चुनावी अभियानमा तेजस्वी यादवप्रति जुन स्तरमा आकर्षण बढेको देखिएको थियो, त्यो मतमा परिणत नभएको पाइएको छ
विहारको चुनावी परिणाम आएको छ । राज्यले चाँडै मुख्यमन्त्री पनि पाउनेछ । तर, कोरोना महामारी सुरु भएपछिको ठूलो चुनावले राष्ट्रिय राजनीतिका लागि ठूलो संकेत गर्ने विश्वास गरिएको थियो । निःसन्देह यो आशामा तुषारापात भएको छ । विहार अब सम्पूर्ण भारत त परको कुरा उत्तर भारतको राजनीतिको ऐनासमेत रहन छाड्यो । यो राज्यको राजनीतिले अब राष्ट्रिय राजनीतिको तापमान जाँच्न नसकिने भएको छ । उपचुनाव सामान्यतः सत्तारुढ दलको पक्षमा नै जान्छ । ऊ हार्यो भने मात्र खबर बन्ने गर्छ । तर, चुनावी प्रचारले तीव्रता लिइरहँदा यसपटक विहारले भविष्यको राजनीतिको दिशा देखाउने आशा गरिएको थियो । तर, यस्तो भएन । हालको परिणाममा कसैले पनि जनादेशको दाबी गर्ने अवस्था छैन ।
निःसन्देह नितीश कुमार र उनको सरकारसँग मतदाताको मोहभंग भएको छ । तर, यो निराशा त्यस्तो आक्रोशमा बदलिएन, जसरी लालुप्रसाद यादवको तेस्रो सरकारको अन्तिममा विहारमा देखिएको थियो । चुनावी अभियानमा तेजस्वी यादवप्रति जुन स्तरमा आकर्षण बढेको देखिएको थियो, त्यो आकर्षण ठूलो स्तरमा मतमा परिणत नभएको देखिएको छ । खास गरी युवाबीच उनमा आकर्षण देखिन्छ । तर, यो आकर्षण विश्वासमा बदलिन सकेन । निश्चित रूपमा बेरोजगारीको प्रश्न ठूलो मुद्दाको रूपमा उठ्यो । तर, १० लाख रोजगारीको वाचाले मतदातालाई बाँधेर राखेन । त्यस्तै यादव र मुस्लिम समुदायको ध्रुवीकरण भयो । तर, भाजपाको भोटबैंक र नितीश कुमारका अति पिछडिएको मतबाट त्यसको भर्पाई भयो । वाम दलको समर्थनले महागठबन्धनलाई बल प्राप्त भएको छ । तर, कंग्रेसको कमजोर प्रदर्शनले यो वाम दलको सफलतालाई निष्प्रभावी तुल्याइदियो । उता चिराग पासवान र ओवेसीको पार्टीले पनि राष्ट्रिय जनता दलको भोट काटे l
जब एकतर्फी रुझान हुँदैन, तब समीकरणको सानोतिनो हेरफेरबाट जित–हारको फैसला हुन्छ । अन्ततः यो कुरा विहारमा लागू भयो । अहिलेसम्मको सूचनाअनुसार एनडिए र महागठबन्धनको भोटमा एकदेखि दुई प्रतिशतको भिन्नताले फैसला गरेको छ । रक्सी नियन्त्रणका कारण महिलाहरूको भोट नितीश कुमारको पक्षमा झुक्यो र यसपटक महिलाहरूले अरू समयमा भन्दा बढी मतदान गरे । यसबाट एनडिएलाई झन्डै दुई प्रतिशतको फाइदा भयो । सायद यही मत निर्णायक सावित भयो । उता कंग्रेसलाई ७० सिट दिनु र विआइपीलाई गठबन्धनबाट बाहिर गर्नु गम्भीर गल्ती सावित भयो । चिराग पासवान आफैँ सिट जित्न सफल रहेनन् । तर, उनको ६ प्रतिशत मतले नितीश कुमारलाई ठूलो झट्का दियो ।
कोरोना महामारीको खराब व्यवस्थापन, अर्थव्यवस्थाको संकट र चीनद्वारा भएको आक्रमणविरुद्ध खराब प्रदर्शनका बाबजुद भाजपाले विहारको चुनावमा आफ्नो स्थिति मजबुत गरेको छ । यो विपक्षीहरूको असफलताको उदाहरण हो । विहारको आप्रवासी मजदुरको पलायनको दर्दनाक किस्सा र त्यसमा राज्य सरकारको लाजमर्दो भूमिकाका बाबजुद एनडिए सरकार पुनः सत्तामा आएको छ । यो मूलधारको राजनीतिमा विकल्पहीनताको परिणति हो । जनताले विपक्षको वाचा र नेतृत्वमा विश्वास गरेनन् । विहार निर्वाचनको मत परिणामको सन्देश भाजपा र उसका सहयोगीका लागि पनि छ । हुन सक्छ, सरकार उसैले बनाउला तर उसले पनि स्पष्ट जनादेश पाएको छैन । अघिल्लो वर्ष लोकसभा चुनावको तुलनामा उसको भोट र सिट दुवैमा भारी कमी आएको छ । मतदातालाई न राममन्दिरमा चासो थियो, न धारा ३७० मा, न त ती सुशान्त सिंह राजपूतको मृत्युमा भएको राजनीतीकरणबाट प्रभावित थिए । अब मोदीको जादुको छडीमार्फत कुनै पनि राज्यमा भाजपाले चुनाव जित्ने जमाना रहेन ।
विहारमा किसानको असन्तुष्टि ठूलो मुद्दा बन्न पाएन । किनकि त्यहाँको कृषिमन्डीको व्यवस्था पहिलेदेखि नै ध्वस्त थियो, त्यसैले भाजपाको नयाँ कानुनले त्यहाँ केही गुम्ने अवस्था आएन । तर, अन्य राज्यमा यस विषयमा जनताको असन्तोष सामना गर्नुपर्छ भन्ने कुरा भाजपाका नेतालाई राम्रोसँग थाहा छ । विहार राजनीतिले गर्ने राष्ट्रिय राजनीतिको सन्देश अलग छ । अहिलेको मतपरिणामअनुसार राष्ट्रिय राजनीतिमा नरेन्द्र मोदीको पकड मजबुत नभए पनि कमजोर नरहेको संकेत गरेको छ । कंग्रेसको कमजोरी पुनः एकपटक प्रस्टियो । देशको सबैभन्दा गरिब क्षेत्रमा वामपन्थीहरू बलियो हुनु सकारात्मक संकेत हो भने एमआइएमको वृद्धि खतराको घन्टी हो । दिल्ली, हरियाणा र महाराष्ट्रको चुनावबाट के कुरा स्पष्ट भइसकेको छ भने राज्यमा हुने सानोतिनो हारले राष्ट्रिय राजनीतिमा निकै ठूलो असर पर्नेछैन । राष्ट्रिय राजनीतिमा भाजपा र नरेन्द्र मोदीको विकल्प देखिएको छैन । अहिलेको चुनावी परिणामबाट एउटा ठूलो तर पीडादायी प्रश्न पुनः सतहमा आएको छ–भारतीय लोकतन्त्रमाथि गहिरिएको संकटको संघर्ष संसदीय राजनीतिको चुनावी मैदानमा हुन्छ कि जनआन्दोलनको सडक राजनीति लडिनेछ ?
(आम आदमी पार्टीका पूर्वनेता योगेन्द्र यादव स्वराज इन्डियाका अध्यक्ष हुन् ।)
प्रभात खबरबाट