एनएमबि बैंकले जुनसुकै समयमा सापटी दिने

मंगलबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

एनएमबि बैंकले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको छ । बैंकले ‘एनएमबि सापटी’ नाम दिएर कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपविना डिजिटल रूपमै गर्न सकिने सेवा सुरु गरेको हो । 

यो सेवा नेपालमै पहिलोपटक भएको र यसले चौबिसै घन्टा र सातै दिन पूर्ण स्वचालित रूपमा कर्जा प्रदान गरिने सेवा रहेको बैंकले जनाएको छ । यस सेवामा बैंकसम्म नधाईकनै मोबाइलको प्रयोगबाट सेवा प्राप्त गर्न सकिने जनाइएको छ । 

एनएमबि सापटी ग्राहकको व्यक्तिगत र आपत्कालीन वित्तीय आवश्यकताको परिपूर्तिका लागि प्रदान गरिने एक छोटो अवधिको धितोविनाको व्यक्तिगत कर्जा भएको जनाइएको छ । योजनाअनुसार एनएमबिमा तलब खाता भएका तलबी कर्मचारीलाई १ लाख रुपैयाँसम्मको कर्जा प्रदान गरिने बैंकले जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले शून्य म्यानुअल हस्तक्षेपका साथ सम्पूर्ण कर्जाको सुरुदेखि अन्त्यसम्मको प्रक्रियाले ग्राहकलाई कर्जा प्राप्त गर्न कुनै पनि समय, जुनसुकै स्थानबाट सजिलो मात्र नबनाई कागजविहीन कार्य वातावरणप्रति बैंकको प्रतिबद्धताअनुसार काम गरिएको बताए ।

सुझावित समाचार