प्रदेशको हित र साझा मनोविज्ञान निर्माण गर्न दाङमा राजधानी तोकियो : मुख्यमन्त्री पोखरेल

मंगलबार, २० असोज, २०७७
डिजिटल संस्करण

प्रतिपक्ष दलका नेताको सम्बाेधनपछि प्रदेश सभा बैठकलाई मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरिरहेका छन् । 

उनले प्रदेशको स्थायी राजधानी तोक्ने सवालमा समग्र प्रदेशको हितलाई ध्यानमा राख्दै साझा मनोविज्ञान निर्माण गर्न राजधानीका लागि प्रस्तावित ठाउँ उपयुक्त भएको बताए । उनले आगामी दुई वर्षभित्र भर्जिन ल्यान्डलाई नमुना सहर बनाउने दाबी गरे । 

मुख्यमन्त्री पोखरेलले प्रदेशको समग्र विकासका लागि प्रदेश सरकारले अथक प्रयास गरिरहेकाे बताए । रुपन्देहीलाई पर्यटकीय राजधानी निर्माण गर्नेदेखि विभिन्न जिल्लाका विकासका कार्यक्रमबारे चर्चा गरेका छन् ।

समग्र लुम्बिनी क्षेत्रको विकास गरी यो क्षेत्रलाई आर्थिक तथा पर्यटकीय र वित्तीय राजधानीका रुपमा विकास गरिने उनको भनाइ थियो।

मुख्यमन्त्री पोखरेलले पाल्पाको रामपुर क्षेत्रलाई विशेष सहर बनाउने बताए। पूर्वी रुकुमलाई एकमात्रै हिमाली जिल्लाका रुपमा पर्यटकीय विकास गरिने जनाए। 

उनले प्रस्तावित राजधानी देउखुरी क्षेत्रमा रहेका लालमटिया, सिसहनिया, गोवडिया, खुबरिया क्षेत्र थारु संस्कृतिका ऐतिहासिक क्षेत्र भएको बताए। उनले भने, ‘त्यसैले प्रस्तावित राजधानी सबै हिसाबले उपयुक्त छ । प्रस्तावित राजधानीका लागि कसैले मन खुम्च्याउनु पर्दैन।’

उनले तीन वटा संसदीय समितिले बनाएर दिएको रिपोर्टअनुसार नै राजधानी र नामाकरण प्रस्ताव गरिएको जनाए। उनले भने, ‘समितिले पहिलोमा दाङ, दोस्रोमा कपिलवस्तु र तेस्रोमा रुपन्देहीलाई भनेको छ। त्यसैले हामीले विशेष समितिको प्रतिवेदनअनुसार नै राजधानी प्रस्ताव गरेका हौं।’ 

उनले राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो राजधानी बनाउने भन्ने विषयमा छलफल गर्नुपर्ने बताए । मुख्यमन्त्री पोखरेलले स्थायी राजधानी र नामबारे सरकारले गरेको प्रस्ताव एकमतले पारित गर्न आग्रह गरे।

सुझावित समाचार