सर्लाहीको लालबन्दीमा मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । दुर्घटनामा गम्भीर भाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हाे ।
शुक्रबार साँझ लालबन्दी नगरपालिका- १७ रानीगन्जजस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल दुर्घटनामा परेका प्रदेश नम्बर १–०२–०४१ प ४४८५ नम्बरको मोटरसाइकलचालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका– १ किसनपुरका १७ वर्षका सरोज साहको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते साहलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । उनको उपचारको क्रममा शुक्रबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा सोही मोटरसाइकलमा सवार बर्दिबास– १ का १७ वर्षका नवीन साह पनि घाइते भएका छन् । घटनामा संलग्न अर्को ना.२३प १६६३ नम्बरको मोटरसाइकलमा सवार ईश्वरपुर नगरपालिका– १५ का ३५ वर्षका दिनेश राय र पछाडि सवार सोही स्थानका २६ वर्षका कृष्ण यादवको पनि स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
पूर्व–पश्चिम लोकमार्ग पार गर्ने क्रममा पूर्वतर्फ जाँदै गरेको ना.२३प १६६३ नम्बरको मोटरसाइकलले सोही दिसातर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–०४१ प ४४८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनाको विषयमा छानबिन भइरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवले जानकारी दिए ।
यस्तै शुक्रबार नै जिल्लाका छुट्टाछुटै स्थानका मोटरसाइकल दुर्घटनामा परेर थप सातजना घाइते भएका छन् ।
मलंगवा नगरपालिका– १० स्थित भित्री सडकखण्डमा बिआर ३० वाई २२१३ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा मोटरसाइकलचालक मलंगवा नगरपालिका- ९ बस्ने २० वर्षका अवधेश शर्मा र मोटरसाइकलको पछाडि सवार सोही स्थानका २२ वर्षका गाैमत शर्मा गम्भीर घाइते भएका हुन् । उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेर चलाएको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको प्रहरीको जनाएको छ । घाइते दुवैको टाउको तथा अनुहारमा गहिरो चोट लागेको छ । यस्तै बरहथवामा रोकिराखेको मोटरसाइकलमा स्कुटर ठोक्किँदा दुईजना घाइते भएका छन् ।
बरहथवा नगरपालिका– ७ स्थित हिरापुर तर्फ जाँदै गरेको प्रदेश २–०३–००४ प ४८८० नम्बरको स्कुटर रोकिराखेको ना.३७प १९९९ नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो । घटनामा स्कुटरचालक बरहथवा नगरपालिका– ५ बस्ने १८ वर्षका अमित सिंह र मोटरसाइकलचालक सर्लाहीको बरहथवा नगरपालिका– ५ बस्ने २७ वर्षका जयनारायण दास घाइते भएका छन् ।
घाइते दासको कुमको हड्डी भाँचिएको र सिंहको हात र खुट्टामा चोट लागेको इलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ । दासलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपश्चात् थप उपचारका लागि काठमाडाैं पठायएको छ भने सिंहको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
यस्तै जिल्लाको हरिपूर्वास्थित बसतपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् ।
हरिपूर्वा नगरपालिका- ९ बसतपुरस्थित श्रीनगरबाट हरिपूर्वा जाँदै गरेको भारतीय नम्बर प्लेट बिआर ३० ई ३३७३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलमा सवार दुईजना र मोटरसाइकलचालक घाइते भएका हुन् । घाइते हुनेमा साइकलमा सवार हरिपूर्वा नगरपालिका– ७ बस्ने ११ वर्षका सन्तोषकुमार मण्डल र सोही स्थानका १२ वर्षका अमरजित मण्डल रहेका छन् ।
मोटरसाइकलचालक हरिपूर्वा नगरपालिका- ९ का २४ वर्षका अनिल यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको हो । घाइते तीनैजनाको जिल्लामा सामान्य उपचारपश्चात् थप उपचारका लागि जनकपुरको अन्नपूर्ण मेडिकलमा रेफर गरिएको परिवारले जनाएका छन् ।