एक दशकपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलको आफ्नै प्रशासनिक भवन निर्माण भएको छ । ०६७ सालमा स्थापना भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रशासनिक कार्यालय भाडाको भवनमा सञ्चालन हुँदै आएको थियो ।
तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको भीमदत्त नगरपालिका– १८ सालघारी क्षेत्रमा एकतले पक्की भवन निर्माण भएको हो । नयाँ पक्की भवनमा औपचारिक रूपमा कार्यालय सारिएको छ । बुधबार औपचारिक रूपमा नयाँ भवनमा कार्यालय सारिएको छ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्द विष्टले औपचारिक रूपमा पक्की भवनमा सारिएको बताए । ‘विगतमा भाडाका भवनमा बस्दै आएका थियौँ, ‘रजिष्ट्रार विष्टले भने, ‘अब आफ्नै भवन निर्माण भएको छ ।’

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीमा निर्माण भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रशासनिक भवन
पाँच कोठा, दुई बैठक कक्षसहितको एकतले भवन निर्माण गरिएको थियो । १३ करोड लागतमा निर्माण भएको भवनमा अहिले केन्द्रीय कार्यालय सारिएको छ । ‘आफ्नै भवन निर्माण भएपछि दैनिक कामकाज प्रशासनिक सहज हुन्छ,’ उनले भने, ‘अहिलेका लागि एकतले निकट भविष्यमै तीन तले निर्माण गर्छौँ ।’
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशीले प्रशासनिक भवनसँगै आवासगृह बनाउने योजना रहेको बताए । बिएस्सी हर्बल साइन्सलगायतका योजनासमेत अघि सारिएको बताए ।
‘थप कार्यक्रम सञ्चालन गर्छौँ,’ उपकुलपति जोशीले भने, ‘भविष्यमा पूर्वाधारका क्षेत्र विस्तार गरेर योजना अघि बढाउँछौँ ।’ मासिक ६५ हजारमा भाडा तिरेर प्रशासनिक भवन सञ्चालन हुँदै आएको थियो ।
तत्कालीन नगर विकास समितिबाट १२ बिघा जमिन लिएको विश्वविद्यालयले पाँच बिघा सालघारी र सात बिघा जमिन निम्बुखेडा क्षेत्रमा रहेको छ । विश्वविद्यालयले आफ्नै भवनमा प्रशासनिक भवन निर्माणसँगै विश्वविद्यालय कर्मचारी हर्षित भएका छन् ।