शान्तिसम्झौताले समस्या हल हुँदैन

अफगानिस्तानको विकास गर्न भ्रष्टाचारजस्ता प्रणालीगत समस्याको सम्बोधन गर्ने स्पष्ट कार्ययोजना चाहिन्छ

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

अहिले अन्तर्राष्ट्रिय समुदायको ध्यान कतारको राजधानी दोहामा जारी अफगानिस्तान शान्तिवार्तामा केन्द्रित छ । यहीबीच सार्वजनिक भएको एउटा प्रतिवेदनले गत दुई दशकमा अफगानिस्तानले भ्रष्टाचार र दुरुपयोगमा खेर फालेको राशीबारे विस्तृत विवरण सार्वजनिक गरेको छ । त्यो प्रतिवेदनले तालिवान र अफगान सरकारबीच बहुप्रतीक्षित शान्तिवार्तामा हस्ताक्षरपछि पनि अफगानिस्तानले सामना गर्नुपर्ने थुप्रै चुनौतीको चाङ उजागर गरेको छ ।

सन् २००१ मा तालिवान सत्ता ढलेयता अमेरिकी सरकारले अफगानिस्तानको पुनर्निर्माण कार्यक्रममा झन्डै १३४ अर्ब डलर खर्चिसकेको छ । यो राशी अमेरिकाले द्वितीय विश्वयुद्धपछि पश्चिम युरोपको पुनर्निर्माणमा खर्चिएबराबरको हो, जुन अमेरिकी जिडिपीको ४.३ प्रतिशत हुन आउँछ । भर्खरै स्पेसल इन्स्पेक्टर जनरल फर अफगानिस्तान रिकन्स्ट्रक्सन (सिगार)को कार्यालयले सन् २००२ यता अफगानिस्तानको पुनर्निर्माणमा अमेरिकाले खर्चिएको ६३ अर्ब डलरको विस्तृत अडिट रिपोर्ट सार्वजनिक गरेको छ । अक्टोबर २० मा प्रकाशित यो प्रतिवेदनले ‘रिभ्यु गरिएको रकमको ३० प्रतिशत अर्थात् १९ अर्ब डलर दुरुपयोग, भ्रष्टाचार एवं किर्ते कार्यमा गएको’ निष्कर्ष प्रस्तुत गरेको छ । सन् २०१८–१९ मा मात्रै पनि करिब एक अर्ब ८० करोड डलर भ्रष्टाचारमा सिद्धिएको प्रतिवेदनमा उल्लेख छ ।

सिगारको यो प्रतिवेदनले भ्रष्टाचारको महामारी, व्याप्त असुरक्षा एवं जवाफदेहिताको अभावले अफगानिस्तानमा लगानी गर्नु उच्च जोखिमपूर्ण भएको देखाएको छ । यसले भ्रष्टाचारको प्रसार रोक्नमा अफगानिस्तान सरकार पूर्णतः असफल भएको तथ्य पनि उजागर गरेको छ । साथै, युद्धले क्षतविक्षत् बनेको यो मुलुकको तालिवानसँग शान्तिवार्ता सफल भएपश्चात् पुनर्निर्माणको क्षमतामाथि समेत गम्भीर आशंका उब्जाएको छ ।

बितेका दुई दशकमा अफगानिस्तानले लामै यात्रा तय गरेको पनि छ । दसौँ लाख केटी स्कुल जान थालेका छन् । मुलुकभर पूर्वाधारहरू निर्माण भएका छन् । स्थानीयस्तरका समस्या समाधान गर्न स्थानीय समुदाय सक्षम हुन थालेका छन् । तर, राष्ट्र निर्माणमा यतिविधि पैसा खर्च हँुदा पनि जुन स्तरको गरिबी, असुरक्षा र संस्थागत रुग्णता कायम छ, त्यसले अफगानिस्तानको दिगो पुनर्निर्माणको सुनिश्चितताको सही सूत्र अझै फेला नपरेको स्पष्ट हुन्छ । वास्तवमा यस क्षेत्रमा लगभग कुनै प्रगति नभएको अवस्था हो ।

