भारतमा जन्मिनु पनि षड्यन्त्र हुनेछ

शुक्रबार, २३ असोज, २०७७
डिजिटल संस्करण

एमनेस्टी इन्टरनेसनलमाथि प्रत्येक तानासाही सरकारले त्यही आरोप लगाउने गर्छन्, जुन आज भारतमा सरकार समर्थित मिडियाले लगाइरहेका छन्

हामी भिमाकोरेगाउँ ३ मा प्रवेश गरिसकेका छौँ । उत्तर प्रदेशको सरकार र भारतीय जनता पार्टीका प्रवक्ता मिडियाले हाथरसमा दलित किशोरीसँग भएको हिंसा तथा मृत्यु एउटा षड्यन्त्रअन्तर्गत भएको हो भनेर जोडतोडका साथ प्रचार गरिरहेका छन् । जबकि देशभर देखिएको विक्षोभ प्रदर्शन ती किशोरीमाथि भएको हिंसा र मृत्युले निम्त्याएको हो । इन्डियन एक्सप्रेसका अनुसार हाथरसको प्रहरीले यस सम्बन्धमा एकजनामाथि होइन, २० जनाभन्दा धेरैमाथि मुद्दा दायर गरेको छ । यी मुद्दा अज्ञात मानिसलाई लगाइएका छन् । मुद्दामा दाबी गरिएअनुसार प्रहरीले एउटा ठूलो अन्तर्राष्ट्रिय षड्यन्त्रको पर्दाफास गरेको छ ।

प्रहरीका अनुसार हाथरसको हिंसाको आडमा राज्यमा जातीय दंगा भड्काउन र उत्तर प्रदेश सरकारलाई बदनाम गराउन यी षड्यन्त्र रचिएका हुन् । सरकार समर्थक टिभी च्यानलहरूले सनसनीखेज समाचार प्रसारण गरिरहेकै छन् । उनीहरू भन्दै छन्, यो षड्यन्त्रमा एमनेस्टी इन्टरनेसनल सामिल छ र पपुलर फ्रन्ट अफ इन्डिया तथा सोसलिस्ट डेमोक्रेटिक पार्टी अफ इन्डियालाई पनि यसमा सामेल भएको बताइएको छ । यहाँ के स्मरण गर्नु आवश्यक छ भने हालै एमनेस्टी इन्टरनेसनल इन्डियाले भारत सरकारको प्रताडना सहन नसकेर आफ्नो कार्यालय बन्द गर्ने निर्णय गर्यो । 

एमनेस्टी इन्टरनेसनल विश्वभर मानव अधिकारका लागि निष्पक्ष आवाज उठाउने संस्थाका रूपमा परिचित छ । इरानमा होस् वा टर्कीमा सरकारविरोधीमाथि हुने दमनमा उसले सरकारको निरन्तर आलोचना गरिरहेको हुन्छ । रुसमा पनि एमनेस्टी इन्टरनेसनलले सरकारको लोकतान्त्रिक आचारणको विरोधमा आलोचना गरेको छ । अन्तर्राष्ट्रिय प्रतिष्ठाका कारण उसले गरेको आलोचनामा सरकारहरू आत्तिनु स्वाभाविकै हो । एमनेस्टी इन्टरनेसनलमाथि प्रत्येक तानासाही सरकारले त्यही आरोप लगाउने गर्छन्, जुन आज भारतमा सरकार समर्थित मिडियाले लगाइरहेका छन् ।

यसबीच एमनेस्टीले केही दिनअघि मात्रै एउटा प्रतिवेदन सार्वजनिक गरेर फेब्रुअरीमा दिल्लीहिंसामा प्रहरीको सहभागिता रहेको प्रमाण पेस गरेको थियो । त्यसभन्दा पहिले उसले कस्मिरमा भारत सरकारले गरेको दमनका विषयमा एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो । एमनेस्टीको दशकौँको आधिकारिकताका कारण त्यसको यो प्रतिवेदनले सरकारलाई संसारमै लज्जित हुनुपर्यो । सरकार एमनेस्टीलाई दमन गरेर त्यसको बदला लिन चाहन्छ । उत्तर प्रदेशमा हाथरसको प्रहरी र प्रशासनले जे गर्यो, त्यो दुनियाँसामु छर्लंग छ । सामान्यतः हिंसामा सिकार भएकाप्रति सरकारले सहानुभूति जनाउने गर्छ । तर, हाथरसमा त्यसको ठ्याक्कै उल्टो भयो । त्यसपछि सरकारी संयन्त्रले न्वारनदेखिको बल लगाएर बलात्कारको आरोप नै झुटो हो भनेर सावित गर्नतर्फ लाग्यो ।

