अमेरिकामा फेरि बढ्यो कोरोना संक्रमण र मृत्युदर

आइतबार, २५ असोज, २०७७
डिजिटल संस्करण

अमेरिकामा हालसम्म ७५ लाख हाराहारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । अमेरिका विश्वमै सबैभन्दा बढी संक्रमण भेटिएको देश पनि हो । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै कोरोना संक्रमण भएपछि अहिले उपचारत छन् । यो घटनाबाट पनि अमेरिका कोरोनाबाट कति जोखिममा छ भनेर अनुमान लगाउन सकिने विश्लेषकहरूको भनाइ छ ।

गत मार्चमा सामाजिक दूरीको नियमले संक्रमणको संख्यालाई केही कम गरेको थियो । मेसम्म पनि संक्रमितको संख्या स्थिरजस्तै देखिएको थियो । तर, जब राज्यहरूमा लकडाउन हटाइयो, संक्रमितको संख्या फेरि बढ्न थाल्यो । त्यसरी गत जुलाईसम्म अमेरिका विश्वमै सबैभन्दा बढी संक्रमित हुने देश बन्न पुग्यो ।

‘समर हटस्पट’ एरिजोना, फ्लोरिडा र क्यालिफोर्नियाजस्ता राज्यले संक्रमण संख्या केही नियन्त्रणमा लिएका थिए । तर, उत्तर डाकोटा, दक्षिण डाकोटा र विस्कन्सिनलगायत क्षेत्र संक्रमणको नयाँ हटस्पट बन्न पुगे । हालैको सातामा नियमित रूपमा संक्रमणको संख्या बढिरहेको छ । 

पछिल्लो तीन साता निरन्तर रूपमा संक्रमित बढिरहेका छन् । जुलाई र अगस्टमा जस्तै कीर्तिमानी संख्या छुन नसके पनि पछिल्ला केही साता अमेरिकामा निरन्तर रूपमा संक्रमण बढिरहेको छ । अहिले प्रतिदिन ४० हजारको हाराहारीमा संक्रमण देखिएको छ ।

संक्रमित भएर अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दो छ । कोभिड ट्रयाकिङ प्रोजेक्टले तयार पारेको रिपोर्टअनुसार गत जुलाईपछि पहिलोपटक संक्रमणका कारण बिरामी भएर अस्पताल भर्ना हुनेको संख्या बढ्दो अवस्थामा छ । यो अवस्थाले अमेरिका भाइरस संक्रमणबाट थप ध्वस्त बन्ने सम्भावना देखिएको छ ।

अमेरिकामा किन संक्रमण बढिरहेको छ ?
अमेरिकामा यही कारणले संक्रमण संख्या बढिरहेको छ भनेर निर्धारण गरेर भन्न मुस्किल छ । त्यसमध्ये एउटा महत्वपूर्ण कारण विद्यार्थी विद्यालय फर्कनु पनि हो । 

हालै युएस सेन्टर्स फर डिजिज कन्ट्रोलले तयार पारेको प्रतिवेदनअनुसार दुई अगस्टदेखि ५ सेप्टेम्बरसम्म एक लाख संक्रमित भेटियो, जति वेला विद्यार्थी विद्यालय फर्कन थालेका थिए । त्यसमध्ये १८ देखि २२ वर्ष उमेर समूहको संक्रमण ५५ प्रतिशत बढेको देखिएको थियो ।

त्यसमध्ये ठूलो संख्याको संक्रमण न्युयोर्क, न्युजर्सीलगायत उत्तरपूर्वबाट आएको देखियो । यस्तै, इलिनोइज, इन्डियाना, ओहियो र विस्कन्सिनमा पनि उत्तिकै संक्रमण देखियो । न्युयोर्क टाइम्सको रिपोर्टअनुसार ती क्षेत्रमा रहेका १३ सय कलेजबाट एक लाख ३० हजारभन्दा बढी संक्रमण देखिएका छन् ।

संक्रमण बढ्नुको अर्काे कारण मौसम परिवर्तन पनि हो । अमेरिकाका वरिष्ठ भाइरसविज्ञ एन्थोनी फउसीले आगामी केही महिना सजिलो नहुने बताएका थिए । किन ? भाइरस चिसो मौसममा अझ सहजसँग बाँच्न सक्छ । अमेरिकामा इन्फ्लुइन्जाको सिजन पनि सुरु भएका कारण आगामी दिन अझ समस्याग्रस्त बन्ने देखिएको छ ।

के मृत्युदर घट्दै छ ?
यो संकटको समयमा केही सकारात्मक समाचार पनि आएका थिए । अमेरिकामा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या घट्दै छ । अक्टोबरको सुरुवातमा मृत्युदर दैनिक सात सय २० देखिएको थियो । त्यो संख्या समरमा कायम भएको दैनिक एक हजारको संख्याबाट घटेको हो ।

लगत्तै दुःखद खबर पनि आएको छ । हालैको साता भने यो घट्ने क्रम पनि घट्न थालेको छ । अर्थात् मृत्युदर बढ्न थालेको छ । यसले फेरि मृत्युदर बढ्ने हो कि भन्ने चिन्ता थपिएको छ । जोहन्स हप्किन्स विश्वविद्यालयले तयार पारेको रिपोर्टअनुसार कोरोना भाइरस (कोभिड– १९) संक्रमणबाट दुई लाख १० हजारभन्दा बढीको मृत्यु भएको छ ।

‘हटस्पट’ कहाँ ?
देशैभरि कोरोना भाइरस संक्रमितको संख्या बढ्दो अवस्थामा रहेको छ । त्यसमध्ये उच्च मध्यपश्चिम र पश्चिमी क्षेत्रमा बढी संक्रमित देखिएका छन् । विस्कन्सिन कोरोना भाइरसले सबैभन्दा बढी थलिएको राज्यको रूपमा देखिएको छ । गत महिना यस राज्यमा संक्रमित चौगुणाले बढेको थियो । सेप्टेम्बरमा अस्पताल भर्ना हुनेको संख्या पनि दोब्बर देखिएको थियो । राज्यमा परीक्षण गर्दा संक्रमित आउने दर १९.६ प्रतिशत रहेको छ ।

उत्तर डाकोटा पनि भाइरस संक्रमणको अवस्था उस्तै देखिएको छ । छिमेकी दक्षिण डाकोटा, एरिजोना, फ्लोरिडा र क्यालिफोर्नियामा पनि संक्रमणको अवस्था उस्तै छ ।
 

सुझावित समाचार