उच्च उतारचढावसहित सीमान्त दरमा बढ्यो नेप्से

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

सोमबार नेप्से परिसूचक सीमान्त दरमा वृद्धि भएको छ । कारोबार अवधिभर उच्च उतारचढाव देखिएको नेप्से बजार बन्द हुँदा भने १ दशमलव ७४ अंकले बढेर १ हजार ५ सय ७८ मा आएको छ । कारोबार अवधिमा नेप्से न्यून बिन्दु १ हजार ५ सय ६६ र उच्च बिन्दु १ हजार ५ सय ८० सम्म पुगेको थियो । 

बजार बढ्छ र घट्छ भन्ने दुवै पक्ष उत्तिकै बलियो भइरहेकाले पनि बजारले स्पष्ट दिशा लिन सकेको छैन । केही दिनदेखिको कारोबार हेर्दा बजार घट्ने संकेत देखिँदै आएको छ । लगानीकर्ताले सोमबार बजार १ हजार ५ सय ६६ भन्दा तल आउन दिइरहेका छैनन् । अर्थात्, त्योभन्दा कममा आउने गरेर सेयर बिक्री गर्न रुचाइरहेका छैनन् । यति हुँदाहुँदै पनि बजार वृद्धि हुन सकेन । लगानीकर्तामा चलिरहेको मोलमोलाइसँगै उनीहरूमा अन्योल बढेको समेत देखिएको छ । 

घट्दो बजारबीच सोमबार नेप्सेको मैनबत्ती चित्रमा ह्यामर वा ड्र्यागन फ्लाई डोजी आकृति बनेको छ । यसले बजार घट्न रोकिएको संकेत त गर्छ । तर, यो दरिलो संकेत भने होइन । मंगलबारको कारोबारमा बजार खुल्दाको सुरु बिन्दु र अन्तिम बिन्दु, सोमबारको अन्तिम बिन्दुभन्दा बढेर सेतो (हरियो) मैनबत्ती बनेमा मात्रै बजार थप बढ्ने विश्लेषण गरिन्छ । 

बजारमा खरिद बढ्न थाले पनि सन्तुलित नै रहेको आरएसआई सूचकले देखाउँछ । यद्यपि, सोमबार कारोबार रकम २ अर्बबाट घटेको छ । यसअघिका दिनहरूमा योभन्दा बढी हुने गरेको थियो । यसले पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको संकेत गरिरहेको छ । बजारले १ हजार ६ सय २० को वार्षिक उच्च बिन्दुमा पाएको प्रतिरोध तोड्न निकै कठिन परिरहेको छ । बजार सहयोगी सकारात्मक खबर आएमा मात्रै यो तह पार गर्न सक्ने देखिएको छ । 

सोमबार बजारमा १ सय ८९ कम्पनीको सेयर कारोबार भएकोमा ८२ वटाको मूल्य घटेको, ६४ वटाको बढेको तथा बाँकीको स्थिर छ । कारोबारमा आएकामध्ये जलविद्युत्, निर्जीवन, जीवन, वित्त, उत्पादनमूलक, सामूहिक लगानी कोष र ‘अन्य’ समूहगत सूचक घटेका छन् । विकास बैंकको समूहगत परिसूचकमा भने करिब ४ प्रतिशतको उच्च वृद्धि भएको छ । मुक्तिनाथ, कामना सेवा, तनहँु मिसनलगायतको मूल्य उच्च बढेको छ । यिनको करिब ५ देखि १० प्रतिशतसम्म मूल्य बढेको हो । 

अघिल्लो वर्ष करिब १९ प्रतिशत (१७.६ प्रतिशत बोनस) लाभांश दिएको मुक्तिनाथ विकास बैंकको नाफा २३ प्रतिशतले घटेर ६५ करोडमा सीमित भएको थियो । बैंकले ६ करोड ४० लाख रुपैयाँबराबरको प्रिमियमबाट सोझै बोनस दिन सक्छ । प्रिमियम रकम बोनस दिन मात्र प्रयोग गर्न पाइन्छ । ५० करोड सञ्चिति रहेको बैंकले थप लाभांश दिन सक्ने भएकाले पनि लगानीकर्ता आकर्षित भएका हुन सक्छन् । बैंकको यस दिन १६ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।   

यस दिन सबै लघुवित्तको मूल्य भने ६ प्रतिशतले घटेको छ । कम्पनीको मूल्य १ वर्षयताकै उच्च ९ सय ५० रुपैयाँ हाराहारी अर्थात् आइतबार ९ सय ९ रुपैयाँसम्म पुगेर घट्न थालेको हो । कम्पनीले गत वर्ष १३ प्रतिशत बोनस सेयर दिएको थियो । गत आव अन्त्यमा भने कम्पनीको नाफा १२ प्रतिशतले बढेर ३ करोड ४४ लाख पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी  १८ रुपैयाँ ४९ छ । कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले ४६ रुपैयाँसम्म तिरिरहेका छन् । कम सेयर संख्या, उच्च लाभांश दरका कारण लघुवित्त कम्पनीहरूको मूल्य उच्च हुँदै आएको छ । 

त्यस्तै, यस दिन जनरल इन्स्योरेन्स कम्पनीको १ करोड कित्ता सेयर सूचीकरण भएको छ । कम्पनीको पहिलो कारोबारका लागि १ सय १ देखि ३ सय ५ रुपैयाँको रेन्ज दिइएको छ । मंगलबारबाटै कम्पनीको सेयर कारोबार सुरु हुने भएको छ । 

See More On

सुझावित समाचार