यसकारण अफगानिस्तानको भविष्यलाई लिएर दोहामा वार्तारत पक्षहरूले के बुझ्नुपर्छ भने सुदूर भविष्यमा पनि अफगानिस्तान विदेशी सहयोगमै निर्भर रहनुपर्ने हुन्छ । अफगान सरकारका संरचना धान्न र तिनलाई धराशयी हुनबाट रोक्न मात्रै पनि वार्षिक औसत पाँच अर्ब डलरको विदेशी सहयोग आवश्यक हुने अनुमान छ । जबकि अफगानिस्तानमा पैसा खन्याइरहेका दाताहरू वर्षाैंको निष्फल पुनर्निर्माण खर्चबाट त वाक्कदिक्क छन् नै, जारी कोभिड संकटका कारण बजेट दबाबमा पनि छन् । यसर्थ पनि अफगानिस्तानको पुनर्निर्माण तथा विकासमा निहित प्रणालीगत समस्याहरूको निवारणका लागि एउटा सुस्पष्ट योजना आवश्यक छ ।

सन् २००१ मा तालिवान सत्ता ढलेयता अमेरिकी सरकारले अफगानिस्तानको पुनर्निर्माण कार्यक्रममा झन्डै १३४ अर्ब डलर खर्चिसकेको छ ।

शान्तिवार्तापश्चात् पनि यो मुलुकका अनगिन्ती समस्या हिंसाको अन्त्यको सम्झौताले मात्रै निवारण हुँदैनन् भन्ने बुझ्नु निकै जरुरी छ । अफगानले व्याप्त भ्रष्टाचार एवं आर्थिक अनुशासनहीनताका समस्याको पनि हल निकाल्नुपर्छ । किनकि यो मुलुक हाँक्ने सिटमा जो आउँछ, उसले ठूलो वित्तीय जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । उनीहरूले अब अफगानिस्तानमा हुने लगानी भ्रष्टाचार, दुरुपयोग र निष्फलकाममा खेर नजाने सुनिश्चित गर्न राज्यका निकायमा दाता र नागरिक दुवैको भरोसा जगाउन सक्नुपर्छ ।

यसका लागि यतिखेर उनीहरूसँग राज्यका निकायको पुनर्संरचना गर्ने र नयाँ सुरुवात गर्ने अवसर छ । यसो हुँदा दाता मुलुक र अफगानी नागरिकमा समेत अब केही हुने आशा पनि जगाउँछ । शान्तिवार्ता सम्पन्न नहुन्जेल अफगानिस्तानले यसमा छलफल थाल्न पर्खिने हो भने त्यो धेरै ढिला भइसकेको हुनेछ । दुवै पक्षले यी मुद्दामा अफगान समाजका सबै पक्षलाई व्यापक रूपले संलग्न गराउन र दिगो पुनर्निर्माणतर्फको सुविचारित विकल्प दिन सक्नुपर्छ ।

अफगानिस्तानको भविष्यका लागि आगामी २३ र २४ नोभेम्बरमा जेनेभामा आयोजना हुँदै गरेको दाता सम्मेलनको आयोजना फिनल्यान्ड, अफगानिस्तान र संयुक्त राष्ट्रसंघले संयुक्त रूपमा गर्दै छन्, त्यस सम्मेलनलाई विकासका यी चुनौतीमा केन्द्रित हुने तथा वास्तविक एवं दिगो शान्ति योजनामा उनीहरूको के भूमिका हुन सक्छ भन्नेमा केन्द्रित हुने अवसर हो । अफगानिस्तानलाई आर्थिक सुशासनप्रति जवाफदेही बनाउने प्रयासले अफगान सरकारलाई लामो समयदेखि बेवास्तामा परेका र तालिवानको शासनअन्तर्गतका भूभागलगायत स्थानीयस्तरको विकास योजना लिएर प्रस्तुत हुन प्रोत्साहित गर्नेछ । यसले त्यहाँका नीति–निर्माताहरूलाई ती स्थानका स्थानीय समुदायसँग पुग्न र तिनका समस्याको पहिचान गर्न झकझकाउनेछ । साथै, तलिवानलाई यो सम्मेलनको कार्यसूचीका आफ्ना कुरा समावेश गर्न पनि सहयोग गर्नेछ ।

(बाराकात दोहास्थित सेन्टर फर कन्फ्लिक्ट एन्ड ह्युम्यानिटरियन स्टडिजका निर्देशक हुन्)अलजजिराबाट

सुझावित समाचार