बजारमा छानीछानी मोबाइल

कोरोना महामारीबीचमा पनि विभिन्न नयाँ मोडलका स्मार्टफोन नेपाली बजारमा, साढे १४ हजारदेखि दुई लाख ५० हजार मूल्यका मोबाइल रोजेर किन्न सकिने

बुधबार, २१ असोज, २०७७
डिजिटल संस्करण

सामसुङको बहुप्रतीक्षित फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड–२ सोमबारदेखि नेपाली बजारमा प्रि–बुकिङ सुरु भएको छ । अघिल्लो महिना मात्रै विश्व बजारमा सामसुङले फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको थियो । किताबजस्तै फोल्ड गर्न मिल्ने स्मार्टफोन इ–कमर्स प्लेटफर्म स्मार्टडोको डटकमबाट पाँच हजार रुपैयाँ अग्रिम बुझाएर प्रि–बुकिङ गर्न सकिनेछ । यो स्मार्टफोन इ–कमर्स प्लेटफर्ममा दुई लाख ४९ हजार ९९९ रुपैयाँमा किन्न सकिने कम्पनीले जनाएको छ ।
-नेपाली स्मार्टफोन बजारमा नोकिया २.४ प्रवेश गरेको छ । एचएमडी ग्लोबलले आइतबार नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । ६.५ इन्चको एचडी प्लस स्क्रिन रहेको स्मार्टफोन भिडियो स्ट्रिमिङ र गेमिङका लागि उत्तम रहेको कम्पनीले जनाएको छ । यो स्मार्टफोनमा ४५ सय एमएएच क्षमताको ब्याट्री राखिएको छ । फिंगरप्रिन्ट र फेस अनलकजस्ता आधुनिक बायोमेट्रिक सेक्युरिटी फिचर रहेको स्मार्टफोनमा डुअल क्यामेरा, एआई इमेजिङबाट फ्युल्ड विस्तृत नाइट र पोट्रेट सट फिचर समावेश छ । दुई जिबी र्याम र ३२ जिबी रोम रहेको यो स्मार्टफोनको मूल्य नेपालमा १४ हजार ५९९ रुपैयाँ तोकिएको छ ।

-चिनियाँ स्मार्टफोन ब्रान्ड साओमीका बजारमा एमआई १० र एमआई नोट १० लाइट स्मार्टफोन उपलब्ध छन् । एमआई १० को सबैभन्दा आकर्षक विशेषता भनेको यसमा रहेको १०८ मेगापिक्सेलसहितको क्वाड क्यामेरा सेटअप हो, यसमा चारवटा क्यामेरा राखिएको छ । यो स्मार्टफोनमा थ्रिडी कब्र्ड एमोलेड डिस्प्ले र फास्टेस्ट ३० वाट वायरलेस चार्जिङ सुविधा छ ।

मोबाइलमा ४७८० एमएच क्षमताको ब्याट्री राखिएको छ । क्यामेरामा रहेको प्राइमरी सेन्सरले नांगो आँखाले नदेखिने विवरणहरूको अल्ट्रा क्लियर सटहरू खिच्न सक्ने कम्पनीको दाबी छ । यसको क्यामेराले ३० एफिएसमा युएचडी ८ के भिडियो खिच्न सक्छ । एमआई १० सुन्दर डिजाइन र भर्सटाइल कार्यक्षमताको पूर्ण संयोजन भएको स्मार्टफोन हो । दुईवटा कलरमा उपलब्ध यो स्मार्टफोनको मूल्य ८९ हजार ९९९ रुपैयाँ रहेको छ ।

-साओमीकै एमआई नोट १० लाइटमा ६४ एमपी क्वाड कोर सेटिङ छ । यसमा ५२६० एमएएच क्षमताको ब्याट्री हुनाले एकपटक चार्ज गरेर दुई दिन प्रयोग गर्न सकिन्छ । यो ६ जिबी र्याम र १२८ जिबी रोमसहित तीन कलरमा उपलब्ध छ । यसको बजार मूल्य ४४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यस्तै, साओमीकै रेडमी नोट ९ प्रो–म्याक्स पनि नेपाली बजारमा उपलब्ध छ ।

यसमा नयाँ क्वालकम स्न्यापड्रैंगन ७२० जी प्रोसेसरका साथ इन्ट्रिगेसन, ५०२० एमएएच क्षमताको ब्याट्रीलगायत सुविधा छन् । यसमा ६.६७ इन्चको एफएचडी प्लस डट डिस्प्लेका साथ २०.९ सिनेमेटिक स्क्रिनले इमर्सिभ अनुभव ल्याउँछ । नोट १० लाइटमा ६४ मेगापिक्सेल ब्याक क्यामेरा छ । यस्तै, फ्रन्टमा ठूलो ३२ एमपी सेन्सर छ, जसले उच्च गुणस्तरको फोटोग्राफी, भिडियोग्राफी र एआई फेस अनलक सक्षम गर्दछ । रेडमी नोट ९ प्रो म्याक्स ६ जिबी र्याम र १२८ जिबी स्टोरेज क्षमता भएकोलाई ३१ हजार ९९९ र ८ जिबी र्याम र १२ जिबी स्टोरेज क्षमता भएको भेरियन्टलाई ३४ हजार ९९९ रुपैयाँ पर्छ ।

