तातोपानीमा १६० परिवारका लागि चार धारा

शनिबार, १५ कार्तिक, २०७७
डिजिटल संस्करण

दैनिक चार घन्टा लाइनमा बस्नुपर्ने बाध्यता, पालो पर्खंदापर्खंदै सधैँजसो झगडा

जुम्लाको तातोपानी गाउँपालिका–२ जर्मीगाउँमा खानेपानी भर्नका लागि दैनिकजसो झगडा हुने गरेको छ । यहाँका एक सय ६० परिवारका चारवटा मात्रै धारा हुँदा दैनिक झगडा हुने गरेको हो । 

तिनै धारामा पनि सानो पानी आउँछ । पानी भर्नका लागि चार घन्टा पालो पर्खनुपर्छ । पालो पर्खने विषयमा सधैँजसो विवाद हुने गरेको स्थानीय वीर बुढाले बताए । ‘धारोमा सानो पानी आउँछ, जनसंख्या धेरै छ । अनि पानी भर्ने विषयमा विवाद हुन्छ । कहिलेकाहीँ त कुटाकुटसम्म पुग्छ,’ बुढाले भने । 

१२ कात्तिकमा पनि पानीको विषयमा झगडा भयो । पानी भर्न खोज्दा दुई बालबालिकाबीच विवाद भयो । त्यसैले परिवारजनबीच झगडाको रूप लियो । त्यस्तै, १० कात्तिकमा पनि पानी भर्ने विषयमै झगडा भएको थियो । दसैँको टीका लगाउनअघि पानी भर्ने विषयमै झगडा भएको बुढाले बताए । ‘भनाभन त हरेक दिन हुन्छ, अब त बानी परिसक्यो,’ उनले भने । 

स्थानीय सरकार बनेपछि अन्य गाउँमा घरघरमा धारा पुगे पनि जर्मीगाउँमा भने धारा थपिएको छैन । जनप्रतिनिधिसँग धारा थप्न आग्रह गरे पनि वास्ता नगरेको स्थानीय बासिन्दाको गुनासो छ । पानीकै विषयमा झगडा हुँदा कुन दिन ठूलो घटना हुन्छ भन्ने चिन्ता रहेको उनको भनाइ छ । 

यो गाउँमा एक सय ६० परिवार छन् । उनीहरूका लागि गाउँमा चारवटा मात्रै धारा छन् । धारामा पानी पनि कम आउने भएकाले भर्न समय लाग्ने गरेको छ । जसले गर्दा घन्टौँ पालो पर्खनुपर्ने बाध्यता रहेको छ । ‘घरघरमा धारा पु¥याउन नसकिएला, केही धारा त थप्न सकिन्छ,’ बुढाले भने । 

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने चालू आर्थिक वर्षभित्रै जर्मीगाउँलगायत वडा नं. २ का सबै घरमा पानी पुर्याउने बताए । ‘स्थानीय सरकारको पहिलो वर्षमै एक करोड विनियोजन गरी घरघरमा धारा पु¥याउने लक्ष्य थियो । तर, धौलिघाट बृहत् खानेपानी आयोजनाको पानी आएपछि दोहोरिन सक्ने भएकाले रोक्यौँ,’ अध्यक्ष न्यौपानेले भने, ‘पानीको समस्या चुलिँदै गएपछि प्रदेश सरकारलाई माग गरेका छौँ ।’

यही वर्ष धारा निर्माणका लागि बजेट पनि आएको उनले बताए । तातोपानी–२ जर्मीगाउँकै लागि ३० लाख बजेट आएको उनको भनाइ छ । ‘धेरै पहलपश्चात् प्रदेश सरकारबाट क्रमागत खानेपानी योजना परेको छ । चालू आर्थिक वर्षमै खानेपानी समस्या समधान गर्न वडा सरकारसँग समन्वय गरी अघि बढ्छौँ,’ उनले भने । 

See More On

सुझावित समाचार