हिमाल आरोही कतारका राजकुमारलाई सम्मान, भन्छन्- नेपाल संसारकै सुन्दर देश

शनिबार, २९ कार्तिक, २०७७
डिजिटल संस्करण

संस्कृति, पर्यटन  तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले अमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्कन लागेका कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्लालाई सम्मान गरेका छन् । 

काठमाडौंमा शनिबार आयोजित कार्यक्रमबीच मन्त्री भट्टराईले कोभिड– १९ को महामारीबीच राजकुमार अब्दुल्लाले हिमाल आरोहण गरी नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाएको भन्दै राकुमारसहितको आरोही टोलीलाई मायाको चिनो प्रदान गरी बिदाइ गरे । 

राजकुमार शेख मोहम्मदसहित १३ सदस्यीय टोलीले गत २६ कात्तिकमा ६ हजार आठ सय १४ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण गरेको थियो । उक्त आरोहण अमादब्लम हिमालमा अटम सिजनको पहिलो आरोहण थियो । राजकुमारसहितको आरोही टोलीमा ६ सदस्य थिए । यसमा केही  अमेरिकी र क्यानेडियाली आरोही सहभागी थिए । 

उक्त आरोहणमा म्यारेट मेडिसिनको नेतृत्वमा ६ विदेशी र आठ नेपाली सहभागी थिए ।

पर्यटनमन्त्री भट्टराईले पर्यटकीय गतिविधि क्रमशः चलायमान हुँदै गएकाले अब छिट्टै नेपालको पर्यटन पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे । 

सन् २००९ देखि नेपाल आउन थालेका राजकुमार अब्दुल्लाको यो आठौँपटकको यात्रा हो । सन् २०१३ मा सगरमाथा आरोहण गरेका उनी तीनपटक सगरमाथाको आधार शिविर पुगेका छन् । 

नेपालका अन्य पर्यटकीय गन्तव्यमा पाइला टेकेका अब्दुल्लाले नेपालको प्राकृतिक सुन्दरता र आतिथ्य सत्कारबाट आफू प्रभावित रहेको भन्दै नेपाल विश्वकै सुन्दर देश भएकाले फेरि पनि नेपाल आउने चाहना प्रकट गरे । उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

सुझावित समाचार