ओली–प्रचण्ड छलफल : कर्णाली प्रदेशमा अविश्वासको प्रस्तावको नेतृत्व गरिरहेका कँडेललाई फिर्ता हुन निर्देशन

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेशमा देखिएको राजनीतिक खिचातानीलाई साम्य पार्न पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सक्रिय बनेका छन् । 

दुई अध्यक्षले प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव राख्न नेतृत्व गरिरहेका सांसद यमलाल कँडेललाई उक्त अभियानबाट पछि हट्न निर्देशन दिएको स्रोतले जनाएको छ । 

ओली र दाहालबीच अहिले बालुवाटारमा छलफलसमेत जारी रहेको छ । यस छलफलमा नेकपाका महासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि सहभागी छन् ।

दुवै अध्यक्षले अविश्वास प्रस्तावकाे औचित्य नभएको र त्यसबाट फिर्ता हुन कँडेललाई निर्देशन दिएको स्रोतले जानकारी दिएको छ । साथै कँडेल र मुख्यमन्त्री शाहीलाई थप छलफलका लागि काठमाडौं बोलाइएको छ । 

यसअघि अविश्वास प्रस्तावमा सहभागी भएका माधवकुमार नेपाल पक्षधर सांसदहरू उक्त प्रस्तावबाट पछि हटेर मुख्यमन्त्री शाहीसँग सम्झौता गरेपछि अविश्वास प्रस्तावको खेल लगभग निष्क्रिय भइसकेको थियो । 

अविश्वास पक्षधरले आज बोलाएको भेलासमेत प्रदेशमा हुन सकेको थिएन ।

सुझावित समाचार