पूर्वराष्ट्रपति डा. रामवरण यादवले चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर १९ दिनदेखिर अनशनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेका डा. यादवले डा. केसीले उठाएका माग जनताको सरोकारका भएकाले सरकारले सम्बोधन गर्नुपर्ने बताए ।
अनशनस्थल पुगेका पूर्वराष्ट्रपति डा. यादवले केहीबेर डा. केसीका सहयोगीसँग छलफलसमेत गरेका थिए । डा. यादवले भने, ‘अनशनरत केसीले आमजनताका माग उठाउनुभएको छ । यो उहाँको व्यक्तिगत माग होइन । त्यसैले तत्काल वार्ताको माध्यमबाट सरकारले समाधान खोज्नुपर्छ ।’
पूर्वराष्ट्रपति डा. यादवले पटक–पटक अनशन बसेर कमजोर भएको व्यक्तिलाई धेरै दिन अनशनमा राख्दा खतरा हुने बताए । चिकित्सकहरूले डा. केसीको स्वास्थ्यसूचक कमजोर बन्दै गएको बताएका छन् ।
विभिन्न ६ सूत्रीय माग राखेर डा. केसी १९ दिनदेखि अनशनमा छन् । बिहीबार सरकारले केसीले उठाएका माग पूरा भएको र केही हुने क्रममा रहेकाले अहिले अनशन तोड्न आग्रह गरेको थियो । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले कोरोना महामारीको संकटका वेला अनशनभन्दा पनि सरकारसँग हातेमालो गरेर कोभिड नियन्त्रणमा लाग्न आग्रह गरेका थिए ।
यो डा. केसीको १९औँ अनशन हो । डा. केसीले विगतका १८ वटा अनशनमा पनि सहमति गर्ने, तर कार्यान्वयनमा धोका दिने गरेकाले यो अनशन सहज रूपमा नतोड्ने बताउँदै आएका छन् । उनले आफूले उठाएका माग पूरा हुने बलियो आधार भएपछि मात्रै अनशन तोड्ने बताएका छन् । यसअघि बुधबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अस्पताल पुगेर डा. केसीलाई भेटेका थिए ।