बेलायतमा एकजना ६३ वर्षीय वृद्धले एक सय ४९ दिनपछि कोरोना संक्रमण जितेका छन् । उनी बेलायतमा लामो समय संक्रमित रहेर निको हुनेमध्येमा पर्छन् ।
अनिल पटेल नाम गरेका ती वृद्धलाई गत मेको सुरुवातमै संक्रमण देखिएको थियो । उनी उत्तरी लन्डनको चादवेल हिथस्थित आफ्नै घरमा बिरामी भएका थिए । त्यसपछिको परीक्षणमा उनमा कोरोना भाइरस संक्रमण देखिएको थियो । लगत्तै उनलाई इल्फोर्डस्थित किङ जर्ज अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले चार महिना आइसियूमा बिताए । चार महिनाको कठिन अस्पताल बसाइपछि उनी यसै साता निको भएर घर फर्किएका छन् । पटेल सुरुवातको दुई महिनाबारे आफूलाई केही थाहा नभएको बताउँछन् । ‘मलाई यति थाहा छ कि छोरीले एम्बुलेन्स बोलाएकी थिइन् र मलाई अस्पताल लगिएको थियो,’ अस्पतालबाट निस्कँदै गर्दा पटेल भन्छन्, ‘त्यसपछिको दुई महिना के भयो मलाई केही थाहा छैन ।’
उनले अस्पताल बसाइ निक्कै कष्टकर भएको सुनाए । ‘मेरो अस्पताल बसाइ साँच्चै उतार–चढावपूर्ण रह्यो । कति समय मैले आफैँलाई निकै रिसाइरहेको पाएँ,’ उनी भन्छन्, ‘अहिले सबै ठीक हुँदै छ । अस्पतालका कर्मचारीले निकै राम्रो ख्याल गरे । उनीहरूले मेरो जीवन बचाइदिएका छन् । अहिले मलाई सबैले चिन्छन् । डाक्टर, नर्सदेखि अस्पतालमा काम गर्ने सबैले मलाई चिन्छन् । उनीहरू मेरो परिवारजस्तै भएका छन् ।’
दुई सन्तानका पिता पटेल अस्पताल छाडेर आवासीय ‘रिह्याब’मा बस्छन्, जहाँ उनले थप स्वास्थ्यलाभ गर्नेछन् । उनी चाँडै घर फर्कन चाहन्छन् । उनी आगामी नोभेम्बरमा पर्ने आफ्ना दुवै छोरीको जन्मदिन मनाउन घर पुग्न चाहन्छन् । उनी भन्छन्, ‘मेरो साँच्चै एउटा सुन्दर परिवार छ । म उनीहरूका लागि पनि घर फर्कन चाहन्छु ।’ उनको घर फर्कने समय भने उनी जति छिटो पूर्ण ठीक हुन्छन् त्यति नै छिटो सम्भव हुनेछ ।
अस्पताल भर्ना भएदेखि उनले आफ्नो परिवारसँग एकपटक मात्रै भेट्न पाएका छन् । त्यो पनि टाढैबाट । उनको परिवार अस्पताल आउँदा स्वास्थ्यकर्मीले बाहिर निकालेर हेर्न दिएका थिए । ‘त्यसबाहेक मैले मेरो परिवारलाई भेट्न पाएको छैन । मैले भिडियो कलमार्फत कुरा गर्ने गरेको छु । तर, भिडियो कुराकारी भेटेजस्तो हुँदैन,’ उनी भन्छन्, ‘म परिवारसँग जान चाहन्छु ।’
उनले अस्पतालमा आफ्नो समयको ९० प्रतिशत समय फोनमै बिताउने गरेको सुनाए । ‘मेरा तीन दिदीबहिनी छन् । उनीहरूका नानीहरू पनि छन् । म अस्पतालमा रहँदा धेरैजसो समय परिवारका यिनै सदस्यसँग कुरा गरेर बिताउँथेँ,’ उनी भन्छन्, ‘त्यसबाहेक अस्पतालका अरू कर्मचारीसँग कुरा गरेर बिताउँथेँ ।’
अस्पतालमै मनाए जन्मदिन
बिल्डिङ म्यानेजर पटेलले अस्पतालमै रहँदा गत अगस्टमा आफ्नो ६३औँ जन्मदिन मनाएका थिए । अस्पताल कर्मचारीले उनको जन्मदिन मनाइदिएका थिए ।
भाइरस संक्रमणका कारण मृत्युको मुखबाट फर्किएका पटेल सरकारले जारी गरेको निर्देशन नमान्ने व्यक्तिहरूका लागि चेतावनीपूर्ण सन्देश दिन चाहन्छन् । उनी भन्छन्, ‘म जुन अवस्थाबाट गुज्रिएको छु, अरूले यो अवस्था भोग्नु नपरोस्, यही कामना गर्छु । त्यसैले सबैले मास्क प्रयोग गर्नुहोस् । सरकारले भाइरस संक्रमण फैलन नदिन जारी गरेको निर्देशन पालना गर्नुहोस् ।’
सामान्य सुरक्षाका उपाय नअपनाउने सर्वसाधारणप्रति उनको आक्रोश पनि छ । ‘मास्कसम्म प्रयोग नगर्ने मान्छेहरू देख्दा निकै रिस उठ्छ । उनीहरूले जे गर्नुपर्ने हो, त्यही गरिरहेका छैनन्,’ उसको अनुरोध छ, ‘मजस्ता पीडित व्यक्तिलाई हेरेर पनि सुरक्षाको उपाय अपनाउनुस् ।’