जुम्लामा तिहारमा देउसी–भैलो खेल्न प्रतिबन्ध

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

जुम्लामा यस वर्ष तिहारमा खेलिने देउसी–भैलो कार्यक्रमलाई प्रतिबन्ध गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयले कोरोनाको महामारीलाई मध्यनजर गर्दै देउसी–भैलो खेल्न प्रतिबन्ध लगाएको हो । 

महामारीको अवस्थामा यस वर्ष जिल्लाका सबै स्थानीय तहहरूमा देउसी–भैलो खेल्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । 

जिल्लाको एक नगरपालिका र सात गाउँपालिका गरी आठवटा स्थानीय तहमा देउसी–भैलो खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । 

उनले भने, ‘देउसी–भैलोको कार्यक्रम गर्दा धेरै जमघट हुने हुन्छ । यसकारणले कोरोना संक्रमणको झन जोखिम उच्च हुने सम्भावना हुन्छ । जसका लागि हामीले यस वर्ष जिल्लाभरि देउसी–भैलो खेल्न प्रतिबन्ध लागाउने निर्णय गरेका हौँ ।’

जिल्ला सुरक्षा समितिले मात्रै निगरानी गरेर हुँदैन, सबै स्थानीय तह जिम्मेवारी हुन आवश्यक छ । जिल्ला सुरक्षा समितिले तिहारमा देउसी–भैलो खेल्न नदिन जुम्लाका सबै स्थानीय तहलाई पत्राचारसमेत गरिएको उनले बताए । 

कुनै पनि ठाउँमा यस्ता कार्य गरेको पाइएमा जोसुकैलाई संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिनेछ ।

तिहारमा हुने आगलागीजस्ता गतिविधिलाई मध्यनजर गरी आतिसबाजी, पटकालगायतका ज्वलनशील प्रदार्थ प्रयोग गर्न र बिक्री–वितरणमा रोक लगाइएको जिल्ला प्रशासन जुम्लाले जनाएको छ । 

साथै अनावश्यक रूपमा सार्वजनिक रूपमा जमघाट, राजनीतिक भेला, सभा, सम्मेलनजस्ता कार्य गरी शन्तिसुरक्षामा, सुव्यस्थामा खलल पुऱ्याउने कुनै खालको गतिविधि गरेको खण्डमा कानुनी कारबाही गरिने प्रशासनले चेतावनीसमेत दिएको छ । 

तिहारको अवधिभर साँझ ७ बजेभन्दा पछि मदिरा बेचबिखन गर्न पाइनेछैन ।

तिहारको रमाइलो गर्ने बाहनामा होहल्ला गरी शान्तिसुरक्षा भंग गर्ने, जुवाताज खेल्ने खेलाउने कार्य गरेको खण्डमा प्रशासनले प्रचलित कानुनबमोजिम कारबाही गर्नेछ । 

तिहारलाई लक्षित गरी घट्ने घटनालाई मध्यनजर गरी सुरक्षाकर्मी थप परिचालन गरिने प्रहरी नायव उपरीक्षक माधव काफ्लेले बताए । उनले भने, ‘सबैभन्दा बढी जमघाट हुने स्थानमा सुरक्षा व्यवस्था कडा पारिनेछ ।’ 

प्रहरी प्रशासनले मात्रै कडा गरेर हुँदैन, महामारीबाट बच्नका निम्ति आमनागरिकले आफ्नो कर्तव्य निर्वाह गर्न जरुरी छ । 

जिल्लामा कुल संक्रमितको संख्या तीन सय ६९ पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै, तीन सय ३२ जना भएका छन् भने सक्रिय संक्रमित ३७ जना रहेका छन् ।

सुझावित समाचार