गस्तीमा गएका प्रहरी चौकी इन्चार्जको हत्या, जवान बेपत्ता

आइतबार, २ कार्तिक, २०७७
डिजिटल संस्करण

गस्तीमा गएका धनगढी उपमहानगरपालिका– १२, जुगेडास्थित अस्थायी प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक मृत फेला परेका छन् । 

उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन् ।

विकको शव नेपाल–भारत सीमामा बग्ने मोहना नदीमा केही बेर अघि फेला परेको छ । गर्धनमा धारिलो हतियारको चोट रहेकाले उनको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले घटनास्थल र शवको प्रकृति हेर्दा हत्या भएको देखिने बताए ।

सीमा क्षेत्र भएकाले तस्करसँगको भिडन्तमा  हत्या भएको हुन सक्ने प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए । 

स्थानीयका अनुसार खुला सिमाना भएकाले यो नाकाबाट अवैध रूपमा तस्करी हुँदै आएको छ । यो तस्करीको मुख्य नाका हो । 

शव फेला परेको स्थान प्रहरी चौकीबाट करिब तीन किलोमिटरको दूरीमा छ । गस्तीमा जाँदा उनीहरू चढेको मोटरसाइकल प्रहरी चौकीबाट करिब एक किलोमिटरको दूरीमा फेला परेको छ ।

उखुबारीमा रगत भेटिएकाले त्यहाँ हत्या गरेर नदीमा लास फालेको प्रहरीको अनुमान छ । हिजो शनिबार राति साढे आठ बजे गस्तीमा गएका दुवैजना साढे १० बजेपछि सम्पर्कविहीन भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीसहितको प्रहरीको टोली यतिवेला घटनास्थल पुगेको छ । 

प्रहरी जवान साउदको अवस्था अज्ञात छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनास्थल आसपासको बस्तीमा खानतलासी सुरु गरेको छ । 

तालिमप्राप्त कुकुरसहितको टोली खटिएको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीको टोली पनि घटनास्थल नजिक सीमा क्षेत्रमा पुगेको छ ।

सुझावित समाचार