नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरभणे तीन दिन नेपाल रहनेछन् ।
चार सदस्यीय प्रतिनिधिमण्डलसहित आएका नरभणेको बुधबार कुनै औपचारिक कार्यक्रम रहेको छैन ।
बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी प्रदान गर्ने कार्यक्रम रहेको छ । नेपाल र भारतबीच एक–अर्काको प्रधानसेनापतिलाई मानार्थ महारथी प्रदान गर्ने प्रचलन रहिआएको छ ।
त्यसलगत्तै उनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट पनि गर्नेछन् ।
त्यसैगरी बिहीबार नै सेनाध्यक्ष नरभणेकाे प्रधानसेनापति थापासँग सैनिक मुख्यालय जंगी अड्डामा भेट हुनेछ । सो क्रममा नरभणेले मोबाइल अस्पताल, एम्बुलेन्सलगायतका सामग्री नेपाली सेनालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
त्यसैगरी बिहीबार नै भारतीय सेनाध्यक्ष नरभणेकी पत्नी एवं भारतको सैनिक श्रीमती कल्याण संघकी अध्यक्ष विना नरभणेले प्रधानसेनापति थापापत्नी एवं सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापासँग बेग्लै भेटघाट गर्ने कार्यक्रम रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।
सेनाध्यक्ष नरभणेले शुक्रबार भने शिवपुरीस्थिति नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा आयोजित एक कार्यक्रममा सहभागी भई सैनिक अधिकारीहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
शुक्रबार नै सेनाध्यक्ष नरभणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । सोही दिन अर्थात् शुक्रबार उनी आफ्नो तीनदिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनेछन् ।