रुपन्देहीको सीमावर्ती सुनौली बजार खुला भए पनि नेपाली ग्राहक नपुग्दा सुनसान अवस्थामा छ।
सीमानाकामा कोरोनाका कारण आवतजावतामा भएको कडाइ यथावत् रहेकाले नेपालबाट सुनौली बजार जाने क्रम रोकिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए।
चाडपर्व नजिकिएसँगै सीमावर्ती भारतीय बजारमा जानेहरूको संख्या अघिल्ला वर्षमा उल्लेख्य हुने गरेको थियो । यस वर्ष कोरोनाका कारण सीमानाकामा ओहोरदोहोर गर्न नपाउँदा सीमावर्ती बजारमा नेपालीको उपस्थिति कम छ ।
अहिले सुनौली बजारमा औषधि लिन र भारतीय पेन्सनपट्टा बनाउन मात्र जान पाइने प्रहरी निरीक्षक अधिकारीले बताए । त्यस्तै भारतमा रोजगारी गरेर नेपाल फर्किन चाहेकाहरू आएका छन् ।
बढ्यो नेपाली बजार चहलपहल
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सीमानाकामा कडाइ गरेको छ । सामान्य किनमेलका लागि सर्वसाधारण भारतीय बजार जाने गर्थे । चैतदेखि भएको लकडाउन र त्यसपछि नाकामा गरिएको कडाइले नेपाली बजारमा चहलपहल बढेको हो ।
सुनौली बजारमा दैनिक दुई करोडबराबरको कारोबार हुने गर्थ्यो । अहिले नाका ठप्प हुँदा त्यो रकम बुटवल, मणिग्राम, भैरहवालगायतका बजारहरूमा खर्च भइरहेको सिद्धार्थनगर उद्योग वनणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले जानकारी दिए ।
उनले भने, ‘खाद्यान्नलगायतका पसलमा चहलपहल बढेको छ । यसले दैनिक नेपाली रुपैयाँ करिब दुई करोड भारतीय बजार जानबाट रोकिएको छ ।’
सुनौली बजारमा किनमेल गर्न रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मीलगायतका जिल्लाबाट सर्वसाधारण जाने गर्थे ।