गाउँको हालखबर बुझ्न बस्तीपिच्छे मोबाइल

मंगलबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चेमा स्थानीयको हालखबर बुझ्न र सूचना आदानप्रदान गर्न मोबाइल वितरण गरिएको छ । वडाध्यक्ष प्रताप लामाले बस्ती–बस्तीमा सिमसहितको मोबाइल किनेर वितरण गरेका हुन् ।

स्थानीयको हालखबर बुझ्न र वडाको गतिविधि सम्प्रेषण गर्न व्यक्तिगत खर्चमा १५ मोबाइल वितरण गरेको उनले बताए । दीपु, सांलुङ, तिलामाराङ, सुञ्चगाउँ, नाम्फा, निम्लुङ, गोल्चे, लिदी, किप्चे र सिन्दुर्चेमा मोबाइल सेट वितरण गरिएको उनले बताए ।

मोबाइल बोक्ने स्थानीयले वडासमक्ष बस्तीको हालखबरबारे दैनिक जानकारी दिने गरेका छन् । सिफारिसलगायत जरुरी काम पर्दा एक दिनअगावै स्थानीयले वडाबाट वितरित मोबाइल बोक्ने छिमेकीसँग कुरा गरेर मात्रै वडा कार्यालय आउने व्यवस्था गरिएको छ । 

सबै बस्तीमा जनप्रतिनिधि जान असम्भव भएकाले मोबाइलबाटै सेवासुविधा र सूचनाबारे वडा कार्यालय र प्रत्येक बस्तीबीच छलफल हुने गरेको उनले बताए । दीपु र सांलुङका बासिन्दालाई वडा कार्यालय पुग्न दुई दिन हिँड्नुपर्छ । अन्य बस्ती पुग्न पनि घन्टौँ हिँड्नुपर्ने भएकाले मोबाइल वितरण गरिएको उनको भनाइ छ । 

See More On

सुझावित समाचार