अलैँचीको मूल्य निरन्तर खस्कँदो

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

‘कालो सुन’को नामले परिचित अलैँचीको मूल्य निरन्तर खस्कँदै गएको छ । विदेशी बजारमा निर्यात हुनेमध्येको ठूलो हिस्सा ओगट्ने अलैँचीको मूल्य पाँच वर्षयता निरन्तर ओरालो लाग्दै आएको छ । 

कुनै वेला प्रतिमन एक लाखभन्दा बढीमा बिक्दै आएको अलैँची पछिल्लो समय २० देखि २३ हजारमा बिक्दै आएको नेपाल अलैँची व्यवसायी महासंघले जनाएको छ । ४३ जिल्लामा विस्तार भएको अलैँची खेती सबैभन्दा बढी पूर्वको ताप्लेजुङमा फल्छ । गुणस्तरका हिसाबले संखुवासभा पहिलो रहेको महासंघले जनाएको छ । अलैँचीको कारोबार हुने हिसाबले झापाको बिर्तामोड प्रमुख व्यापारिक केन्द्र हो ।  

सुरुमा विराटनगरको रानी भन्सारबाट भारततर्फ निर्यात हुँदै आएको भए पनि व्यवसायीको सहजताका आधारमा पछिल्लो समय पूर्वी नाका काँकडभिट्टाबाट अलैँची भारत हुँदै तेस्रो देशमा निर्यात हुने गरेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीले बताए । नेपालबाट बर्सेनि चार अर्बभन्दा बढीको अलैँची भारततर्फ निकासी हुँदै आएको छ ।

अलैँची उत्पादन भएर भदौदेखि मंसिरसम्म बजारमा आइपुग्छ । तर, यही अवधिमा मूल्य घट्दा किसानमा निराशा छाएको उनी बताउँछन् । ‘कुनै वेला प्रतिमन एक लाख २० हजारसम्म बिक्री भएको थियो । पाँच वर्षयता मूल्य घट्दै २० देखि २३ हजारमा आइपुगेको छ,’ उनी भन्छन्, ‘जसले व्यापारीदेखि किसानसम्ममा निराशा छाएको छ । यति ठूलो परिमाणमा निर्यात हुने अलैँचीको व्यापार खस्कन नदिन राज्यले पनि ध्यान दिओस् ।’ 

नेपाली बजारमा अलैँचीको मूल्य प्रतिकेजी पाँच सय हुँदा पनि भारतीय भन्सारले न्यूनतम मूल्य आठ सय तोक्दा मूल्यमा थप गिरावट आएको अध्यक्ष कार्कीले बताए । भारतीय भन्सार दरलाई पुनर्मूल्यांकन गर्न सरकारसँग उनले माग गरे । ‘नेपालमा अलैँचीको मूल्य पाँच सय हुन्छ । तर, उता (भारतीय भन्सार)ले भारु पाँच सय टिएसटी तोकेको छ । प्रतिकेजी चार हजारसम्म पर्ने सुकमेलको न्यूनतम भन्सार मूल्य पनि भारु पाँच सय नै छ । भन्सारको न्यूनतम मूल्य घटाउँदा पनि केही फरक आउँछ । हाम्रो अलैँची भारतीय व्यापारीले नै किन्ने हुन् । तर, उसले भन्सारमा तिर्ने मूल्य यता मार्जिन राख्छ । यसबारे नेपाल सरकारले भारतसँग वार्ता गर्नुपर्छ । यसो गर्दा दुई–तीन हजार भए पनि मूल्य बढ्छ ।’ 

बंगलादेशले नेपाली अलैँचीमा लगाएको ३५ प्रतिशत भन्सारका कारण पनि मूल्य कम हुन आएको उनले बताए । ‘बंगलादेशले भुटानको अलैँचीमा भन्सार लगाउँदैन । नेपालीलाई ३५ प्रतिशत लगाउँछ । नेपालीमा पनि भन्सार नलगाउने परिस्थिति बनाउने गरी छलफल भइरहेको थियो,’ अध्यक्ष कार्कीले भने, ‘परिस्थिति यस्तै रह्यो । अब सरकारी स्तरबाट वार्ता हुनुपर्छ ।’ 

