महानगरपालिकाले रोकेकाे भए पनि आज खुलामञ्चमा नै खाना खुवाइयो

मंगलबार, २ मंसिर, २०७७
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले आज (मंसिर २ गते) देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भने पनि हाम्रो टिम नेपालले खुलामञ्चमा नै खाना खुवाएको छ । 

कोभिड– १९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिए पनि मानिस लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए । 

महानगरपालिकाले मंसिर २ गतेदेखि खुलामञ्चमा भेला गराएर नभई कुनै पनि ठाउँमा व्यवस्थित गरी खाना खुवाउन हाम्रो टिम नेपाललाई आग्रह गरेको थियो । 

सोहीअनुसार आजदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो । तर, खाना खुवाउनका लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि पनि खुलामञ्चमा नै खाना खुवाउन आफूहरू बाध्य भएको पन्तले बताए । 

आफूहरूले प्याकेटमा खाना वितरण गर्न खोजेको भए पनि मानिसहरू खुलामञ्चमा नै लामबद्ध भएर बसेपछि पुरानै तरिकाले खाना वितरण गर्न बाध्य भएको पनि उनले बताए । 

खाना खान आउने मानिसहरू भने खुलामञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

कोरोना महामारीका कारण काम नपाएर भोकै बस्नुपर्ने बाध्यता भएपछि खुलामञ्च आई निःशुल्क वितरण गरिएको खाना खान बाध्य भएको उनीहरूले बताएका छन् । 

सडकमा बसेर खाना खान आफूहरूको रहर नभई बाध्यता भएको पनि उनीहरूले बताए ।

हाम्रो टिम नेपालले गत चैत ११ गते देखि लकडाउन भएपछि खान खान नपाएर समस्यामा परेका व्यक्तिहरूलाई चैत १४ गतेदेखि खाना खुवाउँदै आएको छ । 

सुरुमा उपत्यकाका विभिन्न ठाउँमा खाना वितरण गर्दै आएको यो समूहले पछिल्लो समय खुलामञ्चमा निःशुल्क खाना खुवाउने काम गर्दै आएको छ । 

तर, काठमाडौं महानगरपालिकाले अव्यवस्थित रूपमा खाना खुवाउँदा संक्रमण फैलने डर भएको भन्दै खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न आग्रह गरेको छ । 

साथै महानगरपालिकाले खुला स्थानमा भन्दा व्यवस्थित स्थानमा खाना खुवाउने व्यवस्थाका लागि पहल गरिने र त्यसका लागि अग्रसर हुन आग्रह गरेको थियो । साथै महानगरपालिकाले यसरी खुला स्थानमा खाना वितरण गर्दा खानाको गुणस्तर र स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पर्ने जनाएको थियो 

व्यवस्थित ठाउँमा खाना खुवाउने भए आफूले पनि सक्दो सहायोग गर्ने महानगरपालिकाले बताउँदै आएको छ ।

सुझावित समाचार