वृद्ध नेताकै काँधमा अमेरिकाको भविष्य : राष्ट्रपति निर्वाचनमा ट्रम्प र वाइडेनबीच कडा टक्कर

मंगलबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा आज राष्ट्रपतिको निर्वाचन हुँदै छ । ३ नोभेम्बरका दिन निर्वाचन हुने भए पनि सोमबारसम्म नौ करोड अमेरिकनले मतदान गरिसकेको बिबिसीले जनाएको छ । अहिलेसम्म ६८ प्रतिशत अमेरिकनले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् । 

राष्ट्रपतिको चुनावी मैदानमा दुई उम्मेदवार छन् । यसपटक पनि डेमोक्रेटिक पार्टीका जो वाइडेन तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । ट्रम्प दोस्रोपटक तथा वाइडेन पहिलोपटक राष्ट्रपति हुने आकांक्षा राखेका छन् । ट्रम्प ७४ वर्ष र वाइडेन ७८ वर्षका छन् । दुवैमध्ये जो निर्वाचित भए पनि अमेरिकाको भविष्य बुढा नेताकै काँधमा पर्ने देखिन्छ । ट्रम्प वर्तमान राष्ट्रपति हुन् । उनी दोस्रो कार्यकाल दोहोर्याउन चाहन्छन् । 

अर्का उम्मेदवार वाइडेन बाराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति थिए । उनी पहिलोपटक राष्ट्रपतिका प्रत्यासी बनेका हुन् । त्यसैले राष्ट्रपतिको चुनावमा के कस्तो रणनीति अख्तियार गर्नुपर्छ भन्नेमा दुवै उत्तिकै सशक्त छन् । वाइडेनले आफ्नो चुनावी सम्बोधनमा अमेरिकन नागरिकलाई खुसी पार्ने सामान्य रणनीति मात्र अपनाएका छन् । उनले निकै सरल रूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आप्mनो प्रमुख अस्त्र बनाएका छन् । 

ट्रम्प भने आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् । अघिल्लोपटकको चुनावमा अमेरिकालाई पुनः एकपटक महान् बनाउनुपर्छ भन्ने उनको चुनावी नारा थियो । यसपटक पनि उनले कोरोना भाइरसमाथि अमेरिकाले जित निकाल्ने र अमेरिका फेरि महान् बन्ने नारा अघि सारेका छन् । राष्ट्रपतिका दुवै प्रत्यासीले सबै सभामा कोरोना केन्द्रित रही भाषण दिएका छन् । वाइडेनले ट्रम्पको असफल नीतिकै कारण अमेरिकामा कोरोना संक्रमण फैलिएको आरोप लगाइरहेका छन् । तर, ट्रम्पले भने मास्क नै नलगाई अमेरिकन जनताले कोरोनामाथि जित निकाल्ने दाबी गरिरहेका छन् । 

सर्वेक्षणमा वाइडेन अगाडि
डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेन चुनावी मत सर्वेक्षणमा अगाडि देखिएका छन् । रिपब्लिकनका उम्मेदवार तथा वर्तमान राष्ट्रपति ट्रम्प सर्वेक्षणमा वाइडेनभन्दा १० प्रतिशतले पछाडि छन् । एनबिसी न्युज तथा वालस्ट्रिट जनरल पोलले चुनावअघि गरेको सर्वेक्षण आधारमा वाइडेन अगाडि देखिएका छन् । सर्वेक्षणअनुसार वाइडेनले ५२ प्रतिशत तथा ट्रम्पले ४२ प्रतिशत मत पाएका छन् । 

एनबिसी न्युज तथा वालस्ट्रिट जनरल पोलले दुई साताअघिसम्म गरेको सर्वेक्षणमा वाइडेन ११ प्रतिशतले अगाडि थिए । पछिल्लो २० वर्षयता राष्ट्रपतिका उम्मेदवारले विपक्षीमाथि प्राप्त गरेको अग्रताको प्रतिशत यो नै बढी हो । राष्ट्रव्यापी मत सर्वेक्षणमा वाइडेन अगाडि रहे पनि चुनावी परिणामबारे यसै भन्न नसकिने डेमोक्रेटिकका पिटर हार्टले बताएका छन् । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनले सर्वेक्षणमा ४४ प्रतिशत तथा ट्रम्पले ४२ प्रतिशत मत पाएका थिए । तर, निर्वाचनको अन्तिम मतपरिणाम घोषणा हुँदा ट्रम्पले बाजी मारे । 

