तिलौराकोट दरबार जोड्ने सडकमा गुणस्तरहीन काम

सात दिनमै उक्कियो कालोपत्रे

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण
तिलौराकोट दरबार जोड्ने सडकमा गुणस्तरहीन काम

कपिलवस्तु नगरपालिका– ६ तिलौरामा केही दिनअघि गरिएको कालोपत्रे सडक । तिलौराकोट दरबार जोड्ने सो सडकको कालोपत्रे चपराजस्तै उप्किएको छ ।तस्बिर : नयाँ पत्रिका

ठेकेदारले गुणस्तरहीन सामग्री प्रयोग गर्दा राजमार्गदेखि गौतमबुद्धको गृहनगरी तिलौराकोट दरबार जोड्ने सडक कालोपत्रे गरेको केही दिनमै उक्किन थालेको छ । कपिलवस्तु नगरपालिकाको वडा नम्बर ६ तिलौरामा पर्ने सो सडकको कालोपत्रे ठाउँठाउँमा चपराजस्तै उक्किएको छ । 

कालोपत्रे गरिएको केही दिनमै उप्किन थालेपछि स्थानीयले गुणस्तरहीन सामग्री प्रयोग गरिएको आशंका गरेका छन् । गुणस्तरहीन सामग्री प्रयोग गर्नकै लागि ठेकेदारले स्थानीयवासी दसैँमा व्यस्त रहेको मौका छोपेको आरोप उनीहरूको छ । ‘उप्किएको भाग हेर्ने हो भने सीधै माटोमाथि कालोपत्रे गरेको स्पष्टै देखिन्छ,’ एक स्थानीयले भने, ‘कालोपत्रे स–साना केटाकेटीले समेत सजिलै उप्काउन सक्छन् ।’

सो सडक पर्यटकीय सम्भावना रहेको जगदीशपुर ताल हुँदै तिलौराकोटसम्म पुग्छ । राजमार्गदेखि जगदीशपुरसम्म यसअगाडि नै कालोपत्रे भइसकेको छ । बाँकी रहेको करिब ७.५ किलोमिटर सडक र नाला निर्माणको काम हाल चलिरहेको छ । त्यसैक्रममा कपिलवस्तु नगरपालिका–६ मा पर्ने बाबाकुटीबाट तिलौरीसम्मको सडक कालोपत्रे गरिएको थियो । 

गुणस्तरहीन सामग्री प्रयोग
साना–साना केटाकेटी खेल्दै गर्दा कालोपत्रे उप्किएपछि स्थानीयले कमसल काम भएको थाहा पाएका थिए । माटो बढी भएको बेस हालेका कारण कालोपत्रे राम्रोसँग नबसेको स्थानीयको गुनासो छ । बेस राखेपछि राम्रोसँग भाइब्रेटर नलगाई ठेकेदारले कालोपत्रे गरेको स्थानीय वेदनाथ आचार्यले दाबी गरे । ‘कालोपत्रे उप्किएको बेसमा माटोको मात्रा बढी भएको प्रस्ट देखिन्छ,’ आचार्यले भने, ‘यस्तो लापरबाही गरेर गुणस्तरहीन काम गरेकाले कालोपत्रे सजिलै उप्किएको हो ।’

नयाँ प्रविधिमा कमजोरी हुन सक्छ : ठेकेदार
अस्फाल्ट प्रविधिबाट पहिलोपटक सडक कालोपत्रे गरेको हुनाले बिग्रिएको हुन सक्ने सडक निर्माणको सम्झौता गरेको सन्तोषी निर्माण सेवाको भनाइ छ । ‘हामीले यो प्रविधि पहिलोपटक प्रयोग गरेका हौँ । त्यसैले कहीँ–कतै कमजोरी भएको हुन सक्छ,’ सन्तोषी निर्माण सेवाका कर्मचारी विशाल पन्थीले भने, ‘के भएको रहेछ भन्ने हामी बुझ्छौँ ।’

बिग्रिएको भागहरू एक वर्षसम्म मर्मत गर्ने जिम्मा निर्माण सेवाको भएकाले स्थानीयले चिन्ता गरिरहनु नपर्ने बताए । ‘सडक सम्झौताकै क्रममा एक वर्षभित्र सडक मर्मतको जिम्मा हाम्रो हुने उल्लेख छ । त्यसैले कालोपत्रे गर्दा कहीँ–कतै बिग्रिएको रहेछ भने पनि हामी तत्काल मर्मत गर्छौँ, स्थानीयको गुनासो सम्बोधन गर्छौँ ।’

जबर्जस्ती कालोपत्रे गरियो : इन्जिनियर
सहरी विकास कार्यालयअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइका इन्जिनियर राजु यादवले निर्माण कम्पनीको कमजोरीले गुणस्तरहीन काम भएको बताए । उनले कालोपत्रे गर्ने मापदण्ड पूरा नगरी जबर्जस्ती कालोपत्रे गरिएको बताए । ‘ठेकेदार कम्पनीलाई रोक लगाउँदा पनि जबर्जस्ती कालोपत्रे गरेको थियो,’ उनले भने, ‘बिग्रिएको भाग ठेकेदार पक्षलाई पुनर्निर्माण गर्न लगाइनेछ ।’
 

सुझावित समाचार