नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका सचिवालयका सबै सदस्य उपस्थित छन् ।
गत शुक्रबार बसेकाे बैठकले सचिवालयको बैठक आज १ बजे बस्ने निर्णय गरेकाे थियो ।
प्रधानमन्त्री ओलीले सचिवालयको बैठक आह्वान गरिएकै समयमा मन्त्रिपरिषद्को बैठक बोलाएपछि अनश्चित बनेको आज बैठक मन्त्रिपरिषद्को बैठक एक घन्टा सरेपछि सचिवालयको बैठक बस्ने निश्चित भएको हो ।
यसअघि बसेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र अर्का अध्यक्ष ओलीले लेखेका पत्र दर्ता भएका थिए ।
सचिवालय बैठकमा गत शुक्रबार प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिर (अर्थात आज) छलफल गर्ने टुंगो भएको थियो । आजको बैठक सार्न अध्यक्ष ओलीले प्रयास गरिरहेका थिए ।
अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अध्यक्ष प्रचण्डकहाँ पुगेका थिए । तर, प्रचण्डले प्रधानमन्त्री उपस्थित नभए पनि बुधबार बैठक बस्ने अडान राखेका थिए ।
नेकपा विवाद दुर्घटनातर्फ उन्मुख भइरहेको वेला विगतमा जस्तै चिनियाँ चासो अभिव्यक्त भएको छ । राजदूत हाउ यान्छीले मंगलबार राति करिब डेढ घन्टा प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेकी छिन् ।
चिनियाँ राजदूत हाउ यान्छीसँग राति साढे १० बजेसम्म बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री केपी ओली पार्टी र सरकारमाथि आइपरेको संकटका विषयमा परामर्श गर्न राति नै शीतलनिवास पुगेका थिए । यस्तै मंगलबारै कार्यकारी अध्यक्ष प्रचण्डले पनि राष्ट्रपतिलाई भेटेका थिए ।