सामाजिक सञ्जालमा जोडिएका आफन्तलाई चाडपर्वका वेला शुभकामना दिने चलन नेपालमा बढेको छ ।
व्यस्त समयबीच सकभर छिट्टै चाडबाडअनुसारका कार्ड बनाएर साथीहरूलाई शुभकामना सन्देश पठाउने चाहना हुनु स्वाभाविक हो ।
अहिले यस्ता ‘रेडिमेड’ शुभकामना कार्ड बनाउन सहज भएको छ । कसैलाई वैवाहिक वर्षगाँठको शुभकामना दिन होस् वा अन्य कुनै चाडपर्वको शुभकामना नेपाली भाषामा दिने केही एप्स एपस्टोरबाट डाउनलोड गर्न सकिन्छ ।
शुभकामना : उपवेद टेक्नोलोजीले यो एप भर्खरै लञ्च गरेको हो । यसमा तस्बिर र ‘जिआइएफ’ फाइलमा समेत शुभकामना सन्देश लेखेर उक्त कार्ड मोबाइलमा सेभ गर्नुका साथै सामाजिक सञ्जालमा सेयर गर्न सकिन्छ । फेसबुकबाट लग इन गरी यसमा वैवाहिक वर्षगाँठ, दसैँतिहारजस्ता अवसरमा नेपाली र अंग्रेजी भाषामा शुभकामना दिन सकिन्छ । हरेक चाडपर्वका लागि बेग्लाबेग्लै कार्ड र शुभकामनाअनुसारका तस्बिर छान्न सकिने सुविधा छ ।
हाम्रो पात्रो : यस एपमा समेत दसैँका कार्ड बनाउन सकिन्छ । यसको ‘इकार्ड’ विकल्पमा गएर आफ्नो सन्देश र आफ्नो नामसमेत राख्न सकिने सुविधा छ । पहिल्यैदेखि बनाइएका चाडपर्वका कार्डमा आफ्ना शब्द राखेर कार्ड बनाउन सकिन्छ ।
नेपाली स्टेटस एन्ड कोट्स : किंग एम्बिसनले प्लेस्टोरमा राखेको यस एपले भने नेपालीमा विभिन्न भनाइहरूको तस्बिर बनाउन सकिन्छ । यसरी आफ्नै शब्द राखेरसमेत कार्ड बनाउन सकिने सुविधा उपलब्ध छ । यसमा सामाजिक सञ्जालमा केवल स्टाटस राख्न मात्र नभई कुनै अवसरमा शुभकामना दिनुपरेमासमेत उपयुक्त छ ।
दसैँ–तिहार एसएमएस, भिडियोज्, इकार्डस् एन्ड संग्स : यस एपले पनि दसैँ–तिहारलक्षित कार्ड, सांगीतिक भिडियो तयार गर्नुका साथै दसैँबारे जानकारीसमेत दिन्छ ।
दसैँ–तिहार विशेज एप : यसमा पनि केही विशेषतासहितका कार्ड बनाउन सकिन्छ । सादा ब्याकग्राउन्डमा आफ्ना शब्द राखेर शुभकामना दिन सकिने विशेषता छ ।