विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पताल रुकुम पश्चिममा रोकिएको जटिल प्रकृतिको प्रसूति अप्रेसन सेवा सुरु भएको छ ।
स्त्री तथा महिला रोग विशेषज्ञ डाक्टर आएपछि अस्पतालमा अप्रेसन सेवा सुरु हुँदा जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ ।
अप्रेसनसहित अस्पतालबाट महिला तथा स्त्री रोगसम्बन्धी सेवा पनि प्रवाह भइरहेको छ ।
जिल्ला अस्पतालमा दुई महिनाजति रोकिएको जटिल प्रकृतिको प्रसूति शल्यक्रिया सेवा सुरु भएपछि गर्भवती महिलालाई सजिलो भएको छ ।
विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पतालमा शल्यक्रिया र प्रसूति सेवा ठप्प थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काज आएका एमडिजिपी डा. अनुपमंगल समाल काज फिर्ता भएर प्रतिष्ठानमै गएपछि जिल्ला अस्पताल विशेषज्ञ डाक्टरविहीन भएको थियो ।
स्त्री तथा महिला रोग विशेषज्ञ डा. केहलविक्रम जिसी आएपछि जिल्ला अस्पतालमा रोकिएको अप्रेसन सेवा सुचारु भएको हो । सेवा सुरु भएपछि अव अप्रेसन गर्नुपर्ने खालका गर्भवती महिलालाई जिल्ला बाहिर डिस्चार्ज गर्ने बाध्यता हटेको छ ।
विशेषज्ञ डाक्टर आएपछि सामान्य अवस्थामा सुत्केरी हुन नसक्ने खालका गर्भवति महिलाहरुलाई अप्रेसन गरेर सुत्केरी बनाउने देखि महिलाको पाठेघरको मुखमा देखिने समस्यासहित महिलासँग सम्बन्धित सबै खालका समस्याको उपचार सुरु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. राजकुमार भुजेलले जानकारी दिए ।
अप्रेसन सेवा बन्द भएपछि जटिल खालका केश जिल्ला बाहिर पठाउने गरिएको तर विशेषज्ञ डाक्टर आएपछि भने कुनै केश जिल्ला बाहिर नपठाईएको उनको भनाई छ ।
बरु जिल्ला बाहिरबाट रिफर भई आएका केश पनि हेर्ने गरेको उनले बताए ।
आफ्नो ज्ञान क्षमताले भ्याएसम्म जिल्लावासीलाई सेवा प्रवाह गर्ने नयाँ आएका स्त्री तथा महिला रोग विशेषज्ञ डा. केहलविक्रम जिसीले बताए ।
सकभर जिल्लामा नै उपचार सम्भव हुने खालका समस्यामा रिफर गरेर बाहिर नपठाउने उनले बताए ।