सामान्यतः हिंसामा सिकार भएकाप्रति सरकारले सहानुभूति जनाउने गर्छ,  तर हाथरसमा त्यसको ठ्याक्कै उल्टो भयो । त्यसपछि सरकारी संयन्त्र न्वारनदेखिको बल लगाएर बलात्कारको आरोप नै झुटो हो भन्ने सावित गर्नतर्फ लाग्यो ।
 

अवस्था कस्तो थियो भने मारिएकी किशोरीका परिवारसमेत समग्र गाउँमै नाकाबन्दी गरियो र प्रशासनले परिवारलाई धम्की दिन थाल्यो । हाथरसको हिंसामा सरकार र मिडियाको भनाइ ठ्याक्कै उल्टो छ । सरकार सबैभन्दा पहिले हाथरसको हिंसाको गम्भीरतालाई नै कम गर्न चाहन्छ । दोस्रो, यसविरुद्धको जनविरोधलाई एउटा अन्तर्राष्ट्रिय षड्यन्त्र ठहर गरेर विरोधलाई अपराधमा बदल्ने प्रयास भइरहेको छ । यो भिमाकोरेगाउँ मोडेलको तेस्रो प्रयोग हो । ३१ डिसेम्बर २०१७ मा पुणेनजिक दलितले एल्गार परिषद् नामक कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमबाट फर्किंदै गर्दा उनीहरूमाथि हमला गरियो । झडपस्थलमै एकजना व्यक्तिको मृत्यु भयो । हमलाको आरोप सम्भाजी भिन्डे र मिलिन्द एकबोटेलाई लाग्यो । उनीहरूको सम्बन्ध भारतीय जनता पार्टीको राजनीतिक विचारधारासँग छ । उनीहरूका खिलाफ जाँच गर्नुको सट्टा प्रहरीले अर्कै कथा जन्माइदियो । उसका अनुसार एल्गार परिषद्को आयोजना नै एउटा षड्यन्त्र थियो, जसको लक्ष्य जातीय हिंसा भड्काउने थियो । 

पहिले पुणे प्रहरी र पछि एनआइएले यस षड्यन्त्रको अनुसन्धान आरम्भ गरिदियो । गहिरो र सुनियोजित षड्यन्त्र गरिँदै गरेको भन्दै देशभरि छापा मारियो र सुधा भारद्वाज, रोना विल्सन, महेश राउत, वर्नन गोन्जाल्वेस, सुरेन्द्र गाडलिगं, शोमा सेन, वरवर राव, गौतम नवलखा, आनन्द तेलतुम्बडे, हेनिबाबुजस्ता अधिवक्ता, मानव अधिकारकर्मी र बुद्धिजीवीलाई पक्राउ गर्दै हाल कबीर कला मञ्चका कलाकारलाई गिरफ्तार गरिएको छ । प्रहरीका अनुसार यी सबै षड्यन्त्रमा सामेल थिए । हुँदाहुँदा प्रहरीले यिनीहरूले प्रधानमन्त्रीको हत्या गर्नेसमेत षड्यन्त्र गर्दै गरेको आरोप लगाएको छ । एनआइएको छानबिन जारी छ र उसले सबै खालका मानव अधिकारकर्मी र वामपन्थी रुझान भएका बुद्धिजीवीहरूसँग केरकारको दायरा बढाइरहेको छ ।

प्रहरीले यस षड्यन्त्रका नाममा उमर खालिद, सरजिल इमाम, खालिद सैफी, मिरान हैदर, आसिफ तनहाजस्ता मुसलमान युवाहरूलाई गिरफ्तार गरिसकेको छ र नतासा नरवाल, देवांगना कलिता, गुल फिसां, इसरत जहांजस्ता महिलालाई पनि पक्राउ गरेको छ । प्रहरीले लेखक, अध्यापक, पत्रकार, फिल्मकारलाई पनि षड्यन्त्रमा सामेल भएको बताइरहेको छ । जसरी भिमाकोरेगाउँमा सरकार र प्रहरीले वास्तविक षड्यन्त्र गरेका छन्, त्यसैगरी दिल्ली प्रहरीले पनि षड्यन्त्र गरिरहेको छ । अहिले जनताको प्रत्येक विरोधलाई अपराध ठहर गरिँदै छ, षड्यन्त्र भनिँदै छ । त्यो दिन टाढा छैन, जतिवेला बेरोजगारीका खिलाफ बोल्नु, किसानको पक्षमा उभिनु सबै–सबै अन्तर्राष्ट्रिय षड्यन्त्रको हिस्सा हुनेछ । त्यतिवेला भारतमा जन्मिनु पनि एउटा षड्यन्त्र भनिनेछ । 

(लेखक दिल्ली विश्वविद्यालयका प्राध्यापक हुन्)
द वायरबाट 

सुझावित समाचार