सवारीसाधन लाइसेन्स ट्रायल कहिले खुल्ने अनिश्चित

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

संघीय सरकार प्रदेशलाई र प्रदेश सरकार संघीय सरकारको निर्णय पर्खंदै, अधिक भिडभाड हुने र अत्यावश्यक सेवा नभएकाले खुलाउन ढिलाइ

चैत २०७६ देखि रोकिएको सवारीसाधन लाइसेन्स ट्रायल (प्रयोगात्मक परीक्षा) कहिले खुल्ने भन्ने अनिश्चित बनेको छ । यातायात व्यवस्था विभागले लाइसेन्स प्राप्त गर्नका लागि लिइने प्रयोगात्मक परीक्षा प्रदेशमातहत भएकाले प्रदेशले निर्णय गरेपछि मात्र खुला हुने बताउँदै आएको छ ।

‘कहिले खुल्छ भन्ने विषय प्रदेश सरकारको निर्णयमा भर पर्छ,’ यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले भने । तर, बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले भने संघीय सरकारको निर्णयअनुसार नै प्रयोगात्मक परीक्षा लिने काम बन्द गरिएको बताए । 

संघीय सरकारले नयाँ निर्णय नगरेसम्म खुल्ने सम्भावना न्यून रहेको उनको भनाइ छ । संघीय सरकारअन्तर्गतको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)को निर्णयअनुसार अत्यावश्यक सेवाका लागि मात्र खुला गरिएको प्रवक्ता सिंहले जानकारी दिए । ‘सवारीसाधनको लाइसेन्स ट्रायल सेवा अत्यावश्यकमा नपर्ने भएकाले पनि अहिलेसम्म खोलिएको छैन,’ उनले भने । यसका साथै कोरोना संकट वृद्धि हुँदै जाँदा धेरै भिडभाड हुने भएकाले पनि खोल्न नसकिएको प्रदेश सरकारको स्पष्टोक्ति छ ।  

भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार तिहारअघि सवारी लाइसेन्स ट्रायल खुल्ने सम्भावना छैन । त्यसपछि खुलाउने विषयमा पनि संघीय सरकार र प्रदेश सरकारबीच समन्वय भएपछि मात्र निर्णय हुने प्रवक्ता सिंहले जानकारी दिए । त्यसका लागि अत्यावश्यकबाहेक अन्य सेवा पनि खोल्ने संघीय सरकारले निर्णय गरेपछि त्यसलाई प्रदेश सरकारले पनि निर्णय गर्ने तयारी छ । ‘त्यसपछि आवश्यक मापदण्ड पूरा गरेर खोलिनेछ,’ प्रवक्ता सिंहले भने । 

सवारीसाधनको लाइसेन्स प्राप्त गर्ने प्रयोगात्मक परीक्षा नखुल्दा धेरैलाई असर परेको छ । यसले विशेष गरी लामो समयदेखि तयारी गरेका र असफल भएकाले पुनः सहभागी हुन पाएका छैनन् । सवारीसाधन खरिद गर्ने, चालक बन्ने सपना बोकेकालाई पनि यसले असर पुर्याएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले पछिल्लो समय प्रयोगात्मक परीक्षा खोल्नका लागि दिनहुँ गुनासो आउने गरेको बताए । प्रदेश सरकारले निर्णय गरेको खण्डमा प्राविधिक पक्षमा सहयोग गर्न र प्रणाली सञ्चालनमा सहयोग गर्न भने तयार रहेको उनको भनाइ छ । 

See More On

सुझावित समाचार