सरकारले नेपाली अलैँचीलाई ‘ब्रान्डिङ’ गर्न नसक्दा पाँच वर्षयता निरन्तर मूल्य घटेको उनले बताए । यति ठूलो परिमाणमा निर्यात हुने कृषि उत्पादनप्रति सरकारको बेवास्ताका कारण समस्या आएको व्यवसायीको निष्कर्ष छ ।

कुनै वेला निकै राम्रो मानिएको अलैँचीको बजार सुध्रन सकेको छैन । तर, पछिल्लो समय सुकमेलले अलैँचीको बजार क्रमशः विस्थापित गर्दैै आएको महासंघ अध्यक्ष कार्कीले बताए । ‘अहिले सुकमेलको बजार आक्रामक छ । प्रतिकेजी चार हजारसम्म पर्छ,’ उनले भने, ‘अलैँचीलाई सुकमेलले विस्थापित गर्दै छ ।’ 

आन्दोलनमा उत्रने चेतावनी
पहाडी जिल्लाका कृषकको मुख्य आम्दानीको स्रोत अलैँचीको बजारीकरणका लागि राज्यले ध्यान नदिएको व्यवसायीको आरोप छ । बजारीकरणसँगै राज्यले कृषकलाई अलैँची उत्पादनका लागि सहयोग नगर्दा समस्या आएको महासंघ अध्यक्ष कार्कीले बताए । 

सरकारले अहिलेसम्म अलैँचीको न्यूनतम समर्थन मूल्य नतोक्दा पनि समस्या भएको उनले बताए । ‘राज्यले कृषकलाई प्रोत्साहन गर्नका लागि पनि न्यूनतम समर्थन मूल्य नतोक्दा समस्या भएको छ । देशमा ६ अर्बको अलैँची प्रत्येक वर्ष उत्पादन हुन्छ । अन्तर्राष्ट्रिय बजारमा बिक्न नसके यति त राज्यले पनि खरिद गरिदिनुप¥यो नि !’ अध्यक्ष कार्कीले भने । अलैँचीको मूल्यमा सुधार गर्न राज्यले चासो नदिए आन्दोलनमा उत्रने उनले चेतावनी दिए । ‘हामीले शान्त ढंगबाट माग राखिरहेका छौँ । सरकारले केही पनि गरेको छैन,’ उनले भने, ‘अब मंसिरसम्म पनि यस्तै रहे कृषक र व्यवसायी भएर सिंहदरबार घेराउ गर्छौँ ।’

गत वर्षको तुलनामा निर्यात बढ्यो
पछिल्लो तीन वर्षयता सहज अवस्थामा मेची भन्सारबाट मात्र अलैँची भारततर्फ निकासी हुँदै आएको छ । मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माका अनुसार अलैँची मेची भन्सारबाट निर्यात हुनेमध्ये गत वर्ष सबैभन्दा धेरै निर्यात भएको नेपाली उत्पादन हो ।

चालू आर्थिक वर्षको तीन महिनामा भने निर्यात हुनेमध्येको दोस्रो अलैँची हो । तर, तुलनात्मक रूपमा चालू आर्थिक वर्षको तीन महिनामा गत वर्षभन्दा धेरै अलैँची निर्यात भएको भन्सार प्रमुख विश्वकर्माले बताए । उनका अनुसार चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा पूर्वी नाका भएर १८ लाख ३६ हजार केजी अलैँची भारततर्फ निकासी भएको छ । जसको बजार मूल्य एक अर्ब ४६ करोड ८६ लाख ४७ हजार हुन आउने भन्सार प्रमुख विश्वकर्माले बताए । यही अवधिमा गत आर्थिक वर्षमा १५ लाख ९७ हजार किलो अलैँची निकासी भएको थियो । जसको मूल्य  एक अर्ब २८ करोड ६९ लाख ११ हजार हुन आउँछ ।

See More On

सुझावित समाचार