प्रेसिडेन्सियल डिबेटमा मिडिया

अमेरिकी मिडियामाझ खुलेर राजनीतिक पक्षधरता लिने परम्परा छ, तर राष्ट्रपतीय डिबेटका लागि टिभी प्रस्तोतामाझबाट मोडरेटर छान्दा तटस्थ व्यक्ति खोजिन्छ

सोमबार, १९ असोज, २०७७
डिजिटल संस्करण

अमेरिकी राजनीतिमा लामो समयदेखि केवल दुई पार्टी, डेमोक्र्याटिक र रिपब्लिकन हावी छन् । सन् १८५२ यताका हरेक निर्वाचन यिनै दुईमध्ये एकले जितिरहेका छन् । सन् १८५६ यता अमेरिकी व्यवस्थापिका (कंग्रेस)मा पनि यिनै दुई दलको आधिपत्य छ । समय–समयमा तेस्रो दलले पनि राज्य एवं राष्ट्रिय तहका व्यवस्थापिकामा स–साना प्रतिनिधित्व प्राप्त नगरेका भने होइनन् । तर, ती दल कहिल्यै स्थापित हुन सकेका छैनन् । यी दलबाट राष्ट्रपति हुने त सम्भावना नै देखिँदैन । राष्ट्रपतीय उम्मेदवार भनेर आमरूपमा डेमोक्रेट्स र रिपब्लिकन पार्टीका उम्मेदवार नै हुन्छन् । 

एकपटक यी दुई पार्टीले आफ्नो राष्ट्रपतीय उम्मेदवार निक्र्योल गरिसकेपछि निर्वाचन उम्मेदवारबीच राष्ट्रपतीय डिबेट हुन्छ । पछिल्लो समय डिबेट (बहस) अमेरिकी राष्ट्रपतीय चुनावको महत्वपूर्ण हिस्सा बनिसकेको छ । यसको बहस तत्कालीन समयका सबैभन्दा जल्दोबल्दो विषयमा केन्द्रित हुने गर्छ । राष्ट्रपतीय बहसलाई त्यहाँ कानुनमार्फत नै वैधानिकता दिइएको छ । यसको उद्देश्य चुनावको मुखमा उम्मेदवारको अडानबारे अवगत गराउनु र लोकतन्त्रलाई सबल बनाउने रहेको छ । त्यसका अतिरिक्त कुनै दल वा उम्मेदवारबारे निर्णय नगरिसकेका मतदातालाई उम्मेदवारबारे जानकारी दिनु पनि यसको मनसाय हो । यसैले यो डिबेटलाई मतदाता शिक्षा मानिन्छ । 

अहिले अमेरिकी राजनीतिमा महत्वपूर्ण स्थान ओगटेको राष्ट्रपतीय डिबेटको इतिहास भने त्यति पुरानो छैन । राष्ट्रपतीय डिबेटको सञ्चालन अमेरिकीमाझ टेलिजिभनको प्रयोग व्यापक भइसकेको १९६० बाट सुरु भएको हो । यद्यपि, डिबेटलाई सुरुदेखि नै रेडियोहरूले पनि प्रसारण गर्ने गर्छन् । पछिल्लो समय इन्टरनेटको प्रभाव बढेसँगै ती माध्यमबाट पनि प्रसारण सुरु भएको छ ।

सन् १९६० को चुनावमा पहिलोपटक राष्ट्रपतीय डिबेट सम्पन्न भएको थियो । सिकागोस्थित सिबिएस टिभीको प्रसारण केन्द्रमा सम्पन्न डिबेटमा रिपब्लिकन पार्टीका उम्मेदवार रिचार्ड निक्सन र डेमोक्रेटिक पार्टीका प्रत्यासी जोन एफ. केनेडी सहभागी थिए । दुई प्रत्यासीबीच चार अलग–अलग डिबेट भएका थिए, तर यीमध्ये सबैभन्दा पहिलो डिबेटले धेरै प्रभाव पार्यो । सोही बहसले केनेडीलाई राष्ट्रपतिको आसनमा पुर्याउन सघाएको मानिन्छ ।

हुन त केनेडी र निक्सनबीचको बहस अमेरिकी चुनावको पहिलो राजनीतिक बहस थिएन । त्यसको सय वर्षअघि नै सन् १८५८ मा अब्राहम लिंकन र स्टफेन ए. डग्लसबीच भएको थियो । तर, सो बहस राष्ट्रपति पदका लागि भएको थिएन । ती दुई इलियानोस राज्यको सिनेट पदका लागि प्रतिस्पर्धा गर्दै थिए । मोडरेटर नराखी खुला स्थानमा सम्पन्न बहसमा दुई नेताले आफ्नो चुनावी मुद्दा सर्वसाधारणसामु राखेका थिए ।

