सीमामा भएको तस्करी रोक्न मोरङमा प्रहरीद्वारा हवाई फायर

आइतबार, ७ मंसिर, २०७७
डिजिटल संस्करण

कोरोना रोकथामका लागि नेपाल–भारत सिमाना सिल भएको समयमा भएको तस्करी रोक्न खोज्दा अटेर गरेपछि मोरङ प्रहरीले गोली चलाएर एकजनालाई नियन्त्रणमा लिएको छ ।  

सीमा सिल भएको समयमा हुँदै आएको चोरी तस्करी रोक्न निरन्तर प्रयास गर्दा पनि नरोकिएपछि निगरानी कडा बनाएको मोरङ प्रहरीले आइतबार बिहान रोक्न खोज्दा अटेर गरेपछि गोली चलाएर एकजना अवैध ओसारपसारमा संलग्न महिलालाई नियन्त्रणमा लिएको हो ।     

मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार सीमा सिल भए पनि अटेर गर्दै आइतबार बिहान साढे ४ बजे विराटनगर– १७ मटेरुवा नाकाबाट सोही ठाउँ बस्ने ५५ वर्षीय गुड्डु भन्ने आसिर आलम र ३७ वर्षीयन अरबिना खातुनलगायत दशजना मानिसले भारतीय बजार जोगवनीबाट अवैध मालवस्तु नेपाल भित्र्याएका थिए ।

सोही क्रममा प्रहरीको गस्ती टोलीले चेकजाँच गर्दा उनीहरूले प्रहरीमाथि नै आक्रमण प्रयास गरेका थिए ।

चेकजाँच गर्ने क्रममा तस्करी गर्ने समूहले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि गस्ती टोलीले पेस्तोलबाट एक राउन्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।  

गोली चलेपछि नौजना तस्कर भाग्न सफल भए पनि समूहकी अरबिना खातुन भने पक्राउ परेकी थिइन् । प्रहरीले उनले अवैध रूपमा  ल्याएको एक सय आठ थान छालाको पेटी पनि नियन्त्रणमा लिएको छ । 

पक्राउ गरिएकी खातुन र बरामद पेटी आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ । 

तस्करीमा संलग्न फरार अन्यको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ । 

कोरोना महामारीले नौ महिनादेखि नेपाल–भारत सीमानाका सिल भए पनि तस्करी गर्नेहरूले अवैध ओसारपसार गर्न छाडेका छैनन् ।

सुझावित समाचार