शरीरमा तापक्रम कम भएर उत्पन्न हुने स्वास्थ्यसम्बन्धी कडा समस्यालाई हाइपोथर्मिया भनिन्छ । अर्थात् शरीरको भित्री तापक्रम ३५ डिग्री सेन्टिग्रेडभन्दा कम भएको अवस्था हाइपोथर्मिया हो ।
यसले शरीमा विभिन्न रोगको संक्रमणलाई सहज बनाई, प्रतिरोधी क्षमता घटेर जाने भएकाले कतिपय अवस्थामा ज्यान नै जोखिममा पर्ने गर्छ । हाइपोथर्मियाबाट बालबालिका बढी पीडित हुने गरेका छन् ।
सामान्यतया चिसोको सम्पर्कमा आउँदा शरीरले ताप उत्पादनको तुलनामा बढी मात्रामा न्यानोपना गुमाउने गर्छ । चिसोमा धेरै समयसम्म बस्दा शरीरमा सञ्चित शक्ति उपयोगमा आउँछ । परिणामस्वरूप हाइपोथर्मिया हुन्छ ।
जाडोयाममा यो समस्या बढी हुने गरे पनि पसिनाले निथ्रुक्क भिज्दा पनि हाइपोथर्मिया हुन सक्छ । हाइपोथर्मियालाई चार किसिममा विभाजन गरिएको छ ।
हलुका : ९० देखि ९५ डिग्री फरेनहाइट (३२ देखि ३५ डिग्री सेल्सियस)
मडरेट : ८२ देखि ९० डिग्री फरेनहाइट (२८ देखि ३२ डिग्री सेल्सियस)
गम्भीर : ६८ देखि ८२ डिग्री फरेनहाइट (२० देखि २८ डिग्री सेल्सियस )
६८ डिग्री फरेनहाइट : २० डिग्री सेल्सियसभन्दा कम
शरीरमा आवश्यक तापक्रम कायम राख्नका लागि मस्तिष्कले धेरै तरिका अपनाइरहेको हुन्छ । कतिपय अवस्थामा विभिन्न कारणले गर्दा ताप उत्पादन हुनुको सट्टा ह्रास आउन सक्छ । कहिलेकाहीँ रोगको कारणले समेत शरीरको तापमा कमी आउन सक्छ । जसले गर्दा शरीरको तापक्रम जुनसुकै समय र अवस्थामा पनि प्रभावित हुन्छ । यसलाई सेकेन्डरी हाइपोथर्मिया भनिन्छ ।
कसरी थाहा पाउने ?
साधारण क्लिनिकल थर्मोमिटरले ३४.४ डिग्री सेल्सियसभन्दा कम तापक्रम सही रूपमा नाप्न सक्दैन । शरीरको भित्री तापक्रम थाहा पाउनका लागि विशेष किसिमको कम तापक्रम नाप्ने थर्मामिटर आवश्यक हुन्छ ।
हाइपोथर्मिया भएको व्यक्तिको मुटुको धड्कन दर अन्त्यन्तै कम हुन्छ । त्यसैले नाडीको दर पहिचान गर्न लामो समय लाग्न सक्छ । शरीरको तापक्रम सामान्यको दाँजोमा दुईदेखि चार डिग्रीसम्म कम हुँदा शरीर तीव्र गतिमा काम्न थाल्छ ।
शरीरको तापक्रम ३२ डिग्री सेन्टिग्रेडभन्दा कम हुँदा जिउ काम्न बन्द हुन्छ ।
बोल्न असजिलो हुने, सोच्नमा समस्या आउने, छाला निलो हुँदै जाने, हिँड्न समस्या हुनेजस्ता समस्या देखिन्छन् । रक्तवाहिनी नली खुम्चिने हुँदा शरीर पहेँलो हुने र औँला, ओठ, कानमा निलोपना देखिन्छ ।
कडा हाइपोथर्मिया भएमा बेहोस हुने हुन्छ । सास र नाडीको चालमा पनि गडबडी देखिन्छ । शरीरको तापक्रम घट्दै जाँदा घातक हुने हुँदा बिरामीको एकदमै ख्याल गर्नुपर्ने हुन्छ ।
उपचार
शरीरमा तापक्रम कम हुँदा अन्य समस्या पनि देखिने भएकाले हाइपोथर्मियाको तुरुन्त उपचार गर्नुपर्ने हुन्छ । नवजात शिशु र बालबालिकालाई विशेष स्याहार गर्नुपर्छ । चिसो हावा लाग्न दिनुहुँदैन । बालबालिकालाई न्यानो पारेर राख्नुपर्छ । यदि तापक्रम निकै घटेमा छिटो उपचारका लागि चिकित्सककोमा जानुपर्छ ।