महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी मन्दिर परिसरमा बगैँचा निर्माण गरेको छ ।
ललितपुर महानगरपालिका– ५ स्थित महालक्ष्मीस्थानमा निर्माण गरिएको महालक्ष्मी स्वस्तिक बगैँचा शनिबार एक कार्यक्रमबीच बैंकले महानगरलाई हस्तान्तरण गऱ्याे ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महत्वपूर्ण र प्रसिद्ध ठाउँमा बगैँचा निर्माण गरेकोमा बैंकलाई धन्यवाद दिए ।
महालक्ष्मी मन्दिर ललितपुरका महत्वपूर्ण र प्रसिद्ध शक्तिपीठहरूमध्ये एक भएको बताउँदै यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको उनले बताए ।
महानगरपालिकाले ग्रिन र ब्ल्यु प्रोजेक्ट अर्थात् हरियाली र पानीजन्य योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारे । त्योमध्ये पार्क र बगैँचा निर्माण एक भएको उनले बताए ।
बैंक सञ्चालक समिति अध्यक्ष राजेश उपाध्यायले शताब्दीपुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको सुझाबअनुसार यहाँ बगैँचा निर्माण गरिएको बताए ।
सत्यमोहन जोशीलाई सम्मान गर्न बैंकले आयोजना गरेको कार्यक्रममा जोशीले बगैँचा निर्माणको सुझाब दिएका थिए ।
उपाध्यायले भने, ‘जोशीज्यूले तपाईंहरूको बैंकसँग नाम मिल्ने शक्तिपीठमा बगैँचा बनाउनुस् भन्नुभयो, हामीलाई उहाँको सुझाब एकदमै राम्रो लाग्यो, त्यसपछि काम थाल्यौँ ।’
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर बगैँचा निर्माण गरेको उनले बताए । पाटन कलात्मक सहर भएको बताउँदै उनले यहाँको संस्कृति र सम्पदा संरक्षणका लागि बैंकको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ललितपुर महानगरपालिका– ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले महानगरपालिकाको हरियाली संरक्षणको योजनामा सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहकार्य गरेर थुप्रै काम गर्न सकिने उनले स्पष्ट पारे ।
महालक्ष्मीस्थान व्यवस्थापन समितिका अध्यक्ष आत्माराम अधिकारीेले हरियाली संरक्षणका लागि गरेको काम पवित्र भएको बताए ।
कार्यक्रममा बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्माले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर परिसरमा बगैँचा निर्माण गर्न पाउँदा खुसी लागेको बताए ।
कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दीपेश लम्साल, सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीको उपस्थिति थियो ।