कोरोना संक्रमण पुष्टि भएपछि उपचाररत बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनालाई छिट्टै परास्त गर्ने बताएका छन् ।
आफ्नो फेसबुकमा लेख्दै मुख्यमन्त्री पौडेलले कोरोनालाई छिट्टै परास्त गरेर नियमित काममा फर्किने बताएका हुन् । कोरोनालाई सामान्य रूपमा नलिई सबै सहज, सतर्क रहन उनले आग्रह गरेका छन् ।
गत बिहीबार उनीसहित उनकी पत्नी विजया, एकजना अंगरक्षक, दुईजना निजी चालक र निजी निवासमा कार्यरत एकजना कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएपछि ७ कात्तिकमा सेनाको हेलकोप्टरबाट मुख्यमन्त्री पौडेल र उनको पत्नीलाई काठमाडौं लगिएको थियो ।
हाल श्रीमतीसहित उनी गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उपचाररत छन् । आफ्नो स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताउँदै उनले सामाजिक दूरीसहित अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरे ।
गत वर्ष उनको मुटुको एन्जिओप्लास्टी गरिएकोले स्वास्थ्य अवस्था गम्भीर नभए पनि गंगालालमा उपचारका लागि लगिएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।