विश्वलाई पश्चिमको खाँचो छ ?

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

अन्य देशमा प्रजातन्त्र खस्किँदा पश्चिमले ठूलो आलोचना गथ्र्यो । ती देशले खराब परिणाम भोग्ने सम्भावना हुन्थ्यो । तर, पश्चिमलाई त्यस्तो गर्ने हिम्मत कसको ?

धेरै शताब्दीदेखि पश्चिमी युरोप तथा उत्तर अमेरिकी देशहरूले विश्वको आर्थिक, सैन्य तथा सांस्कृतिक पक्षमा प्रभुत्व जमाउँदै आएका छन् । लामो समय पश्चिमले विश्वलाई आफूलाई सहज हुने हिसाबमा पुनर्निर्माण गर्यो । उसले आफूलाई मानव उपलब्धिको शिखरका रूपमा प्रस्तुत गर्ने गरेको छ । आफूलाई ‘विकसित मुलक’का रूपमा प्रस्तुत गरेर तिनले बाँकी ‘अल्पविकसित’ मुलकले तिनलाई पछ्याए मात्र समृद्धि हुने शिक्षा दिने गरेका छन् । 

तर पश्चिमको यो समृद्धिको भाष्य मिथकभन्दा बढी केही थिएन, बाँकी मानव जातिमाथिको शोषण र दमनबाट नाफा कमाउने सजिलो बाटो मात्र थियो । लुटबाट हासिल गरेको धनबाट मोटाएको पश्चिमले आफूलाई नश्लीय तथा नैतिक रूपमा उच्च भएको विश्वास गर्न थाल्यो । 

तर पछिल्लो चार वर्षमा पर्दापछाडि लुकेको पाखण्ड उदांगिएको छ । केही वर्षअघिसम्म इतिहासको अन्त्य घोषणा गर्दै आफ्नो लोकतन्त्र, उदारवाद तथा पुँजीवादको विजयको शंखनाद गरिरहेका देशहरू आफैँ अधिनायकवादी तथा पपुलिजमको लहरमा फसेका छन् । हिजोका दिनमा तिनले कृत्रिम युद्ध र विकराल आर्थिक नाकाबन्दीमार्फत जबर्जस्ती प्रजातन्त्र लाद्ने काम गरे । आज केन्या वा अन्यत्र जस्तै अमेरिका र बेलायतमा लोकतन्त्र खतरामा परेको देखिन्छ । 

वर्तमान अमेरिकी राष्ट्रपतीय चुनावी प्रचारको अवधिमा तथा राष्ट्रपति ट्रम्प र उनका प्रतिद्वन्द्वी बाइडेनबीचको पछिल्लो बहसपछि एउटा नार्सिसिस्ट (आत्मरतिमा रमाउने) महाशक्तिको अनुहार उदांगियो । अमेरिकाको स्थिति त्यति राम्रो छैन । सडकमा हिंसा जारी छ । कोरोना भाइरसबाट झन्डै अढाइ लाख मानिसको ज्यान गइसकेको छ । अब त निर्वाचन र संस्थानको विश्वसनीयतामाथि नै शंका उठ्न थालेको छ । र, त्यहाँका नेताप्रति तिनका समर्थकको भक्तिभाव कुनै अधिनायक नेताका लागि देखिनेजस्तो देखिँदै गएको छ । 

केही वर्षअघिसम्म इतिहासको अन्त्य घोषणा गर्दै आफ्नो लोकतन्त्र, उदारवाद तथा पुँजीवादको विजयको शंखनाद गरिरहेका देशहरू आफैँ अधिनायकवादी तथा पपुलिजमको लहरमा फसेका छन् ।

अमेरिकी उपराष्ट्रपतीय बहसपछि उताह राज्यका रिपब्लिकन सिनेटर माइक लीले ट्विट गर्दै लेखे, ‘हामी प्रजातान्त्रिक मुलुक होइनौँ ।’ कुनै समय ‘सिटहोल कन्ट्री’ मुलुकमा मात्र सीमित ठानिने हिंसात्मक कुको डरले अमेरिकामा पनि शिर उठाउन थालेको छ । मिचिगन राज्यकी डेमोक्रेटिक गभर्नरलाई अपहरण गरेर उनको सरकार अपदस्थ गर्ने एक दक्षिणपन्थी षड्यन्त्रको पर्दाफास भएपछि यो डर झन् बढेको छ । 

