हुम्ला एक वर्षदेखि बिग्रिएकाे भि-स्याट फोन सेवा मर्मत नहुँदा नेप्का गाउँका बासिन्दा मर्कामा परेका छन् ।
चखेली गाउँपालिका- ५ स्थित नेप्का गाउँमा रहेको भि-स्याट फोन बिग्रिएपछि एक दिनको पैदल हिँडेर गाउँपालिका पुग्न बाध्य भएका हुन् ।
जिल्लाभन्दा बाहिर रहेका आफन्तसँग कुराकानी गर्न एक दिन पैदल हिँडेर गाउँपालिका केन्द पिप्लाङ पुग्ने गरेको स्थानीय बिर्खबहादुर तामाङले जानकारी दिए ।
सदरमुकाम सिमकोटमा रहेका छोरीहरूसँग कुरा गर्न दिनभर पैदल हिँडेर कुराकानी गर्न गरेको उनको दुखेसो छ।
तामाङले भने, ‘सुरुमा भिसियट फोन हुँदा पालो कुरेर पनि कुरा हुन्थ्यो । एक वर्षदेखि भि-स्याट फोनले काम गर्न छाडेपछि गाउँपालिका केन्द्र पिप्लाङ पुग्नुपर्छ ।’
वर्ष दिनदेखि बिग्रिएको फोन मर्मत नहुँदा नेपालगन्जमा रहेकी छोरीसँग कुरा गर्नसमेत नपाएको अर्का स्थानीय अन्दु तामाङले गुनासो गरे ।
चुनावका वेला भोट माग्दा नेताहरूले सबै समस्या समाधान गर्ने बताउँछन् । तर, चुनाव सकिएपछि उनीहरू फर्केर नआउने गरेको स्थानीयको गुनासो छ ।
स्थानीय हर्कधन तामाङले भने, ‘चुनाव जितेपछि गाउँका लागि न त विकास गरे, न त टेलिफोनको टावर नै राखे ।’