डिबेटको केन्द्रमा तत्कालीन समयमा अमेरिकामा चर्को विवादको विषय बनेको दासप्रथा थियो । लिंकनले दासप्रथालाई प्रश्रय दिन नहुने प्रगतिशील विचार अघि सारेका थिए भने डग्लस यथास्थितिकै पक्षपाती देखिए । बहसलाई लिएर स्थानीय पत्रिकाहरू लिंकन र डग्लसको पक्ष र विपक्षमा बाँडिए । लिंकनले बहसको विषय समेटेर पछि पुस्तक नै निकाले, जुन राज्यभन्दा बाहिर पनि चर्चित बन्यो ।

बहसको व्यापक कभरेजका कारण कम परिचित राजनीतिज्ञ लिंकन एकाएक अमेरिकी राष्ट्रिय राजनीतिमा चर्चामा आए । हुन त सिनेटको चुनाव डग्लसले जिते, तर यो बहसले अब्राहम लिंकनलाई घाटा भने गरेन । सन् १८५८ को बहसका कारण उनी अमेरिकी सर्वसाधारणमाझ परिचित भए र दुई वर्षपछिको राष्ट्रपति चुनावमा बलियो प्रतिस्पर्धी बने ।

निकै ध्रुवीकृत सन् १८६० को राष्ट्रपतीय निर्वाचन अन्ततः लिंकनले जिते । यसपछि एक–दुईपटक राष्ट्रपतीय बहसको प्रयास भए पनि तिनले सार्थक रूप लिन सकिरहेका थिएनन् । त्यसपछि सन् १९४८ र सन् १९५६ मा पनि चुनावी डिबेट भए । तर, ती डिबेट राष्ट्रपतिका अन्तिम दुई उम्मेदवारबीच नभएर पार्टीले आन्तरिक आकांक्षीहरू छनोट गर्न आयोजना गरेका थिए । 

अमेरिकाको प्रभावशाली केनेडी परिवारबाट आएको भए पनि ४३ वर्षका केनेडीलाई अनुभवहीन उम्मेदवारका रूपमा हेरिएको थियो । उनी अमेरिकी राजनीतिमा शक्तिशाली मानिने सिनेटमा विजयी भएको पनि धेरै भएको थिएन । उता, निक्सन भने आठ वर्ष उपराष्ट्रपति रहिसकेका थिए । यसैले अनुभवी, परिपक्व उम्मेदवारको हिसाबमा उनले अग्रता लिएका थिए । उनले यस अग्रताका कारण हुन सक्छ, आत्मविश्वासका साथ पहिलो राष्ट्रपतीय डिबेटको तयारीमा ध्यान दिएनन् ।

बहसको व्यापक कभरेजले लिंकन एकाएक राष्ट्रिय राजनीतिज्ञका रूपमा उदाए । उनले बहसमा उठाइएका विषय समेटेर पछि पुस्तक निकाले, जुन राज्यभन्दा बाहिर पनि चर्चित बन्यो । सिनेटको चुनाव डग्लसले जिते, तर यही बहसको परिणाम अब्राहम लिंकन अमेरिकाभरका आमसर्वसाधारणमाझ परिचित भए र उनी दुई वर्षपछिको राष्ट्रपति चुनावमा बलियो प्रतिस्पर्धीका रूपमा उदाए ।

निक्सनले यस त्रुटिका कारण आफ्नो अग्रता मात्रै गुमाएनन्, राष्ट्रपतीय चुनावमा हार भोगे । निक्सन डिबेटमा एउटा राजनीतिक र्याली सकाएर पुगेका थिए । उनको अनुहार एकदम मलिन तथा थकित देखिएकाले डिबेट आयोजकले उनलाई मेकअपको प्रस्ताव राखेको बताइन्छ । तर, उनले आयोजकको प्रस्ताव अस्वीकार गरिदिए । बरु उनकै टिमका मानिसले उनको अनुहारमा रहेको दाह्री काट्दा बसेको डामले असर पार्ने लागेर केही क्रिम दलिदिएका थिए । तर, यसले उल्टो नकारात्मक असर गर्यो । डिबेट सम्पन्न भएको कक्षमा एयरकन्डिस्नरको व्यवस्था नहुँदा गर्मी थियो । यसका कारण उत्पन्न पसिनाले उनको क्रिम बगाएकाले अनुहार झनै उत्साहहीन देखिन्थ्यो । 

