि देखापरे । मिलन चाम्सको निर्देशनमा तयार भएको दसैँ गीतमा आर्यन झुल्किए आँचल शर्मासँग । योबीचमा म्युजिक भिडियोमा देखापर्ने अभिनेताहरूको सूची लामै छ । यसमै आर्यन पनि परे । लकडाउनको समय र केही फुर्सदलाई सदुपयोग गरेको आर्यनको स्वीकारोक्ति छ । र, यसैबीचमा नयाँ सिनेमा पनि घोाषणा भएको छ ।
तर, सिनेमा तोकिएकोे मितिमै सुटिङ हुने र प्रदर्शन हुने सम्भावनामाथि प्रश्न त छँदै छ । सुटिङ गर्दाका जोखिम यथावत् नै छन् । र, पनि आफूहरूले सचेत भएर काम गर्नेमा आत्मविश्वासी छन् आर्यन । सामाजिक दूरी, कोभिडका लागि सुरक्षा रणनीति सबैको तयारी त छँदै छ । साथमा विकास बोर्डसँग पनि सरसल्लाह गरेर सुटिङ गर्ने आर्यन बताउँछन् । ‘यसका साथै प्रदर्शन रोकिएका सिनेमाहरू हलमा चलाउन विकास बोर्डले प्रयत्न पनि गरिदिने कुरामा विश्वस्त छु,’ आर्यन सुनाउँछन् । तर, तोकिएकै मितिमा चलचित्र सुटिङमा जाला ? या त तोकिएकै मितिमा प्रदर्शन होला ? ‘यसलाई धेरै कुराले असर गर्छ । पहिलो कुरा त कोभिड साम्य हुनुपर्यो,’ नयाँ सिनेमालाई लिएर आर्यन भन्छन्, ‘सिनेमा हल खुल्नुपर्यो । हलहरू कहिले खुल्छन् र पुरानो अवस्थामा आउँछन्, त्यसले सबै कुराको निक्र्योल गर्ला ।’