पूर्वको शक्तिपीठ दन्तकालीलाई यस वर्ष ६ लाख घाटा

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

पूर्वको शक्तिपीठ मानिने धरानको दन्तकाली मन्दिरको आम्दानीमा यस वर्ष ६ लाख घाटा लागेको छ । कोरोना महामारीका कारण आन्तरिक पर्यटक तथा भक्तजनहरूलाई प्रवेश निषेध गरिएपछि मन्दिरको आम्दानी शून्य भएको हो ।  धरान–१४ स्थित विजयपुर डाँडामा रहेको दन्तकाली मन्दिरमा ५१ वर्ष पहिलेदेखि दसैँको ९ दिनसम्म ठूलो मेला लाग्ने गरेको थियो ।

दैनिक ५ हजारभन्दा बढी मानिस घुम्न तथा पूजाआजा गर्न आउने गरेका थिए । तर यस वर्ष कोरोना महामारीका कारण संघीय सरकार तथा स्थानीय सरकारले मन्दिरमा पूजा–आराधनामा बन्देज लगाएपछि दसैँको नौरथामा मात्र मन्दिरलाई झन्डै ६ लाख घाटा भएको मन्दिरका मूल पूजारी विश्वराज खनालले जानकारी दिए । आन्तरिक पर्यटकहरूको घुइँचो हुने शक्तिपीठ ११ चैतदेखि बन्द छ । नित्य पूजा तथा विशेष पूजामा पुजारीबाहेक कसैलाई पनि प्रवेश गर्न नदिइने निर्णय भएको धरान उपमहानगरपालिका–१४ का वडाध्यक्ष कृष्ण भट्टराईले जानकारी दिए ।  

‘दसैँको नौरथामा घुम्न आउने तथा पूजा गर्न आउनेबाट मात्र दैनिक ५०–६० हजार आम्दानी हुने गरेको थियो,’ मूल पुजारी खनालले भने, ‘यस वर्ष कोही आउन पाउनुभएन । हाम्रो आम्दानी गुम्यो ।’ मन्दिर परिसरमा नौरथामा मात्र दैनिक १ लाखभन्दा बढीको पूजा सामग्री, खेलौना, मन्दिरका चिनारी तस्बिर, नरिवल, बेलुनलगायतका सामग्री बिक्रीबाट आम्दानी हुने गरेको थियो । तर, कोभिड–१९ का कारण मन्दिर परिसरमा व्यवसाय गर्दै आएका व्यापारीको पनि व्यापार सुकेको स्थानीय दुर्गा भुजेलले बताए ।  

मूल पुजारी खनालका अनुसार महाअष्टमीमा भक्तजनहरूले बोका, राँगा, हाँसको बलि दिने गरेका थिए । १ सयदेखि २ सयसम्म पशुपक्षीको बलि दिँदै आए पनि यस वर्ष भक्तजनहरू आएनन् । तर, विधि र प्रक्रिया पुर्याउन नौ दिन नै दैनिक पशुबलि दिने गरिन्छ । अन्य समयमा पनि १५–१५ दिनमा बोकाको बलिदिने परम्परा रहेको छ । टाढाटाढाबाट आफूले चिताएको पूरा हुने जनविश्वासले भक्तजनहरू आउने गरेका थिए ।

७ महिनादेखि सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएका कारण मन्दिरमा आम्दानी शून्य हुँदा मन्दिर व्यवस्थापन समिति घाटामा गइरहेको पुजारी खनाल बताउँछन् । सामान्य रूपमा पनि महिनामा १५–२० हजार खर्च व्यवस्थापन समितिले व्यहोर्दै आएको पुजारी खनालले बताए । लकडाउनले आम्दानी नभए पनि परम्परा धानिरहेको मन्दिर गुठी व्यवस्थापन समितिका संयोजक रमेश खनालको भनाइ छ ।

सुझावित समाचार