डिबेट अवधिभर टेलिभिजन पर्दामा निक्सनको मुहार निकै थाकेको र गलेको देखिएको थियो । डिबेटमा निक्सनको यस्तै अनुहार देखेर डिबेट सकिएलगत्तै निक्सनकी आमाले उनलाई फोन गरेर केही बिरामी भएको छ कि भनेर सोधेकी थिइन् रे । उता, केनेडी केही दिनअघिदेखि एक होटेलमा सहयोगीका साथ डिबेटको तयारीमा जुटेका थिए र डिबेटमा आउनुअघि उनले आराम गरेको बताइन्छ । उनको प्रस्तुति निकै सहज तथा आत्मविश्वासी देखिन्थ्यो । निक्सनको प्रस्तुति पनि कमजोर थिएन । तर, प्रस्तुति र बडिल्याङ्ग्वेज विषयमाथि हावी भयो ।

केनेडीले डिबेटका लागि लगाएको चहकिलो कोटले समेत उनलाई फाइदा गरेको बताइन्छ । डिबेट कक्षको भित्ताको रङ र निक्सनको खैरो रङ मिलेकाले श्यामश्वेत टेलिभिजनको जमानामा उनी त्यति खुलेका देखिएका थिएनन् । सन् १९६० को राष्ट्रपतीय डिबेटमा दुई सहभागीको एजेन्डामा खासै भिन्नता थिएन । दुवैले राष्ट्रिय सुरक्षा, कम्युनिजमको खतरा, अमेरिकी सेनाको सुदृढीकरण आदिलाई जोड दिएका थिए । बहसको एक क्षणमा निक्सन आफैँले केनेडीको भनाइमा सहमति जनाएका थिए । ऐतिहासिक रेकर्डका अनुसार निक्सनले सो दिन आफूले तयारीमा जोड नदिएकोमा पछुतो मानेका थिए । पहिलो टेलिभिजन बहसबाटै अमेरिकी राष्ट्रपतीय चुनावमा नीतिभन्दा प्रस्तुति हावी हुने युग सुरु भएको मानिन्छ ।

केनेडीको हत्या, निक्सन (केनेडीसँग हारेका निक्सनले आठ वर्षपछिको राष्ट्रपतीय चुनाव जितेका थिए)को राजिनीतिक स्क्यान्डलजस्ता कुराले सन् १९६० पछिका तीन चुनावमा पुनः राष्ट्रपतीय डिबेट भएन । तिनमा प्रभाव परेको थियो । त्यसपछि एकैपटक सन् १९७६ मा राष्ट्रपतीय डिबेट भयो । डिबेटमा रिपब्लिकन उम्मेदवार जेराल्ड फोर्ड तथा डेमोक्रेटिक प्रतिद्वन्द्वी जिमी कार्टर सहभागी भए । यही डिबेटका क्रममा फोर्डले पूर्वी युरोपमा कुनै पनि सोभियत नियन्त्रण नभएको टिप्पणी गरेपछि उनको जनमत एक्कासि खस्कियो ।

चुनावमा कार्टर विजयी भए । सन् १९८० को राष्ट्रपतीय डिबेटमा कमजोर प्रदर्शन गरेका कारण कार्टरले दोस्रो कार्यकाल शासन गर्न पाएनन् । उनले अभिनयबाट राजनीतिमा प्रवेश गरेका रोनाल्ड रेगनसँग चुनाव हार्नुपर्यो । पछि राष्ट्रपतीय डिबेट अमेरिकी राष्ट्रपति चुनावको अनिवार्य हिस्सा भयो । यसलाई व्यवस्थित गर्न सन् १९८७ मा एक स्वतन्त्र निकाय कमिसन अन प्रेसिडेन्सियल डिबेट्सको स्थापना गरियो ।

अमेरिकाका दुई पार्टीले यस निकायको गठनमा सहमति जनाएका थिए । पहिलो राष्ट्रपतीय डिबेट टेलिभिजन च्यानलहरूको प्रयासमा सम्भव भएको थियो । त्यसपछिका तीन डिबेट राजनीतिमा महिलाको सहभागिताको वकालत गर्ने संगठन लिग फर वुमिन भोटर्स नामक संगठनले प्रायोजन गर्यो । सन् १९८८ को चुनाव र त्यसपछिका हरेक राष्ट्रपतीय डिबेटको संयोजन तथा प्रायोजन कमिसन अन प्रेसिडेन्सियल डिबेट्सले गरिरहेको छ ।

