घटना–१
२४ असोजमा झापा कमल गाउँपालिका–२ का रामजी थापा (३४ वर्ष)ले सामान्य विवादमा धारिलो हतियार प्रयोग गरी २४ वर्षीया श्रीमती रीताको हत्या गरे । वैदेशिक रोजगारीबाट केही समयअघि मात्र आएका रामजी र उनकी श्रीमतीको बारम्बार झगडा हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
घटना–२
४ साउनमा झापा गाउँपालिका–३ कामाटालीका ७० वर्षीय साइँला टुडुलाई २४ वर्षीय छोरा सुनीलले हत्या गरे । मादक पदार्थ सेवन गरेका सुनीलले धारिलो हतियार प्रहार गर्दा बाबुको घटनास्थलमै मृत्यु भयो ।
घटना–३
१२ असोजमा कमल–१ का भीमबहादुर भण्डारीले श्रीमती मनमायालाई दुवै हात बाँधेर हत्या गरे । कोही नभएको घरमा पु¥याएर हत्या गरेपछि उनी आफैँले श्रीमती मृत भेटिएको बताउँदै प्रहरीलाई खबर गरेका थिए । उनले हत्या स्वीकार गरेका छैनन् । तर, हालसम्म प्राप्त प्रमाणका आधारमा उनले नै हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइराला बताउँछन् ।
घटना–४
कमल–७ ठूलो बाह्रघरेका २३ वर्षीय दिनेश ऋषिदेवले २८ भदौमा ४५ वर्षीया आमा मीराको हत्या गरे । मादक पदार्थ सेवन गरेर घर आएका दिनेशले सामान्य विवादमै आमालाई बन्चरो प्रहार गरेका थिए ।
तीन महिनायता मात्र झापामा सातजनाको हत्या भएको छ । तीमध्ये चारजनालाई आफन्तले नै हत्या गरेका छन् । अन्य तीनमध्ये दुईजनालाई नजिकका साथीले हत्या गरेको एसपी कोइराला बताउँछन् । गत आर्थिक वर्ष ०७६/७७ मा जिल्लामा १३ जनाको हत्या भएको थियो । गत वर्षको तुलनामा चालू आवमा हत्या संख्या बढेको एसपी कोइराला बताउँछन् । ‘तुलनात्मक रूपमा हत्या भएको अनुपात बढेको देखिन्छ । तर, यही आधारमा संख्या बढ्छ भन्न मिल्दैन,’ उनी भन्छन् ।
एसपी कोइरालाका अनुसार चालू आवमा भएका हत्यामध्ये अधिकांशमा आफन्त नै संलग्न देखिएका छन् । घरभित्रका समस्याले हत्याको रूप लिएको अनुसन्धानका क्रममा खुल्ने गरेको उनी बताउँछन् । ‘पारिवारिक बेमेल र विवाद हत्यासम्म पुग्ने गरेका छन् । एउटा घटना लागुऔषधले परिवार आजित भएर विवाद आउँदा पनि भएको देखियो,’ उनी भन्छन्, ‘कमल गाउँपालिकामा श्रीमतीको हत्या भएको घटना श्रीमान् वैदशिक रोजगारीबाट आएदेखि नै विवाद भएको र माइती पक्षले मिलाएर पठाएपछि हत्या भएको देखिन्छ ।’ त्यसमा वैदेशिक रोजगारीलाई कारण मान्न नसकिने उनको विश्लेषण छ ।
गाँजा नदिँदा साथीको हत्या
यस्तै, कन्काई नगरपालिकामा गाँजा नदिँदा साथीको हत्या भएको खुलेको छ । कन्काई–३ का २२ वर्षीय अभिषेक चौधरीलाई उनकै साथी रविन राजवंशीले हत्या गरेको खुलेको हो । अभिषेकको शव बुधबार कन्काई–३ स्थित सुरुंगा खोलामा फेला परेको थियो । उनलाई गाँजा नदिएको निहुँमा बन्चरो प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
चौधरीले रविनलाई एक सय रुपैयाँ दिएर गाँजा किन्न पठाएका थिए । रविनले पनि गाँजा मागेपछि चौधरीले गाली गरेको खुल्न आएको डिएसपी रिजाल बताउँछन् । उनका अनुसार त्यसपछि उनी घरमा गई बन्चरो बोकेर चौधरीलाई पछ्याउँदै आएको खुलेको छ । रविनले अभिषेकको हत्या गरेको प्रहरीसँग स्विकारेका छन् ।