राष्ट्रव्यापी मत सर्वेक्षणमा वाइडेन अगाडि रहे पनि चुनावी परिणामबारे यसै भन्न सकिने अवस्था भने छैन । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनले सर्वेक्षणमा ४४ प्रतिशत तथा ट्रम्पले ४२ प्रतिशत मत पाएका थिए । तर, निर्वाचनको अन्तिम मतपरिणाम घोषणा हुँदा ट्रम्पले बाजी मारे ।

यसरी चुनिन्छन् राष्ट्रपति
अमेरिकामा राष्ट्रपति चयन अन्य राष्ट्रमा भन्दा भिन्न छ । यहाँ प्रत्यक्ष खसेको बहुमतको आधारमा उम्मेदवार निर्वाचित हुँदैनन् । अमेरिकामा प्रत्यक्ष खसेको मतको आधारमा नभएर ती मतदाताहरूको प्रतिनिधिले खसालेको मत आधारमै राष्ट्रपति चयन हुन्छ । अर्थात् इलेक्टोरल कलेजको मतको आधारमा राष्ट्रपति चुनिन्छन् । इलेक्टोरल कलेज समूहमा पाँच सय ३८ व्यक्ति हुन्छन् । यो समूहका व्यक्तिले आधिकारिक रूपमा खसालेको मतले नै राष्ट्रपति र उपराष्ट्रपति चयन हुन्छन् । राष्ट्रपतिमा निर्वाचित हुन पाँच सय ३८ मध्ये दुई सय ७० इलेक्टोरल मत समर्थन आवश्यकता पर्छ । मतदाताहरूले आफ्नो मत प्रत्यक्ष रूपमा राष्ट्रपतिका उम्मेदवारलाई नखसालेर इलेक्टोर्सलाई राख्छन् । मतपत्रमा इलेक्टोर्सको नाम समावेश हुँदैन ।

कानुनअनुसार अमेरिकाको हरेक राज्यहरूले जनसंख्याको आधारमा इलेक्टोरल कलेजका लागि निश्चित इलेक्टोर्स तोकिएको हुन्छ । जनसंख्याको आधारमा क्यालिफोर्निया राज्य ठूलो छ । क्यालिफोर्नियामा ५५ इलेक्टोरल मत दिइएको छ । 

राष्ट्रपति निर्वाचनको नतिजा परिवर्तन गर्न सक्ने राज्य पनि छन् । फ्लोरिडा, जर्जिया, एरिजोना, आयोबा, मेन, मिसिगन, मिनेसोटो, नर्थ क्यारोलिना, नेभाडा, पेन्सिलभेनिया, न्यु ह्याम्पसायर, भर्जिनिया, टेक्सास र विस्कन्सन राज्यमा इलेक्टोरल संख्या धेरै छन् । विशेषतः यी राज्यहरूलाई ‘ब्याटल ग्राउन्ड’ भनिएको छ । अहिले ब्याटल ग्राउन्ड राज्यमा वाइडेन नै अगाडि छन् । मिसगन, पेन्सिलभेनिया र विस्कन्सनजस्ता औद्योगिक राज्यमा वाइडेनको वर्चस्व देखिन्छ । 

उम्मेदवारका स्वभाव

डेमोक्रेटिक र रिपब्लिकनबाट उठेका उम्मेदवार बिलकुलै फरक स्वभावका छन् । ट्रम्प सीधै औँला ठड्याएरै विपक्षीमाथि टिप्पणी गरिहाल्छन् । अमेरिकाकै एक सफल व्यापारी मानिने ट्रम्प जहिले पनि आर्थिक उन्नतितर्फ नै योजना बनाइरहेका हुन्छन् । वाइडेनको जति लामो राजनीति अनुभव ट्रम्पको छैन । ट्रम्पले चार वर्षमा खासै राम्रो विदेशी नीति नबनाएको आरोप छ । यो अवधिमा उनले मध्यपूर्वी एसिया, युरोप, चीन तथा उत्तर कोरियालाई तिखो शब्द प्रहारमा समय खर्चे । 

