काजकिरियामा जातीय विभेद गर्ने ६ मध्ये दुई आरोपी पक्राउ

बिहिबार, २७ कार्तिक, २०७७
डिजिटल संस्करण

काजकिरियामा  जातीय विभेद गरेको आरोपमा मोरङको उर्लाबारीबाट प्रहरीले बुधवार ६ आरोपीमध्ये  दुईजनालाई पक्राउ गरेको छ । 

उर्लाबारी नगरपालिका– ४ की ३० वर्षीया कोपिला बर्देवाले आफू सानो जात भएकै कारण ससुराको काजकिरिया सगोलमा गर्न नपाएको भन्दै २३ कात्तिकमा दिएको किटानी जाहेरीका आधारमा ६ जना आरोपीमध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पक्राउ पर्नेहरूमा कोपिलाका श्रीमान् दिवस र उनकी जेठी श्रीमती तारा गहतराज छन् । अन्य आरोपीहरूमध्ये सासू ५५ वर्षीया सुनिता गहतराज, दिवसकी जेठी श्रीमती ताराकी बहिनी २५ वर्षीया शारदा घतानी, जेठाजु ४० वर्षीय दीपक र  ३८ वर्षीय शम्भु गहतराज फरार छन् ।  फरार रहेका अन्यहरूको खोजी भइरहेको इप्रका उर्लाबारीका इन्स्पेक्टर उद्धव पोखरेलले बताए ।  

१३ कात्तिकमा निधन भएका ७० वर्षीय भीमराज गहतराजका (विश्वकर्मा) कान्छा छोराको कान्छी श्रीमती कोपिलाले आफूलाई सानो (परियार) जातको भन्दै ससुराको अन्त्येष्टि र पितृकर्म गर्न नदिएको भन्दै  जातीय विभेद तथा छुवाछुत कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।   

उनले दश वर्षअघि स्वर्गीय भीमलालका कान्छा छोरा दिवस गहतराजसँग  विवाह गरेकी थिइन् । उनीहरूका आठ वर्षीया एक छोरी छिन् ।   

यो पनि पढ्नुहोस् 

दलितभित्रै विभेद : सानो जात भन्दै विश्वकर्मा परिवारले परियार थरकी बुहारीलाई काजकिरियामा सँगै राखेन 

सुझावित समाचार