कमिसन अन प्रेसिडेन्सियल डिबेट्सले राजनीतिक स्वतन्त्रता कायम गर्नका लागि न कुनै दलबाट अनुदान लिन्छ, न त सरकारबाट नै । उसले निजी अनुदानमार्फत उठाएको पैसाले डिबेट मात्रै गर्दैन, त्यसको तयारीसम्बन्धमा अनुसन्धान पनि गर्ने गर्छ । यो निकायमा अमेरिकाका दुवै ठूला पार्टीका पूर्वपार्टीप्रमुख बस्ने चलन छ । तिनले उम्मेदवार तथा तिनको चुनावी अभियान टिमसँग समन्वय गरेर डिबेटको फम्र्याटमा सहमति कायम गर्छन् । 

कमिसन अन प्रेसिडेन्सियल डिबेट्सले डिबेटको मोडरेटरको पनि चयन गर्छ । मोडरेटरका लागि कमिसनले विभिन्न मापदण्ड तोकेको छ । कमिसनको आधिकारिक वेबसाइटका अनुसार मोडरेटरले तीनवटा मापदण्ड पूरा गरेका हुन्छन् : १) उम्मेदवारलाई राम्ररी चिनेको हुनुपर्ने र राष्ट्रपतीय चुनावी अभियानको प्रमुख मुद्दाबारे जानकार हुनुपर्ने, २) प्रत्यक्ष टेलिभिजन कार्यक्रम सञ्चालनको गहिरो अनुभव भएको, ३) डिबेटको प्रमुख ध्यान उम्मेदवारमाथि र तिनका विचारमाथि हुनुपर्छ भन्ने बुझाइ भएको । प्रश्न चयनको सम्पूर्ण जिम्मा भने मोडरेटरको मात्र हुन्छ । प्रश्न उम्मेदवारलाई मात्र होइन, तिनलाई चयन गर्ने कमिसन अन प्रेसिडेन्सियल डिबेट्सलाई पनि देखाउन पाइनेछैन ।

तिनले कुनै पनि चुनावी अभियानका टिमसँग भेट्न पाउँदैनन् र कुनै दलको चुनावी टिमले पनि यही व्यक्तिलाई मोडरेटर बना भन्न पाउँदैन । यो भूमिका भने कमिसन अन प्रेसिडेन्सियल डिबेटको मात्र हुन्छ । विगतमा एकभन्दा बढी मोडरेटर राखिने चलन भए पनि सन् १९९६ देखि भने एउटा डिबेट समारोहलाई एकजना मोडरेटरले नै सञ्चालन गरिरहेका छन् । त्यसको अपवाद भने सन् २०१६ को दोस्रो राष्ट्रपतीय डिबेट समारोह थियो । त्यसलाई एबिसी च्यानलकी मार्था रबाट र सिएनएनका एन्डरसन कुपरले संयुक्त रूपमा सञ्चालन गरेका थिए । 

कमिसन अन प्रेसिडेन्सियल डिबेट्सले राजनीतिक स्वतन्त्रता कायम गर्नका लागि न कुनै दलबाट अनुदान लिन्छ, न त सरकारबाट नै । उसले निजी अनुदानमार्फत उठाएको पैसाले डिबेट मात्रै गर्दैन, त्यसको तयारीसम्बन्धमा अनुसन्धान पनि गर्ने गर्छ । यो निकायमा अमेरिकाका दुवै ठूला पार्टीका पूर्वपार्टीप्रमुख बस्ने चलन छ ।
 

अमेरिकी राष्ट्रपतीय बहसको ढाँचाको कुरा गर्दा ती सधैँ एकैनासे हुँदैनन् । कुनै बहसमा उम्मेदवार पोडियममा उभिएका हुन्छन् भने कुनैमा कन्फरेन्स टेबलका दुईतर्फ उम्मेदवार र अर्कातर्फ मोडरेटर हुन्छन् । कस्तो फम्र्याटमा बहस गर्ने, त्यसबारे पहिले नै तय गरिएको हुन्छ । कुनै ओपनिङ स्टेटमेन्ट हुँदैन, क्लोजिङ स्टेटमेन्ट मात्रै राखिन्छ । पहिलो प्रश्नको उत्तर र समापन मन्तव्य कसले दिने टसबाट निक्र्योल गरिन्छ ।

