काठमाडौं उपत्यकासहित शनिबार देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ ।
शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो । आज काठमाडौं उपत्यकामा यस वर्ष जाडो सुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको हो ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको केही दिन देशभर तापक्रम निरन्तर घट्दै जाने क्रममा रहेको छ । ‘दिउँसो घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ,’ उनले भनिन्, ‘केही दिन तराईमा पातलो कुइरो लाग्ने र पहाडमा लामो समय पानी नपरेकाले तुवाँलो लाग्छ ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहनेछ । राससका अनुसार आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्रीमा झरेको छ ।