वाइडेन भने अनुभव प्राप्त राजनीतिज्ञ हुन् । विदेश नीतिमा राम्रो दख्खल राख्न सक्ने नेता मानिन्छन् । सामान्य नागरिकदेखि विश्वका ठूला नेतासँग घुलमिल हुन सक्ने बानी भएका वाइडेन समयअनुसार आफ्नो धारणा राख्न सक्छन् । यही सरल स्वभावका कारण यसपटक बढीजसो अमेरिकनले वाइडेनलाई मन पराएका हुन् । 

असफल नीतिकै कारण ट्रम्प अलोकप्रिय
चार वर्षअघि राष्ट्रपतिमा निर्वाचित हुँदा ट्रम्पले अमेरिकीलाई राम्रो सपना देखाएका थिए । व्यापारिक पृष्ठभूमि भएका राष्ट्रपतिले राष्ट्रलाई थप समृद्धितर्फ उन्मुख गराउने विश्वास सबैमा थियो । चार वर्षको कार्यकाल सकिँदा ट्रम्पको ख्याति उल्टै घटेको छ । उनले आफ्नो लोकप्रियता गुमाएका छन् । विशेषतः वैदेशिक तथा कोरोना भाइरसविरुद्धको नीतिकै कारण अमेरिकी जनताले ट्रम्पलाई मन नपराएको एजेन्सीहरूले जनाएका छन् । ट्रम्पले कोरोना भाइरस नियन्त्रण र संक्रमितको उपचार तथा भ्याक्सिन विकासलाई पहिलो प्राथमिकतामा नराखेका होइनन् । यी दुवै कार्ययोजनाका लागि उनले दश अर्ब डलर छुट्याएका छन् । तर, अहिलेसम्म भ्याक्सिन आउन सकेको छैन । कोरोनाबाट अमेरिकामा सवा दुई लाखले ज्यान गुमाएका छन् । अमेरिकामा कोरोना बढ्नुको मुख्य कारण लकडाउन नगर्नुलाई मानिएको छ । 

अर्का उम्मेदवार वाइडेनले भने सुरुदेखि नै राष्ट्रव्यापी रूपमा कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने, कम्तीमा दश राज्यमा परीक्षण तथा सबैलाई निःशुल्क परीक्षण गराउनुपर्ने, अमेरिकी जनताले अनिवार्य रूपमै मास्क लगाएर कोरोनाविरुद्ध लड्नुपर्ने धारण राख्दै आएका छन् ।

ट्रम्पले आफ्नो कार्यकालमा नागरिकलाई रोजगारको उचित व्यवस्था गराउने विश्वास दिलाएका थिए । उनले १० लाख नयाँ साना उद्योग स्थापना गरी मध्यमवर्गलाई राहत प्रदान गर्ने घोषणा नै गरे । तर, उनले यी दुवै काम गर्न सकेनन् । ट्रम्पले ठूला उद्योगी व्यापारीप्रति उदारता देखाए । धेरै कर लगाएनन् । वाइडेन भने यसको विपक्षमा रहे । वाइडेनले धेरै आम्दानी गर्ने व्यक्तिमाथि कर बढाउनुपर्ने माग राखेका छन् । धेरै कर प्राप्त हुँदा राज्यले सार्वजनिक क्षेत्रमा लगानी गर्न अवसर मिल्ने धारणा वाइडेनको छ ।

महँगो निर्वाचन
अमेरिकी राष्ट्रपतिको यो निर्वाचन अहिलेसम्मकै महँगो मानिएको छ । सन् २०१६ को तुलनामा यसपटक ५० प्रतिशतले निर्वाचन खर्च बढेको छ । यो निर्वाचनमा लगभग ११ बिलियन डलर खर्च भएको अनुमान सेन्टर फर रेस्पोन्सिभ पोलिटिक्सले गरेको छ । २०१६ को निर्वाचनमा ६.८ बिलियन डलर खर्च भएको थियो । 

– एजेन्सीहरूको सहयोगमा

सुझावित समाचार