शिक्षक सरुवापछि विवाद

मंगलबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

ब्रह्मपुरी गाउँपालिकाले अनियमितताविरुद्ध आवाज उठाउँदै आएका पाँचजना शिक्षकको एकसाथ सरुवा र घटुवा गरेपछि विवाद चर्किएको छ । ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीमा रहेको श्री सुबेदार नन्दलाल जनता माविका पाँचजना शिक्षकलाई गाउँपालिका कार्यालयले सरुवा र घटुवा गरेपछि विवाद चर्किएको हो । 

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले विद्यालयको विकास बजेटबाट कमिसन माग्ने गरेको र नदिएपछि सरुवा गरिएको शिक्षकहरूको आरोप छ । ऐन–नियमविपरीत गाउँपालिकाले शिक्षक सरुवा र घटुवा गरेको उनीहरूले गुनासो गरेका छन् । दिवा खाजा, शौचालय निर्माणलगायत काममा गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिले कमिसन माग्ने गरेको विद्यालयका प्रधानाध्यापक युगेश्वर राउतले आरोप लगाए । शिक्षकहरू सरुवा गरेको विरोधमा आइतबार बिहान सयौँको संख्यामा अभिभावक विद्यालय प्रांगणमा जम्मा भएका थिए । उनीहरूले गाउँपालिका प्रमुख अत्यन्त तानाशाही बन्न खोजेको भन्दै आलोचना गरे ।

यस विद्यालयमा १० कक्षासम्म पढ्ने चार सय ३५ र प्लस टुतर्फ ४२ जना विद्यार्थी रहेको विद्यालय प्रशासनले जनाएको छ । यहाँ ०६५ बाट शिक्षा संकायमा कक्षा ११ र १२ सञ्चालनमा आएको थियो । ‘स्कुलको दरबन्दीमा मुस्किलले कक्षा ११ र १२ सञ्चालन गरेका थियौँ,’ प्रधानाध्यापक राउतले भने, ‘ती सबै शिक्षकलाई अन्यत्र पठाई यहाँ सञ्चालन भएको ११ र १२ कक्षा बन्द गराउन गाउँपालिका प्रमुख लागिपर्नुभएको छ ।’ 

पाँचजना शिक्षकको एकैपटक सरुवापछि कक्षा १२ सम्मको पढाइ अन्योलमा परेको अभिभावकहरूले गुनासो गरे । प्रधानाध्यापक राउतले पहिला पनि गाउँपालिकाले शिक्षकहरूको तलब निकासा रोकेर दुःख दिएको बताए । 

सहयोग माग्दा बन्द गर्न दबाब 
गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहसँग यसअघि पनि कक्षा ११ र १२ का लागि सहयोग गरिदिन आग्रह गर्दा क्याम्पस बन्द गर्न दबाब दिने गरेको उनीहरूको आरोप छ । 

स्थानीयसमेत रहेका रामपदारथ साहले शिक्षा क्षेत्रमा भएको अनियमितता बाहिर ल्याएकै कारण शिक्षक सरुवा गरिएको बताए । अनेक बहानामा जनप्रतिनिधि शिक्षक र शिक्षा क्षेत्र तहसनहस पार्ने खेलमा लागेकोे उनले आरोप लगाए । विद्यालयका संरक्षक चौधरीले गाउँपालिका अध्यक्षले विद्यालयको भौतिक संरचना निर्माणमा कमिसन दिन नसक्ने भन्दा विद्यालयबाट संरक्षकका रूपमा रहेको नामसमेत मेटाइदिने धम्की दिने गरेको दाबी गरे ।

सुझावित समाचार