दश लाख रुपैयाँ घुस रकमसहित नेपाल विद्युत् प्राधिकरणका एक इन्जिनियर पक्राउ परेका छन् । बिहीबार दिउँसो हेटौँडा–१० स्थित टिसिएन रोडबाट नेपाल विद्युत् प्राधिकरणअन्तर्गत हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाल पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रमुख बाबुराम खतिवडाका अनुसार जैसवालले आयोजनाको काम गरेबापत ठेकेदार कम्पनीसँग दश लाख घुस लिएका थिए । घुस लिएको दश लाख रुपैयाँसहित जैसवाललाई पक्राउ गरिएको खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार ठेकेदार कम्पनीले सम्पूर्ण कागजात पूरा गरेर भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको भए पनि जैसवालले आफूलाई दश लाख रुपैयाँ मागेका थिए । ‘दश लाख रुपैयाँ घुस मागेर लामो समयदेखि ठेकेदार पक्षको भुक्तानी रोकिएको रहेछ । उक्त गुनासो हामीसम्म आइपुगेपछि हाम्रो टोलीले उनीमाथि निगरानी राखेको थियो,’ कार्यालय प्रमुख खतिवडाले भने, ‘त्यसैक्रममा इन्जिनियर जैसवाललाई हेटौँडा–१० स्थित मेगा होटेलबाट पक्राउ गरिएको हो ।’
प्रसारण लाइन आयोजनाभित्र पर्ने रूखको कटानी गरी ढुवानी तथा घाटगद्दी गरेबापत भुक्तानी गर्नुपर्ने रकमका लागि कागजात प्रक्रिया अघि बढाएर घुस मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियार हेटौँडा कार्यालयले जनाएको छ । इन्जिनियरले घुस लिएकोबारे आवश्यक प्रक्रिया अघि बढाइने कार्यालय प्रमुख खतिवडाले बताए ।