देश दर्शन बससेवा प्रालिले कोभिड– १९ को बढ्दो संक्रमणबीच आजबाट पर्यटक बससेवा सुरु गरेको छ ।
देश दर्शनले १२ करोड रुपैयाँ लगानीमा १६ वटा पर्यटक बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई बससेवा प्रदान गर्न शनिबारदेखि सेवा सञ्चालन गरेको हो ।
देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्रि पर्यटक बससेवा प्रदान गर्न गरी पर्यटन बस सञ्चालन गरिएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाटा)का अध्यक्ष अच्युत गुरागाईंले जानकारी दिए ।
देशका मुख्यमुख्य पर्यटकीय स्थललाई लक्षित गरेर दिवा तथा रात्रिकालीन बससेवा सञ्चालन गरेकाले पर्यटन विकासमा महत्वपूर्ण हुने पनि उनले बताए ।
गुरागाईंले काठमाडौं–पोखरा, काठमाडौं–जनकपुर, काठमाडौं–वीरगन्ज, काठमाडौं–लुम्बिनी, काठमाडौं–चितवन, र चितवन–पोखरामा पर्यटन बस सञ्चालनमा ल्याउने भएकाले आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास गरेका छन् ।
कोभिड संक्रमणका कारण बसमा यात्रा गर्दा सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गरी यात्रा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
देशदर्शनले सुरुको एक सातासम्म काठमाडौंदेखि देशका विभिन्न स्थानमा जाँदा भाडादरमा ५० प्रतिशत छुट र काठमाडौं भित्रिने यात्रुका लागि भाडादरमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।