सात महिनापछि हिमाल फर्किए आरोही

आइतबार, २५ असोज, २०७७
डिजिटल संस्करण
सात महिनापछि हिमाल फर्किए आरोही

तस्बिर सौजन्य : ङिमा शेर्पा

सरकारले हिमाल आरोहण र पदयात्रा पर्यटन खुला गरे पनि कोरोना भाइरसले थलिएको यो क्षेत्र लयमा फर्कन अझै लामै समय कुर्नुपर्ने

कोरोना महामारी सुरु भएपछिको ६ महिना पथप्रदर्शक प्रदीप तामाङ आफ्नो घरभित्रै रहे । कोरोना भाइरस नहुँदो हो त उनका लागि यो निक्कै व्यस्त समय हुने थियो । उनी विदेशी वा स्वदेशी पर्यटक लिएर हिमालतिरै घुमिरहेका हुन्थे । कोरोना फैलिएपछि गत ११ चैतमा सरकारले पहिलोपटक लकडाउनको घोषणा गरेदेखि उनी हिमालतर्फ त जान सकेनन् नै, घरबाटै बाहिर निस्कन नसक्ने अवस्था बन्यो । 

काठमाडौंमा संक्रमण तीव्र बढ्दो छ । दैनिक सयौँको संख्यामा नयाँ संक्रमित देखिइरहेका छन् । तर, यही अवस्थामा पनि सरकारले आरोहण र पदयात्रा पर्यटन खुला गर्ने निर्णय गरेपछि तामाङ केही स्वदेशी पर्यटक लिएर सगरमाथा बेसक्याम्पतर्फ लागेका छन् । झन्डै सात महिनापछि पहिलोपटक आफ्नो नियमित कर्मथलो फर्कंदा उनले खुसीको अनुभूति गरे । ‘हिमाल हाम्रो कर्मथलो हो । नियमित यतै भइरहने म झन्डै सात महिनापछि फेरि फर्किएको छु,’ सगरमाथा बेसक्याम्पतर्फ पुग्नुअघि दिङ्बोचेबाट प्रदीप खुसी पोख्छन्, ‘लामो समयपछि आफ्नो कर्मथलो फर्कन पाउँदा खुसीको सीमा नै रहेन ।’ कोरोना संक्रमण फैलिएपछिको पीडादायी र अन्योलपूर्ण सात महिनाको अवधिपछि सुरु भएको यो पहिलो यात्राले आगामी दिन सहज होला भन्ने आशा उनले गरेका छन् । 

                                                                            .....

लकडाउन र त्यसपछि घोषणा गरिएको निषेधाज्ञा पनि खुलेपछि ‘हाई प्रोफाइल’ पर्यटकको रूपमा बहराइनका राजकुमारसहित राजपरिवारका सदस्यको टोली हिमाल आरोहणका लागि नेपाल आएको छ । नेपालको दुई हिमाल आरोहणका लागि आएका उनीहरूले सगरमाथा रेन्जमा रहेको लोबुचे हिमाल आरोहण गरिसकेका छन् । लोबुचे आरोहणबाट फर्किएपछि उनीहरू गोर्खाको मनास्लु हिमाल आरोहणका लागि मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । उनीहरूको आरोहणमा सहयोग गरिरहेका सेभेन समिटका सञ्चालक एवं आरोही टासी शेर्पा हाई प्रोफाइल पर्यटक पाएर मात्रै होइन, नेपालमा आरोहण खुलेकोमा खुसी व्यक्त गर्छन् । 

कोरोना संकटपछिको यो आरोहणले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि राम्रो सन्देश दिएको उनले अनुभव गरेका छन् । ‘कोरोना संकटको यो समय हामीलाई व्यवसायको चिन्ता त छँदै थियो । त्यसमाथि बढ्दो भाइरस संक्रमणका कारण चिन्ता थपिरहेको थियो,’ बहराइनका राजकुमारको टोलीलाई लोबुचेको सफल आरोहण गराएर फर्किएपछि टासी भन्छन्, ‘यो आरोहणले हामीलाई काममा फर्काएको मात्रै छैन, नेपाल आरोहणका लागि सुरक्षित छ भन्ने सन्देश पनि अन्तर्राष्ट्रिय क्षेत्रमा दिन सफल भएको छ ।’

उनको टोलीमा १८ जना विदेशी छन् । उनीहरूको सहयोगका लागि उत्तिकै संख्यामा नेपाली पनि छन् । बहराइन राजपरिवारको टोलीलाई मनास्लुको पनि सफल आरोहण गराएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली पर्वतीय पर्यटनबारे थप राम्रो सन्देश जाने उनको विश्वास छ । 