-अहिले नेपाली बजारमा सामसुङको ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा स्मार्टफोन उपलब्ध छन् । नोट २० सिरिजमा कम्प्युटरमा जस्तै काम गर्न सकिने र गेमहरू खेल्न सकिने कम्पनीले जनाएको छ । नोट २० मिस्टिक ब्रोन्ज, मिस्टिक ग्रे र मिस्टिक ग्रिन कलरमा उपलब्ध छ । यस्तै, नोट २० अल्ट्रा मिस्टिक ब्रोन्ज र मिस्टिक ब्ल्याक कलरमा उपलब्ध छ ।

नेपाली बजारमा नोट २० को मूल्य एक लाख नौ हजार ९९९ र नोट २० अल्ट्राको मूल्य एक लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ । नोट २० अल्ट्रा फाइभ जी नेटवर्क प्रविधिमा आधारित छ । नोट २० मा ६४ मेगापिक्सेल र नोट २० अल्ट्रामा १०८ मेगापिक्सेल ट्रिपल रियर क्यामेरा रहेका छन् जसले ८ के क्वालिटीको भिडियो खिच्न सक्छ । वाइड रेन्जको फोटो खिच्न नोट २० र नोट २० अल्ट्रा निकै उपयुक्त स्मार्टफोन हो । अगाडिको सेल्फी क्यामेरा १० मेगापिक्सेलको छ । नोट २० मा ६.७ इन्च र नोट २० अल्ट्रामा ६.९ इन्च ठूलो डिस्प्ले रहेको छ । 

-नेपाली बजारमा एप्पलको आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स स्मार्टफोन उपलब्ध छन् । एप्पलको नेपाली विक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन गत वर्ष आइफोन ११ सिरिज नेपालमा सार्वजनिक गरेको थियो । यसै वर्षभित्र एप्पल आइफोन १२ सिरिज सार्वजनिक गर्ने तयारीमा छ । नेपालमा २५६ जिबी स्टोरेज भएको आइफोन ११ को मूल्य एक लाख ४४ हजार, ११ प्रोको मूल्य एक लाख ६९ हजार र ११ प्रो–म्याक्सको मूल्य एक लाख ८६ हजार रुपैयासँम्म रहेको छ ।

नेपालमा आइफोन ११ सिरिजको विभिन्न भेरियन्ट र स्टोरेज क्षमता हेरीकन एक लाख १८ हजारदेखि २ लाख ३७ हजारसम्मका उपलब्ध छन् । आइफोन ११ प्रो र ११ प्रो म्याक्स विभिन्न चार कलरमा उपलब्ध छ । आइफोन ११ मा ६.१ इन्च, ११ प्रोमा ५.८ इन्च र ११ प्रो म्याक्समा ६.५ इन्चको डिस्प्ले छ । यो मोबाइलले ४ के भिडियो खिच्न सकिन्छ ।

एप्पलले हालै आइफोन एसई सार्वजनिक गरेको छ । यो स्मार्टफोन १६ जिबी, ६४ जिबी, १२८ जिबी र २५६ जिबी स्टोरेज क्षमतामा उपलब्ध छ, जसको मूल्य क्रमशः ३५ हजार, ६७ हजार ५००, ७६ हजार र ९० हजार रुपैयाँ रहेको छ । यसमा ४.७ इन्चको डिस्प्ले, १२ मेगापिक्सेल क्यामेरा, ३ जिबी र्याम १८२१ एमएएच क्षमताको ब्याट्री रहेको छ ।

-नेपाली विक्रेता आई हबसँग सम्झौता गरेर मोबाइल एप रिचार्जरले भदौ तेस्रो साता वान प्लस ८ र ८ प्रो स्मार्टफोन सार्वजनिक गर्यो । पछिल्लो समय वान प्लस ब्रान्डका मोबाइल नेपालीमाझ लोकप्रिय बन्दै गइरहेका छन् । दुवै मोडल १२ जिबी र्याम र २५६ जिबी स्टोरेज क्षमतामा भित्रिएका हुन् । वान प्लस ८ मा पछाडि ४८ मेगापिक्सेलको मुख्य क्यामेरासहित तीनवटा क्यामेरा रहेका छन् ।

यस्तै, वान प्लस ८ प्रोमा दुईवटा ४८/४८ मेगापिक्सेलका क्यामेरासहित चारवटा क्यामेरा राखिएको छ । दुवै मोडलको फ्रन्टमा १६ मेगापिक्सेल क्यामेरा छन् । वान प्लस ८ मा ४३०० एमएएच क्षमताको ब्याट्री रहेको छ भने वान प्लस ८ प्रोमा ४५१० एमएएच क्षमताको ब्याट्री छ । वान प्लस ८ मा ६.५५ इन्चको डिस्प्ले छ भने ८ प्रोमा ६.७८ इन्चको डिस्प्ले छ । नेपाली बजारमा वान प्लस ८ को मूल्य ९३ हजार र वान प्लस ८ प्रोको मूल्य एक लाख २५ हजार रुपैयाँ तोकिएको छ । 

See More On

सुझावित समाचार