काठमाडौं महानगरपालिकाले वडा कार्यालयका लागि आफ्नै भवन निर्माणका योजनालाई प्राथमिकता दिएको छ ।
नयाँ संरचनामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि आफ्नै भवन निर्माणका योजनाले प्राथमिकता पाएका छन् । वडा नं. ९ र २६ ले आफ्नै भवन निर्माण गरी नयाँ भवनबाट सेवा सञ्चालन गरेका छन् ।
यस्तै, वडा नं. ३, ४ र १४ ले आफ्नै भवन निर्माण अन्तिम चरणमा पुऱ्याएका छन् ।
वडा नं. ६ को भवन निर्माणका लागि काम सुरु भइसकेको छ भने वडा नं. २, १२, २१ २९ र ३२ पनि भवन निर्माणकर्ता छनाेटका लागि टेन्डरकाे प्रक्रियामा छन् ।
वडा नं. २० र १६ ले आफ्नै भवन निर्माणका लागि डिजाइन सकेर टेन्डर प्रक्रियामा जाने तयारीमा रहेका महानगरले जनाएको छ । यस्तै, महानगरले २३ र ३० नं. वडामा पनि भवन निर्माणका लागि जग्गा खरिद गर्न बजेट विनियोजन गरेको छ ।
वडा नं. २२ ले पनि आफ्नै कार्यालय भवन निर्माण थालेको छ । मेयर विद्यासुन्दर शाक्य र सांसद कृष्णगोपाल श्रेष्ठले सोमबार कार्यालय भवनको संयुक्त रूपमा शिलान्यास गरे ।
मेयर शाक्यले महानगरले सबै वडाले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यले लिएर भवन निर्माणलाई प्राथमिकतामा राखिएको बताए ।
चार करोड १९ लाख ७३ हजार रुपैयाँ लागत रहेको भवन निर्माण गर्न के एन्ड के.जी. रमिता कन्स्ट्रक्सन प्रा.लि. ले तीन करोड २० लाख १४ हजारमा ठेक्का पाएको छ ।
०७८ असार मसान्तभित्र सम्पन्न हुने गरी भवन निर्माणको ठेक्का लगाएको वडाध्यक्ष चीनकाजी महर्जनले जानकारी दिए । तीन आना जग्गामा निर्माण हुने ६ तले भवन ६ जना अट्ने लिफ्टसहितको हुनेछ ।
चार तलासम्म हरेक तालमा चारवटा कोठा हुनेछन् भने अन्तिम तलामा बैठक कक्ष हुनेछ ।
संकटा परिसरमा ‘क्वाःपा द्यो छेँ’को शिलान्यास
काठमाडौं महानगरपालिकाले संकटा परिसरमा रहेको ‘क्वाःपा द्यो छेँ’ पुनर्निर्माण गर्ने भएको छ ।
भवनको सोमबार मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गरे । ०७२ सालको भूकम्पले जीर्ण बनेपछि यो संरचना पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको थियो ।
यसको पुनर्निर्माण ‘संकटा संरक्षण समिति’ले ९९ लाख ३८ हजार रुपैयाँ लागतमा गर्नेछ ।
‘काठमाडौंको पहिचान भनेकै स्थानीय मूर्त–अमूर्त सांस्कृतिक सम्पदा हुन् । यी सम्पदाको संरक्षण गर्ने स्राेत महानगरले उपलब्ध गराउँछ,’ शिलान्यासपछि मेयर शाक्यले भने ।
द्यो छेँ १७औँ शताब्दीमा ठूलो आँगनसहित बहाल शैलीमा निर्माण भएको संरचना मानिन्छ ।
इ.सं. १९३४ मा यसको पुनर्निर्माण भएको अभिलेखमा देखिन्छ । बुद्ध धर्मावलम्बीले सञ्चालन गर्ने धार्मिक गतिविधिसँग यो भवन सम्बन्धित छ ।
भवनभित्र र बाहिर बुद्धका विभिन्न रूपका मूर्ति राखिएका छन् । तीनतले यो भवन नेपाली शैलीको घर हो । यसलाई मौलिक निर्माण सामग्रीको प्रयोग गरेर बनाइनेछ ।