प्रश्न सोधेपछि प्रत्येक उम्मेदवारलाई उत्तरका लागि दुई मिनेट समय दिइन्छ । त्यसपछि प्रतिस्पर्धी उम्मेदवारलाई पूर्ववर्ती उत्तरदाताको उत्तरप्रति प्रतिक्रिया जनाउन र आफ्ना कुरा राख्न एक मिनेट दिइन्छ । मोडरेटरले स्वविवेकमा छलफलको अवधि हरेक उम्मेदवारका लागि ३० सेकेन्डसम्म लम्ब्याउन सक्छन् । पछिल्लो समय जनाउ दिन ट्राफिक लाइटको पनि प्रयोग गरिन थालिएको छ । यसमा हरियो बत्तीले ३० सेकेन्ड, पहेँलोले १५ सेकेन्ड र रातो बत्तीले ५ सेकेन्ड समय बाँकी रहेको जनाउँछ । समय सकिएको जनाउ दिन कहिलेकाहीँ बजरसमेत प्रयोग गरिन्छ ।

अमेरिकी मिडियामाझ खुलेर राजनीतिक पक्षधरता लिने परम्परा छ । त्यस्तो वातावरणमा काम गरेका टिभी प्रस्तोता मोडरेटर हुँदा तिनबाट कुनै एक उम्मेदवारप्रति उग्र पक्षधरता नहोस् भन्ने ख्याल गरिन्छ । पछिल्लो समय हरेकपटकका राष्ट्रपतीय डिबेटहरू अघिल्लाभन्दा उग्र भएको चर्चा चल्ने गर्छ । सन् २०२० को राष्ट्रपतीय चुनावका लागि सेप्टेम्बर २९ मा सम्पन्न पहिलो राष्ट्रपतीय चुनावमा सहभागी दुई उम्मेदवारले विगतका सबै दृष्टान्तलाई बिर्साउने गरी उग्रता देखाएको भन्दै सर्वत्र विरोध भइरहेको छ । तर, राष्ट्रपतीय बहस उम्मेदवारका चुनावी मुद्दामा भन्दा तिनको व्यक्तित्व र प्रस्तुतिमा केन्द्रित हुन लागेको यस्तो स्थिति आउनु स्वाभाविक भएको केही विज्ञले बताउने गरेका छन् ।

उम्मेदवारले राम्रो तयारीमार्फत डिबेटमा आफ्ना कमजोरीलाई ढाकछोप गर्न सक्ने र मानिसलाई भ्रमपूर्ण तरिकाले आकर्षित गर्न सक्ने तिनको विचार छ । उम्मेदवारबारे जानकारी दिने र चुनावी शिक्षाको काम गर्ने भन्ने मूल उद्देश्य गुमिसकेको ती विज्ञको आरोप छ । यस्ता विज्ञ राष्ट्रपतीय डिबेटको औचित्य नरहेको बताउँछन् । त्यसबाहेक अधिकांश राष्ट्रपतीय डिबेटमा प्रमुख दुई दलका उम्मेदवार मात्र सहभागी भएको कुरामा पनि विरोध हुने गर्छ । अमेरिकामा दुई ठूला दलका अतिरिक्त अन्य स–साना दल तथा स्वतन्त्र रूपमा पनि राष्ट्रपतीय उम्मेदवार हुन्छन् । तर, तिनलाई राष्ट्रपतीय डिबेटमा सहभागी नगराइँदा तिनको चर्चा नै हुँदैन । यसले प्रणाली सबैका लागि समान नभएको आरोप लाग्ने गरेको छ । 

तर, राष्ट्रपतीय डिबेटले राष्ट्रपति पदका प्रत्यासीबारे देशभर जानकारी हुने प्लेटफर्म दिएको कुरालाई नजरअन्दाज गर्न सकिँदैन । अमेरिका निकै ठूलो देश हो । आकारले यो विश्वको चौथो ठूलो देश हो र जनसंख्याका आधारमा चीन र भारतपछि तेस्रो ठूलो देश हो । राष्ट्रपतिको प्रत्यक्ष चयनले हरेक अमेरिकी मतदातालाई देशको शासनसँग आफू पनि जोडिएको महसुस गराउने विश्वास गरिन्छ । यो विश्वास लिनेहरू राष्ट्रपतीय निर्वाचनले अमेरिकीलाई एकतामा बाँध्न सघाएको मान्छन् । अमेरिकी राजनीति र पहिचानमा यति महत्वपूर्ण स्थान ओगटेको चुनावका उम्मेदवारबारे पूर्ण जानकार हुँदा असल उम्मेदवार छानिने सम्भावना बढी हुने र त्यसले अमेरिकी लोकतन्त्र र सम्प्रभुतालाई सबल बनाउँछ भन्ने धेरैको धारणा देखिन्छ । यो धारणा राख्ने मानिसको संख्या उल्लेख्य भएकाले पनि राष्ट्रपतीय डिबेट यही रूपमा जारी रहने निश्चित छ ।

सुझावित समाचार