पूर्वसभासद् रामहरि खतिवडाले गृहजिल्ला ओखलढुंगाका गाउँमा गुर्जो खेती विस्तारका लागि बेर्ना वितरण गरेका छन् । दसैँ मनाउन गृहजिल्ला आएका कांग्रेसका नेता खतिवडाले मानेभञ्ज्याङ गाउँपालिकाका सबै वडामा गुर्जो खेतीका लागि बेर्ना वितरण गरेका हुन् ।
रोगप्रतिरोधात्मक क्षमता बढाउने जडीबुटीका रूपमा लिइने गुर्जो कोरोनाबाट बच्नका लागि समेत उपयोगी हुने भएकाले मानेभञ्ज्याङका दुई हजार सात सय तथा सुनकोसी र सिद्धिचरणका विभिन्न वडामा तीन सय गरेर तीन हजार बिरुवा रोपिने खतिवडाले बताए ।
उनले गुर्जो खेती विस्तारका लागि गाउँपालिकाका नौवटै वडामा तीन-तीन सयका दरले वितरण गरेको बताए ।
‘गुर्जो निकै नै उपयोगी जडीबुटी रहेछ । खेती विस्तार गरेर उब्जाउ गराउने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधिमार्फत गाउँगाउँमा गुर्जोका बिरुवा पठाएँ,’ खतिवडाले भने, ‘अहिले म गाउँगाउँमा कोरोनाको कहर झेलिरहेका जनताका बीचमा छु । कोरोनाको ओखती छैन । जडीबुटीमै बल गरौँ भनेर काठमाडौंको नर्सरीबाटै गुर्जोका बिरुवा ल्याएर गाउँमा रोप्नका लागि दिएँ ।’
गाउँपालिकाका अध्यक्ष मोतीराज राईलाई नेता खतिवडाले गाउँपालिकाका सबै वडामा जडीबुडी खेती गर्न सुझाब दिँदै बिरुवा वितरण गरे ।
अध्यक्ष राईले सबै नागरिकलाई स्वस्थ रहन र रोगप्रतिरोधात्मक क्षमता बढाउन जडीबुटीजन्य पदार्थको सेवन गर्ने बानीको विकास गराउन आफूहरू लागेको बताए ।