कोजाग्रत पूर्णिमाको अवसरमा नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनले ‘भावातीत अनुभूति’ भजनसंग्रह बजारमा ल्याएको छ । शनिबार जुमबाट भर्चुअल कार्यक्रम गरी उक्त भजनसंग्रह लोकार्पण गरिएको हो । भजनसंग्रह साउन्डमिल स्टुडियोमार्फत बजारमा आएको हो ।
संस्थाका अध्यक्ष कल्पना सेवानी घिमिरेको अध्यक्षता र नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाको प्रमुख आतिथ्यमा विभिन्न संघसंस्थाका पदाधिकारी, पत्रकार तथा भक्तिसंगीतका अनुरागीबीच उक्त भजनसंग्रह लोकार्पण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष बास्कोटाले महर्षि अभियानअन्तर्गत मातृशक्तिहरूको संस्थाद्वारा गरिएको कार्यको सराहना गर्दै संस्थाद्वारा यस्ता कार्यको निरन्तरताको अपेक्षा गरे । संस्थाका अध्यक्ष घिमिरेले बाह्र वर्षदेखिको सपना पूरा भएकोमा खुसी व्यक्त गरेकी थिइन् ।
भजनसंग्रहमा ११ भजन रहेका छन् । कल्पना सेवानी घिमिरेको शब्द तथा रामकुमार रिमालको लयमा वरिष्ठ गायक शिव परियारको स्वर रहेको छ । घिमिरेका साथै सुधीर अधिकारी, मीनराज अधिकारी, कल्पना अधिकारी, शिला पन्त र शिवराज लामिछानेलगायतका शब्द रहेको संग्रहमा सुधीर अधिकारी, करणराज कार्की र रामकुमार रिमालल संगीत दिएका छन् ।
भजनहरूमा सजल न्यौपाने, मेचु धिमाल, लाबोनी चक्रवर्ती, करणराज कार्की, बुनु श्रेष्ठ, रामकुमार रिमाल, रीता केसी र श्रेया नेपालका साथै बालगायिका अनुश्री अधिकारी, आरोहा पौडेल, स्वागता सुवेदी तथा अभिश्री अधिकारीललगायतले स्वर दिएका छन् ।