                                                                         

अर्का पथप्रदर्शक ङिमा शेर्पा पनि कोरोना भाइरस सुरु भएपछिको पछिल्लो सात महिनामा पहिलोपटक पर्यटक लिएर हिमाल पुग्न पाएका छन् । उनी दुईजना जर्मन पर्यटक लिएर सगरमाथा क्षेत्र पुगेका छन् । २० दिनको यात्रामा निस्किएका उनी पर्यटकलाई सगरमाथा बेसक्याम्प, कालापत्थर, चोला पास, गोक्यो, गोक्योरीलगायत ठाउँ पुर्‍याएर फर्कंदै छन् ।  

‘सिजनमा म आफैँ आठवटासम्म ग्रुपलाई बेसक्याम्प पुर्‍याउँथेँ । चार–पाँचपटक त आरोहणमै पनि जान्थेँ । यसपटक सात महिनापछि पहिलोपटक यो क्षेत्रमा आएको छु । आफैँलाई अनौठो लागिरहेको छ,’ ङिमा भन्छन्, ‘हामीलाई मात्रै होइन, पछिल्लो सात महिना नै विदेशी पर्यटक नदेखेका स्थानीय पनि अहिले अचम्मित परेको देखेँ । विदेशी पर्यटकलाई देख्दा सिजन सुरु भयो कि भन्ने आशा उनीहरूमा छ ।’

कोरोना संक्रमण फैलिएको सात महिनापछि सरकारले पर्वतारोहण र पदयात्रा पर्यटन खोल्ने निर्णय गर्दा यस क्षेत्रमा भएका सीमित गतिविधि हुन् । यसबाहेक केही नेपालीले पनि पर्वतारोहणका लागि अनुमति लिएका छन् । नेपालमा पर्वतारोहणका लागि अनुमति दिनेमध्ये पर्यटन विभागबाट बहराइनका राजकुमारको टोलीबाहेक अर्काे एउटा नेपाली टोलीलाई पनि अनुमति दिइएको छ । उक्त टोलीले वरुण हिमाल आरोहणका लागि अनुमति लिएको छ । 

यस्तै, नेपाल पर्वतारोहण संघ (एनएमए)बाट पनि बहराइनको टोलीसँगै अरू तीन टोलीले हिमाल आरोहणका लागि अनुमति लिएको छ । बहराइनको टोलीले एनएमएबाट अनुमति लिएर लोबुचे हिमालको आरोहण गरेको हो । त्यसबाहेक मेरा पिक आरोहणका लागि नेपालीको ६ जना र दुईजनाको दुई फरक टोलीले अनुमति लिएका छन् । यस्तै, लोबुचे र मेरा पिकसमेत आरोहण गर्ने गरी एकजना नेपालीले अनुमति लिएका छन् । 

पर्यटन विभागअन्तर्गत माउन्टियरिङ शाखाकी निर्देशक मीरा आचार्य पर्वतीय र पदयात्रा पर्यटन खुलेपछि नेपाल भ्रमणका लागि धेरैले सोधपुछ गर्न थालेको बताउँछिन् । ‘धेरैले फोन गरेर सोध्नुभएको छ,’ निर्देशक आचार्य भन्छिन्, ‘सम्भवतः अब बिस्तारै नेपाल आउने पर्यटकको संख्या बढ्नेछ ।’

यी गतिविधिले नेपाली पर्वतीय र पदयात्रा पर्यटन लयमा फर्केको संकेत गरेको छ । तर, सम्बन्धित व्यक्तित्वको भनाइलाई विश्वास गर्ने हो भने कोरोना भाइरसले थलिएको नेपाली पर्वतीय र पदयात्रा पर्यटन लयमा फर्कन अझै लामै समय कुर्नुपर्नेछ । ‘नेपालमा मात्रै होइन, नेपाल भ्रमणमा आउने पर्यटनको देशमै पनि कोरोना भाइरसले आर्थिक रूपमा ठूलो असर पारेको छ,’ एनएमएका महासचिव कुलबहादुर गुरुङ भन्छन्, ‘त्यसमाथि भाइरस संक्रमण अझै नियन्त्रणबाहिर देखिएको छ । यसकारणले पनि नेपालको पर्वतीय र पदयात्रा पर्यटन चाँडै पुरानै लयमा फर्कन समय लाग्नेछ ।’

सुझावित समाचार