नेप्से लगातार पाँचौँ कारोबार दिन घटेको छ । यसबीच नेप्सेले करिब ४० अंक गुमाएको छ । बजार क्रमिक रूपमा ओरालो लागिरहेको छ । बुधबार ७ दशमलव ४२ अंकले घटेर १ हजार ५ सय ६१ बिन्दुमा आइपुगेको हो । नेप्सेसँगै कारोबार रकममा समेत क्रमिक रूपमा कटौती भइरहेको छ । बुधबार बजारमा १ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
१० प्रतिशत बोनस र करसहित ३ दशमलव ६० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको सानिमा बैंकको यस दिन सबैभन्दा धेरै रकमको कारोबार भएको छ । बैंकको ७ करोड २५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको हो । बैंकको सेयर मूल्य भने १ दशमलव ४७ प्रतिशतले बढेको छ ।

त्यस्तै, नेपाल फाइनान्सले १ बराबर १ दशमलव २५ को दरमा हकप्रद सेयर दिने भएपछि मूल्य एकै दिन ९ दशमलव ७५ प्रतिशत पुगेको छ । मूल्य ३ सय ४ रुपैयाँ भएको हो । हकप्रदका लागि कम्पनीले ६ कात्तिकमा बुक क्लोज तय गरेको छ । यसअघि सेयर स्वामित्व हुनेले हकप्रदमा लगानी गर्न पाउनेछन् । बुधबार नै कारोबार सुरु भएको जनरल इन्स्योरेन्सको ३ सय ५ रुपैयाँमा पहिलो कारोबार भएकोमा मूल्य करिब १० प्रतिशतले बढेर ३ सय ३५ रुपैयाँ पुगेको छ ।
यस दिन घलेम्दी हाइड्रोको सेयर मूल्य भने सबैभन्दा धेरै ७ दशमलव २६ प्रतिशतले घटेको छ । दुई वर्षअघि सेयर जारी गरेको कम्पनीले वित्तीय विवरणसमेत सार्वजनिक गरेको छैन । केही दिनअघि कम्पनीको अन्तरदिनको कारोबारमा मूल्य १ सय ५५ रुपैयाँसम्म पुगेर घटेको हो । बुधबार कारोबारमा आएकामध्ये होटेलबाहेक अन्य सबै समूहगत परिसूचकसमेत घटेको छ । ३० कम्पनीको मूल्य बढेको, १ सय २७ को घटेको र बाँकीको स्थिर छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो ३ कित्ताबराबर सिटी एक्सप्रेसको १० कित्ता हुने गरी प्राप्ति गर्ने भएको छ । बैंकको विशेष साधारणसभाले यो निर्णय पारित गरेको छ । प्राप्तिसँगै बैंकको चुक्ता पुँजी १४ अर्ब ७३ करोड पुग्नेछ । बैंकसँग बाँड्नका लागि सिटीबाट २८ करोड रुपैयाँ उपलब्ध हुनेछ । बैंकले यो पुँजीबाट करिब २ प्रतिशत बोनस सेयर दिन सक्नेछ ।
नेप्सेको प्राविधिक विश्लेषणले बजारमा माग कम भएको देखाइरहेको छ । १४ दिने आरएसआई सूचक ४८ सम्म आइपुगेको छ । यद्यपि, यसले बजारमा माग र आपूर्ति सन्तुलित अवस्थामा नै रहेको संकेत गर्छ । मंगलबार भने यो सूचक ५३ थियो ।
नेप्सेको रेखाचित्रमा बनाइएको ७ दिने र २१ दिने मुभिङ एभरेज रेखा नजिकिँदै गए पनि ७ दिने रेखा माथि नै छ । तर, यो रेखाले २१ दिने रेखालाई काटेर तल लागेमा केही अवधि थप बजार घट्नेछ । मैनबत्ती चित्रमा पनि कालो मैनबत्ती बनेको छ । यसले बजार बियरिस रहेको संकेत गर्छ ।