विभिन्न मात्रामा कमजोर शासन, अधिनायकवाद, भ्रष्टाचार तथा संस्थानको क्षयको यस्तै समस्या बेलायत र अन्य युरोपेली राष्ट्रमा पनि देखिन्छ । अन्य देशमा प्रजातन्त्र खस्किँदा पश्चिमले ठूलो आलोचना गथ्र्यो । ती देशले खराब परिणाम भोग्ने सम्भावना हुन्थ्यो । तर, पश्चिमलाई त्यस्तो गर्ने हिम्मत कसको ? न त उनीहरूमाथि प्रतिबन्ध लाग्नेछ, न तिनका नेताको सम्पत्ति फ्रिज हुन्छ, न यात्रा प्रतिबन्ध हुनेछ, न त उनीहरूको आलोचना गर्दै संयुक्त राष्ट्र संघमा प्रस्ताव लगिन्छ, न अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउने धम्की नै । न विश्वका प्रतिष्ठित नेता त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्न जानेछन् । 

तर पश्चिमको प्रतिष्ठा क्षय हुँदा अन्य देशका लोकतन्त्रमाथि असर पर्नेछ । कैयौँ खोट तथा आडम्बरका बाबजुद ‘विकासोन्मुख’ मुलुकमा रहेका पश्चिमी दूतावास तथा एनजिओले प्रजातान्त्रिक शासनका लागि दबाब दिने गरेका छन् । यतिसम्म कि अधिकांश अफ्रिकामा अधिनायकवादी सरकार मानवअधिकार तथा प्रजातन्त्रलाई विश्वव्यापी अवधारणा नमानेर पश्चिमी मान्छन् । आफ्नै देशको प्रजातान्त्रिक मूल्यमा धक्का लाग्दा पश्चिमलाई अन्य देशका प्रजातान्त्रिक पक्षधर आन्दोलन समर्थन गर्न कठिन हुनेछ । त्यसअतिरिक्त डोनाल्ड ट्रम्प तथा बोरिस जोनसनजस्ता नेताबाट अधिनायकवादी प्रवृत्ति भएका नेताले थप स्वच्छन्द हुन प्रेरणा लिन सक्छन् । यही खतरामाझ पश्चिमको पकडबाट उम्किने अवसर पनि छ । उदाहरणका लागि अफ्रिकामा अफ्रिकी संघले तानासाहको क्लबको छवि मेटाउने कोसिस गरेको छ । उसले सदस्य देशभित्र हुने सैन्य कुविरुद्ध कठोर अडान लिन थालेको छ । संघले पश्चिमी पकडबाट उम्केपछि मात्र अडान लिन थालेको हो । केन्याजस्तो देशमा विगत ३० वर्षको तुलनामा पश्चिमी देशका दूतावासले सुधार आन्दोलन समर्थन गर्न निकै कम गरेका छन् । यद्यपि स्थानीय समूहको आर्थिक समर्थनका लागि अझै पनि पश्चिमी सरकार र संगठनको वित्तको निर्भरता कम भएको छैन । 

केन्यामा सामाजिक सञ्जालका साथसाथै रकम स्थानान्तरण एप स्थानीय रकम संकलन गर्न प्रभावकारी बन्दै आएका छन् । शासनका क्षेत्रमा काम गरिरहेका एनजिओका लागि स्थानीय अनुदानले सरकारमाथि निर्भरता मात्र कम गर्दैन, तिनको प्रभाव पनि बढाउनेछ । यसले सुधार एजेन्डामा स्थानीय स्वामित्वको भावलाई बढाउनेछ । स्वघोषित लोकतान्त्रिक प्रहरीको भूमिकामा पश्चिमको समय घर्किनु राम्रो कुरा हुन सक्छ । 

(प्याट्रिक सञ्चार परामर्शदाता, लेखक तथा राजनीतिक कार्टुनिस्ट हुन् ।)
अलजजिराबाट

सुझावित समाचार