नेप्से छैटौँ कारोबारमा सीमान्त दरले सुधार भएको छ । साताको अन्तिम दिन सेयर बजार १ दशमलव २९ अंकले बढेको हो । अर्थमन्त्रीका रूपमा विष्णु पौडेलले जिम्मेवारी सम्हाले पनि बिहीबार बजारमा यसको ठूलो प्रभाव भने देखिएन । यद्यपि, बजार घट्न रोकिन सक्ने संकेत भने देखिएको छ । यसबाहेक नेप्से १ हजार ५ सय ६० बिन्दुमा पुगेर बढ्ने गरिरहेको छ । बिहीबारको अन्तरदिनको कारोबारमा पनि यस्तै देखिएको छ ।
बजार बढे पनि अझै बजारले स्पष्ट दिशा भने देखाएको छैन । बिहीबार नेप्से १ हजार ५ सय ८० बिन्दुसम्म पुगेको भए पनि वृद्धि खुम्चिएर बजार बन्द भयो । नेप्सेको मैनबत्ती चित्रमा इन्भर्टेड ह्यामर आकृति बनेको छ । यसको माथिल्लो धागो भने केही लामो छ । यसले बजार घट्न रोकिने संकेत त गर्छ तर यो दरिलो संकेत भने होइन । बजार बढ्ने सुनिश्चितताका लागि आइतबारको कारोबार हेर्नु सही हुन्छ ।
यस दिन सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयरहरूको कारोबारमापक सूचक फ्लोट परिसूचक बढेको छ । बैंकिङ, ट्रेडिङ, हाइड्रोपावर, सामूहिक लगानी कोष र ‘अन्य’ समूहगत परिसूचक भने बढेको छ । शिवम् सिमेन्टले २४ दशमलव २१ प्रतिशत नगद लभांशको घोषणा गरेको छ । कम्पनीको सेयर मूल्य भने २ रुपैयाँले बढेर ७ सय ५८ रुपैयाँ पुगेको छ ।
हालको मूल्यका आधारमा भने लगानीकर्ताको प्रतिफल साढे ३ प्रतिशत मात्र हुनेछ । कारोबार रकमका आधारमा यही कम्पनी दोस्रो स्थानमा छ । कम्पनीको ६ करोड ८४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यस दिन बजार बढे पनि कारोबार रकममा खासै सुधार भएको छैन ।
बजारमा १ सय ९६ धितोपत्र तथा ऋणपत्रको कारोबार हुँदा १ अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । ८० कम्पनीको सेयर मूल्य घट्दा ६६ कम्पनीको मूल्य बढेको छ । जनरल इन्स्योरेन्सको दोस्रो कारोबार दिनमा समेत १० प्रतिशतले मूल्य बढेर ३ सय ६८ रुपैयाँ पुगेको छ । कम्पनीको बुधबारबाट सेयर कारोबार भएको हो । हकप्रदको खबरपछि नेपाल फाइनान्सको पनि १० प्रतिशतले नै मूल्य बढेको छ ।