मंगलबार नेप्से परिसूचकमा ४ अंकको वृद्धि भएको छ । केही दिनको अन्तरालमा नेप्सेले अंग्रेजी अक्षरको डब्लू आकृति बनाएको छ । यो आकृतिले केही समय बजार बढ्ने प्रवृत्तिमा जाने संकेत गर्छ । यद्यपि, नेप्सेले डब्लू आकृति बनाएसँगै सीधा रेखामा अगाडि बढ्न थालेकाले केही दिन पर्खनु सही हुन्छ । नेप्से मंगलबार कारोबार अवधिमा समेत दुईपटक १ हजार ५ सय ८१ मा पुगेर बढेको छ । कारोबार सकिँदा नेप्से १ हजार ५ सय ८६ मा पुगेको छ ।
बजारले बढ्ने दरिलो आधार नपाएको भए पनि लगानीकर्ताको मनोविज्ञान हालसम्म भने दरिलो देखिएको छ । कारोबार रकम २ अर्ब हाराहारी नै रहेको छ भने करिब नेप्से केही समयदेखि झिनो अन्तरले घटबढ भइरहेको छ । बजार बढ्न मात्र होइन, घट्न पनि सकिरहेको छैन । यसले बजारमा स्पष्ट दिशा लिन नसकेको नै देखाउँछ ।
मंगलबार भने २ अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका १२ समूहमध्ये ६ समूहगत परिसूचक मात्र घटेको छ । लगानीकर्ताले सजिलै किनबेच गर्न सक्ने सेयरको कारोबारमापक फ्लोट परिसूचक पनि सुधार भएको छ ।
जलविद्युत्मा भने लगानीकर्ताको आकर्षण कम भएको छैन । करिब ८ देखि १० प्रतिशतले मूल्य बढ्ने २० कम्पनीमा पनि १९ कम्पनी जलविद्युत् समूहकै रहे । उच्च कारोबार हुने कम्पनीहरूमा समेत जलविद्युत् कम्पनी नै छन् । नेसनल हाइड्रोको ११ करोड रुपैयाँ र सानिमामाई जलविद्युत्को १० करोड रुपैयाँको कारोबार भएको छ ।
१ सय ९५ कम्पनीमा ७४ कम्पनीको मूल्य बढ्यो, ७८ कम्पनीको मूल्य घट्यो भने १८ कम्पनीको स्थिर देखिएको छ । बैंकिङ, होटेल, निर्जीवन बिमा, लघुवित्त, जीवन बिमा र सामूहिक लगानी कोषको समूहगत परिसूचक घटेको छ । मूल्य बढेका समूहमा पनि जलविद्युत् समूहबाहेक अन्य समूहको भने सीमान्तदरमा वृद्धि भएको छ ।